पूर्व सांसद ढाकाकुमार लागू औषधको अभियोगमा पक्राउ

पूर्व सांसद ढाकाकुमार लागू औषधको अभियोगमा पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २८ गते शुक्रबार ०७:१९

श्रेष्ठकाविरुद्ध लागुऔषध मुद्दा अनुसन्धानमा रोल्पा त्रिवेणी– ७ का ४२ वर्षीय प्रकाश थापाले बयानमा पोखरा– ९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालक रहेका श्रेष्ठ पक्राउ परेका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंँसँग सांसद र मन्त्री हुन घुस मागेको अडियो सार्वजनिकसँगै श्रेष्ठलाई रास्वपाले ७२ घण्टाभित्रै सांसद पदबाट हटाएको थियो ।

पोखरा– मन्त्री बन्नका लागि रकम लेनदेनको टेप प्रकरण बाहिरिएपछि सांसद पद गुमाएका ४२ वर्षीय डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध बिक्री आरोपमा पक्राउ परेका छन् । श्रेष्ठलाई लागुऔषध कारोबार कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ २७ गते पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका– ९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको पछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठ २०७९ को आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । उनी गत वर्ष ‘मन्त्री बन्न तीन करोड अफरको टेप प्रकरण’ बाहिरिएपछि पार्टीले साधारण सदस्य समेत नरहने गरी उनी निस्कासित भएका थिए ।
एक लागू औषध कारोबारीले बयानमा उनलाई पोले पछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार गत ३ साउनमा पोखराबाट रोल्पा त्रिवेणी– ७ का ४२ वर्षीय प्रकाश थापा मगर लागु औषधसहित पक्राउ परेका थिए । थापाको साथमा ट्रुपेन (टपेन्टाडोल) नाम भएको ट्ब्याबलेट ९७ चक्की सहित पोखरा २, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए । उनीविरुद्ध लागुऔषध मुद्दा अनुसन्धानमा निजले पोखरा– ९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालक रहेका श्रेष्ठ पक्राउ परेका हुन् ।
पोखरा– २४ निवासी श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनासदीप जिसीले बताउनु भयो ।
स्मरणीय छ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंँसँग सांसद र मन्त्री हुन घुस मागेको अडियो सार्वजनिकसँगै विवादमा मुछिएका श्रेष्ठलाई रास्वपाले तुरुन्तै उनलाई कारबाही गरी सांसद पदबाट हटाएको थियो । तर उनले आफू समानुपातिक सांसद र पछि मन्त्री बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचार आधारविना भ्रामक र तथ्यहीन भएको प्रष्टिकरण दिएका थिए ।
रास्वपाले उनलाई सांसद पदबाट निलम्बन गरेपछि हालेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आदेश जारी गरेको थियो ।
त्यसपछि उनको ठाउँमा यतिबेला विन्दवासिनी कंसाकारलाई सांसद हुनुभएको छ । ढाकाकुमार गत वैशाख २५ गते सांसदबाट निलम्बित भएका थिए ।

प्रकाशित मिति २०८१ भाद्र २८, शुक्रबार ०७:१९ गते
हजुरको प्रतिक्रिया