काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को राष्ट्रिय भेलाको तयारी पुरा भएको छ । रास्वपाले पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै भदौ २७ गते जानकारी दिइएको हो ।
पहिलो राष्ट्रिय भेला १ र २ असोजमा काठमाडौंमा आयोजना गरेको पहिलो राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् सो दलका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार रास्वपाले राष्ट्रिय भेलाको तयारीको लागि १५ वटा उपसमिति गठन गरी तयारी अघि बढाएको छ । उहाँले भन्नुभयो, ‘राष्ट्रिय भेलामा करिब १५ प्रतिनिधि आउने तयारी छ, प्रतिनिधिहरूको चाप छ ।’
कमलादीस्थित प्रज्ञा भवनमा हुने राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले सो भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुने भएको छ । भेलामा राजनीतिक प्रतिवेदनका अतिरिक्त विधान संशोधन प्रस्ताव पनि पेस हुने भएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले भन्नुभयो, ‘यो दुई वर्षको अवधिमा रास्वपाले हासिल गरेका अनुभव र अबका दिनमा के कसरी अघि जाने विषय समेटेर राजनीति प्रतिवेदन आउँछ ।’ उहाँका अनुसार भेलामा गाउँपालिका, नगरपालिका तहका कमिटी, जिल्ला कमिटी, प्रदेशको कार्यसमित, विभाग, आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।
प्रज्ञा भवनमा हलको क्षमता १३ सय ५० भन्दा बढी धान्न नसक्ने छ । तथापि १५ सय जति हामीले अपेक्षा गरेका छौँ, केन्द्रिय समितिदेखि पालिकाको प्रतिनिधिसम्म राष्ट्रिय भेलामा अटाउन कोशीस गरेका छौँ कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिनु भयो ।
केन्द्रीय समिति, विभाग र आयोग गरी कुल दुई हजार जना प्रतिनिधि रहनेमा असोज १ गते चाडपर्वसमेत परेकाले प्रतिनिधि संख्या १५ सय हाराहारी हुने अनुमान गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘भेलामा सांगठनिक प्रतिवेदन प्रस्तुत हुन्छ, पार्टीको विधान संशोधनमा काम गरिरहेको छ, कार्यदलले काम गरिरहेको छ । यस्तै, पार्टीको संसदीय मूल्यमान्यता र लिडरसिप एकेडेमीसँग सम्बन्धित प्रतिवेदन पनि पार्टीलाई प्राप्त हुँदैछ । त्यो प्रतिवेदन केन्द्रीय समितिले पास गरेर भेलामा पेश हुनेछ ।’
राष्ट्रिय भेलाबाट अभियानहरू घोषणा गरिने कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय भेलाले महाधिवेशनको मितिसमेत घोषणा गर्ने छ । उहाँले भन्नुभयो, ‘सांगठनिक, संसदीय मूल्य मान्यता, लिडरसीप एकेडेमी, सातै प्रदेशका सभापतिको प्रतिवेदन लगायत पेश हुने कार्यक्रम छ ।’ रास्वपा राष्ट्रिय भेलामा नीति दस्तावेज पनि थप विस्तारित रुपमा ल्याउने जनाएको छ ।
उपत्यका बाहिरबाट आउने केही प्रतिनिधिहरूलाई पार्टीका नेता–कार्यकर्ताले व्यवस्थापन गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ ।
रास्वपाको राष्ट्रिय भेला आउँदो असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुँदैछ ।
रास्वपाले आगामी २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति २०८१ भाद्र २७, बिहीबार २०:१५ गते