बेसीशहर– लमजुङको ऐतिहासिक थलो दुराडाँडाको साख गिर्दै गएकोमा यहाँ चिन्ता व्यक्त गरिएको छ । दुराडाँडा– बेसीशहर समाजको सातौं अवधिवेशनका साथ वडादशैं तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरूले असोज ५ गते त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुखआतिथ्यतामा भएको उक्त कार्यक्रमको पानसमा दीपप्रज्वलन गरी उहाँले उदघाटन गर्नु भएको थियो । उहाँले आफ्नो उदघाटन मन्तव्यका क्रममा गाउँघर शून्य हुँदै गएको, घरहरू खण्डहरमा परिणत हुँदै गरेको, खेतबारी प्रतिदिन बाँझा हुँदै गएको वस्तुस्थितिको उदाहरण दिदै दुराडाँडामा रहेको अस्पतालमा विरामी नजाने, विद्यालयहरूमा प्रति वर्ष विद्यार्थी घट्ने गरेको दुःखेसो पोख्नु भयो । यस्तै कारणले अब एक वडा एक स्कूलको अभियान सञ्चालन गर्नु पर्ने स्थिति रहेको उहाँले जानकारी दिनु भयो ।
उहाँले नगरपालिकाका हाल विद्यार्थी संख्या ६४ सय रहेको, तीमध्ये तीन हजार मात्र सामुदायिक विद्यालयमा पढ्ने र उनीहरूका लागि राज्यको खर्च २२ करोड हुने गरेको छ, यो स्थितिको शिक्षाको उपलब्धि वा एक विद्यार्थी बराबर खर्च के कति ? हुन्छ हामी सबैले बुझ्छौं भन्नुभयो । उहाँले कुनै दिन लमजुङ जिल्लामा ३८ मावि हुँदा ३४ माविमा प्रधानाध्यापक बनाउने दुराडाँडा आज त्यही दुराडाँडामा गएर पढाई देउ भन्दा शिक्षक नपाउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मेयर कोइरालाले मान्छे मर्दा समेत घरमा पालेको कुकुरले गाउँलेलाई खबर गर्ने अवस्था सिर्जिएको हुँदा दुराडाँडाको पुनर्जीवनका लागि व्यवहारिक भएर सोच्न र कार्यान्वयनमा जानु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
सुन्दरबजार नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपानेले आम्दानीको मुख्य स्रोत ग्रामीण पर्यटन(होमस्टे) भनिन्छ तर त्यो सञ्चालन गर्ने समेत मान्छे पाइन छाडेको छ गाउँघरमा भने तिनमा प्रयोग हुने खाद्यान्न अर्गानिक कहाँबाट ल्याउने ? भन्ने त धेरै टाढाको विषय बन्न थालेको बताउनु भयो । उहाँले दुराडाँडामा जन्म थलो भएका बाहिर बस्ने दाजुभाइ गाउँमा जाँदा ‘टुरिष्ट’को संज्ञा दिएर उहाँहरूको मन भाँच्ने, दुःखाउने घट्ना समेत भएका छन् । यस्तो प्रसङ्ग यहाँहरू उपर पनि भयो वा सुन्नुभयो भने अन्यथा रुपमा नलिन समेत वडाध्यक्ष न्यौपानेको आग्रह थियो । उहाँले संघीयता लागू भएपछि विकास भनेको भौतिक निर्माण मात्र हो भन्ने मानसिकताले मानवीय विकासमा ध्यान नदिदाको परिणाम पनि भयावह हुने स्थितिमा रहेको उल्लेख गर्नुभयो ।
दुराडाँडा– बेसीशहर समाजका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले यस्ता जमघटले आपसी भाइचारा र सदभाव बढाउन मद्दत गर्ने हुँदा यी र यस्ता कार्यक्रमहरूले निरन्तरता पाइरहन जरुरी छ भन्नुभयो । उहाँले समाज सानो छ तर पनि भावना र जनशक्ति भने ठूलो छ त्यसको उपयोग गरी समाजले लाभ लिन सक्नु पर्छ भन्दै समाजको कार्यक्रमका खर्चमा मितव्ययिता अपनाउनु थप बुद्धिमानी हुने उल्लेख गर्नुभयो ।
उक्त अवसरमा दुराडाँडाका शिक्षा तथा समाजसेवी त्रय सूर्यनाथ न्यौपाने, विष्णुप्रसाद अधिकारी र पूर्णभद्र न्यौपानेलाई दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै गत वर्षको एसईई परीक्षामा दुराडाँडा मौजाबाट सर्वाधिक अंक ल्याउने दुराडाँडाको संस्कृति सदन माविका निश्चल अधिकारी र बेसीशहरको अर्थ्ली प्याराडाइज आमाविकी प्रिन्सा न्यौपानेलाई पनि जनही दुई हजार नगद र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
समाजका सचिव विनोद न्यौपानेले समाजको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रञ्जिता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तु्त गर्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु हुनेहरूमा सम्मानित व्यक्तित्व पूर्णभद्र न्यौपाने, समाजका संस्थापक अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता यज्ञप्रसाद पौडेल, सल्लाहकार रमाराज खनिया, अर्थ्ली प्याराडाइज आमाविका प्रिन्सिपल उद्धव घिमिरे लगायत हुनुुहुन्थ्यो ।
समाजका उपाध्यक्ष लक्ष्मीप्रसाद तिमिल्सिनाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव विनोद न्यौपानेले गर्नु भएको थियो ।
सो अवसरमा क्यान्सर जितेर नयाँ जीवन पाउनु भएका समाजका अध्यक्ष हरिप्रसाद अघिकारीलाई पुनः अध्यक्षमा चयन गरी नयाँ समिति गठन गरिएको छ । त्यस्तै, उपाध्यक्ष उदय नाथ न्यौपाने, सचिव विनोद न्यौपाने र कोषाध्यक्षमा पनि पुनः रञ्जिता अधिकारी चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरूमा राजन अधिकारी, शंकर न्यौपाने, टसबहादुर गुरुङ, अम्बिका अधिकारी र लुब्धकुमारी पाण्डे चयन हुनुभएको छ । दुई जना सदस्य पछि कार्यसमितिले मनोनित गरी पूर्ति गर्ने सचिव न्यौपानेले जानकारी दिनुभयो ।
समाजको कार्यकाल चार वर्षको हुने समाजको विधानमा व्यवस्था छ ।
प्रकाशित मिति २०८१ आश्विन ५, शनिबार १३:०१ गते