भोर्लेटार(लमजुङ)– हरितालिका तीजको अवसरमा हरेक वर्ष सञ्चालन हुने ऐतिहासिक सेवेन ए साइड फूटबल प्रतियोगिताको समापन कार्यको तयारी गरिएको छ । सो प्रतियोगिताको क्वाटर फाइनलका चार खेल हिजो सम्पन्न भएका छन् । सेमी फाइनल र फाइनलका तीन खेल सकेर आज भदौ २७ गते समापन कार्यक्रम गरिने तयारी रहेको आयोजकको भनाइ छ ।
मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित धुलपुरे युवा क्लब भोर्लेटारको आयोजनमा सोही स्थानमा रहेको ईशानेश्वर खेल मौदानमा सो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । उक्त प्रतियोगिता विगतका ३१ वर्षदेखि सञ्चालन हुँदै आएको हो तर बीच बीचमा सञ्चालक फेरिएका कारणले यतिऔं नभनी ऐतिहासिक भन्ने गरिएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा लमजुङ, कास्की र तनहुँका ३० टिमले भाग लिएका छन् । उहाँले भन्नुभयो, ‘मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिने तयारी छ ।’ आजको खेल अहिले विहान ९ बजेबाट सुरु हुँदैछ उहाँले भन्नुभयो । 
प्रतियोगिताको क्वाटरफाइनलको पहिलो खेल बाँग्रे फुटबल क्लब र तल्लोटार फुटबल क्लब एका बीचमा भएकोमा खेल अवधिमा दुवैतर्फबाट ३/३ गोल भई बराबरी भएपछि पेनाल्टी सुट आउटमा ५– ४ गोल अन्तरले बाँग्रे फुटबल क्लब विजयी भएको छ । सो खेलमा विजेता टिमका सरोज दियाली म्यानअफ दि म्याच घोषित भए ।
यसैगरी, दोस्रो क्वाटरफाइनल खेल तल्लोटार फुटबल क्लब बी र ग्रिन भ्याली क्लबका बीचमा भएकोमा खेल अवधिमा दुवैतर्फबाट १– ० गोल अन्तरले तल्लोटार फुटबल क्लब बी विजयी भएको छ । सो खेलमा विजेता टिमका सुमन श्रेष्ठ म्यानअफ दि म्याच घोषित भए ।
त्यस्तै, तेस्रो खेल लाङ्दीदेवी फुटबल क्लब र घुलपुरे युवा क्लबका बीचमा भएकोमा ५– २ गोल अन्तरले लाङ्दीदेवी फुटबल क्लब विजयी भएको छ । सो खेलमा विजेता टिमका सन्तबहादुर गुरुङ कान्ता म्यानअफ दि म्याच घोषित भएको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले बताउनु भयो । उहाँका अनुसार आजको चौथो धुलपुरे फुटबल क्लब र सिन्दूरे फुटबल क्लबका बीचमा भएकोमा १– ० गोल अन्तरले धुलपुरे फुटबल क्लब विजयी भएको छ । सो खेलमा विजेता टिमका सुरज तामाङ म्यानअफ दि म्याच घोषित भएका थिए ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ लाङ्दीदेवी फुटबल क्लबबाट सहभागी हुन आएकोमा उनको प्रतीभाको कदर गर्दै उनलाई विशेष सम्मान गरिएको छ ।’
सो प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार नगद, कप, मेडल र प्रमाण तथा दोस्रो पुरस्कार ८० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र रहेको छ । यसैगरी, सेमी फाईनलमा रोकिने दुई टिमलाई १०÷१० हजार रुपैयाँ नगद र प्रमाण पत्र रहेको आयोजक क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई ८ हजार नगद र प्रमाण पत्र रहेको छ । उनले भने, ‘उकृष्ट गोल रकक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ३/३ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाण पत्र पुरस्कार रहेको छ ।’
फोटो सौजन्य : सुरज गुरुङ ।
प्रकाशित मिति २०८१ भाद्र २७, बिहीबार ०७:५० गते