घुम्ति गोठमा चट्याङ परेर एकै गोठका १० वटा भैंसी मरे

घुम्ति गोठमा चट्याङ परेर एकै गोठका १० वटा भैंसी मरे

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ३१ गते सोमबार ०८:१९

मरेका भैंसी मध्ये पाँच वटा ब्याउने समय भएका थिए । एउटा भैंसी त ब्याउँदा व्याउँदै चट्याङमा परेछ । अरु चारवटा थोरे र एउटा पाडी मरेको गोठका धनी आइतसिंङ तामाङले बताउनु भयो ।

भैंसी धनी किसानको करिब आठ लाख नोक्सान

दूधपोखरी(लमजुङ)– लमजुङमा रातको समयमा परेको चट्याङका कारण एउटै गोठका १० वटा भैंसी मरेका छन् । दोर्दी गाउँपालिका– ५ को लिपि डाँडाको लेकमा रहेको घुम्ती गोठमा रहेको खर्कमा पालिएका भैसी चट्याङ परेर मरेका हुन् । सो घट्नाका कारण किसानको करिब ८ लाख नोक्सान भएको दुधपोखरी गाउँपालिकाको जिल्ला पशु शाखाले जनाएको छ ।
दुधपोखरी गाउँपालिका– ३ का आइतसिंङ तामाङको लिपि डाँडामा रहेको चरन क्षेत्रमा पञ्चेमणि घुम्ति भैंसी गोठमा चट्याङ् पर्दा १० वटा भैंसी मरेको दुधपोखरी गाउँपालिकाका पशु सेवा शाखाका प्रतिनिधि दिनेश गुरुङले बताउनु भयो । उहाँका अनुसार ती भैंसी दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको खर्कमा घुम्ती गोठमा पालिएका हुन् ।
आफ्नो गोठमा ठूला साना गरी ४२ वटा भैंसी रहेको गोठका धनी आइतसिंङ तामाङले बताउनु भयो । उहाँका अनुसार दूध दिने भैंसीलाई साँझमा आफू बस्ने गोठमा ल्याउने चलन छ अरु ब्याउने, थारा तथा थोरे र पाडी आफू खुशी चर्ने गर्दछन् । रातमा पनि खर्कमै आफू खुशी बस्छन् । उहाँले भन्नुभयो, ‘गोठ सार्ने बेलामा मात्र सबैलाई जम्मा गरेर गोठ सार्ने गरेको छ ।’
मरेका भैंसी मध्ये पाँच वटा ब्याउने समय भएका थिए । एउटा भैंसी त ब्याउँदा व्याउँदै चट्याङमा परेछ भैंसीका धनी तामाङले भन्नुभयो । अरु चारवटा थोरे(बाली लाग्न तयार रहेका) र एउटा पाडी मरेको हो । उहाँले भन्नुभयो, ‘व्याउने भैसीको मूल्य एकलाख माथि पर्छ ।’ थोरेको पनि ५०– ६० हजार पर्छ । पाडी त प्रायः बेच्ने चलन नै छैन कति मूल्य भन्ने खै ? उहाँले जानकारी दिनुभयो । बीमाका बारेमा आफूलाई जानकारी नभएको उहाँको भनाइ छ ।
सो घट्नाका बारेमा लमजुङ प्रहरीलाई जानकारी गराएको र प्रहरी चौकी गौडाबाट प्रहरी हवल्दार कृष्ण परियारको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का गर्ने काम गरेको दुधपोखरी गाउँपालिकाका पशु सेवा शाखाका प्रतिनिधि गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले पुश बीमा नगरेको कारणले ठूलो नोक्सान बेहोर्नु प¥यो । उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा चट्याङका कारणले भएको यति ठूलो घट्ना यो पहिलो हो ।’ ठूलो नोक्सान भएको छ, राहतले त के होला र तर पनि राहतका लागि सिफारिस गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङसँग आफूले समन्वय गरिरहेको र त्यो प्रकृया अघि बढाउने दुधपोखरी गाउँपालिकाका पशु सेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति २०८१ भाद्र ३१, सोमबार ०८:१९ गते
हजुरको प्रतिक्रिया