काठमाडौं– अविरल वर्षासँगै चलेको बाढी पहिरोका कारण नौबिसे–काठमाडौं सडक अवरुद्ध भएसँगै यात्रुहरू अलपत्र परेका छन् । सुरुङमार्ग नजिकै झ्याप्लेखोलामा लेदोसहित पहिरो खसेपछि सडक असोज ११ गते दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले निरन्तर रुपमा पानी परिरहेको बाढी र पहिरो नरोकिएको हुँदा पन्छाउन कठीन भएको जनाएको छ । पानी निरन्तर परिरहेको तर पनि पहिरो पन्छाउने काम जारी छ ।
यातायात अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।
नारायणगढ–मुग्लिन सडकमा राती गाडी चलाउन रोक :
उता, हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ– मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो ।
समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सातको समयमा गाडी चलाउन रोक्ने निर्णय गरेको बताउनु भयो । उहाँका अनुसार जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । उहाँले भन्नुभयो, ‘आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।’
थप दुई दिन वर्षाको चार रहने :
वर्षा निरन्तर रहने र बाढी तथा पहिरो असोज १३ गतेसम्म चल्न सक्ने आंकलन गरिएको छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको हो ।
अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्री बस नचलाउन सरकारले अनुरोध गरेको छ ।
हालसम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।
विभागका मौसमविदहरूका अनुसार अहिलेको प्रणालीको असर असोज १३ गतेसम्म देखिने भएको छ ।
प्रकाशित मिति २०८१ आश्विन ११, शुक्रबार १७:४३ गते