भोटेओडार(लमजुङ)– लमजुङको यहाँ सञ्चालन हुँदै आएको रेडियो भोटेओडार ९०.८ मेगाहर्जको अध्यक्षमा पुनः हरिप्रसाद अधिकारी निर्विरोध रुपमा चयन हुनुभएको छ । रेडियोको पाँचौं अधिवेशन तथा १३ औँ वार्षिक साधारण सभाका अवसरमा भएको निर्वाचनमा अधिकारी पुनः अध्यक्ष पदमा असोज ६ गते चयन हुनुभएको हो ।
सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष अधिकारी उक्त रेडियोको संस्थापक अध्यक्ष भइ निरन्तर नेतृत्वमा रहँदै आउनु भएको छ । भिमनाथ र कौशिलादेवी अधिकारीको कोखबाट २००४ सालको जेठ २५ गते जन्मिनु भएका अधिकारीले ऐतिहासक स्थल दुराडाँडाको सर्वोदय माविबाट २०२२ सालमा एसएलसी उतीर्ण गर्नु भएको हो । दुराडाँडामा मावली रहेका अधिकारीले चार वर्षकै उमेरमा पिताजीलाई गुमाउनु भएको थियो । २०७६ सालको असारमा पत्नी वियोगको पिडा सहन गर्नु भएको उहाँले एकमात्र छोरीलाई ०७८ सालको जेठमा र आमालाई त्यसैवर्षको असोजमा गुमाउनु भएको हो । उहाँका दु्ई छोरा हुनुहुन्छ भने नाति, नातिनीहरूका भने धनी हुनुहुन्छ ।
२०२४ सालदेखि भक्ति नमूना माविमा शिक्षक हुनुभएका उहाँले कास्कीमा समेत पुगेर शिक्षणकार्यलाई निरन्तरता दिनु भएको थियो । सो पेशाबाट उहाँ २०५८ सालमा निवृत्त हुनुभएको हो । उहाँसँग एसएलसी परीक्षाको सुपरिटेन्डेन्ट, भक्ति नमूनामावि व्यवस्थापन समितिको अध्यक्ष दुई कार्यकाल, सोही माविको शिक्षक अभिभावक संघको अध्यक्ष, २०६२– ६४ मा नगरविकास समितिको अध्यक्ष भएको अनुभव रहेको छ । उक्त रेडियोको जस्तै उहाँ भोटेओडार क्षेत्रमा स्थापित भएका अधिकांश सामाजिक संस्थाहरूको संस्थापक हुनुहुन्छ । भक्ति नमूना मावि, भक्ति आदर्श क्याम्पस, सिर्जनात्मक साकोसको पनि संस्थापक रहनु भएका उहाँ भोटेओडार तार्दीखोला खानेपानी आयोजनाको सल्लाहकार समेतको समेत अनुभवी हुनुहुन्छ ।
भक्ति नमूना माविको स्वर्ण महोत्सवका अवसरमा अभिनन्दित हुनुभएका उहाँले सोही माविको पूर्वविद्यार्थी समाजबाट पनि अभिनन्दन ग्रहण गर्नु भएको छ भने अन्य दर्जनौं संघसंस्थाबाट सम्मानपत्र, कदर पत्र एवम् प्रशंसा पत्र पाई सम्मानित हुनुभएको छ । समाजसेवामा जस्तै दानदातव्यका क्षेत्रमा समेत उहाँले उच्च कार्य गर्नु भई दानवीरका रुपमा स्थापित हुनुभएको छ । विकास निर्माण कार्यमा सहयोग गर्ने गर्नु भएका उहाँले आफ्ना माता– पिताको स्मृतिमा विभिन्न संघसंस्थामा अक्षयकोष स्थापना त गर्नु भएको छ नै आफ्ना मावली हजुरबाका नाउँमा समेत आफू पढेको सर्वोदय माविमा ५० हजार रुपैयाँको छात्रवृत्ती अक्षयकोष स्थापना गरेर नयाँ इतिहास रच्नु भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा नारायणबहादुर कुँवर, उपाध्यक्ष रामप्रसाद पौडेल, सचिव भीमबहादुर कार्की, कोषाध्यक्ष रामहरि न्यौपाने, सहसचिव रविकला अधिकारीलाई चयन हुनु भएको छ । सदस्यहरूमा वीरसिंह घले, सरोजकुमार श्रेष्ठ, महेन्द्र खनाल, खुसबहादुर गुरुङ, किर्तीमान गुरुङ, नारायणबहादुर कुँवर र अनिता गुरुङलाई चयन गरेको निर्वाचन समितिका संयोजक डम्बरबहादुर कार्कीले बताउनु भयो । उहाँका अनुसार अधिवेशनले लेखा समिति कमल श्रेष्ठ संयोजकत्वमा चयन गरेको छ । सो समितिको सदस्यहरू अमृत सापकोटा र श्रीप्रसाद ढकाल हुनुहुन्छ ।
सो अवसरमा आफ्नो उद्घाटन मन्तव्यमा सुन्दरबजार नगरपालिका मेयर कृष्णप्रसाद कोइरालाले अब परम्परागत ढंगबाट रेडियो सञ्चालन गर्दा व्यवस्थापन गर्न अप्ठ्यारो स्थिति उत्पन्न हुने स्थिति सिर्जिएको बताउँदै यसलाई समय अनुसार परिमार्जन गर्दै लैजान आवश्यक रहेको उल्लेख गर्दै सूचना प्रविधिका क्षेत्रमा सुन्दरबजार नगरपालिकालाई अव्बल बनाउने कार्यमा नेतृत्व गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा शुभकामना मन्तव्य राख्नु हुनेहरूमा सुन्दरबजार नगरपालिका– ९ का अध्यक्ष मनराज गुरुङ, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, नेपाली काँग्रेसका प्रतिनिधि अमोल खनाल, सहकारीका प्रतिनिधि विष्णुकुमार श्रेष्ठ, हातेमालो मूल आमा समूहका अध्यक्ष मनु पन्त, शेयर सदस्य रामहरि न्यौपाने लगायत हुनुहुन्थ्यो ।
सो साधारण सभामा रेडियोका अध्यक्ष हरिप्रसाद अधिकारीले रेडियोको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, स्टेशन म्यानेजर वासुदेव थापाले रेडियोको आन्तरिक प्रतिवेदन तथा लेखापाल प्रमिला रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
रेडियोका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणबहादुर कुँवरले स्वागत तथा उपाध्यक्ष रामप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सचिव भीमबहादुर कार्कीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ आश्विन ७, सोमबार ०९:२१ गते