धनगढी– दशैँ मनाउन घर फर्किँदै गरेका बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् । उनी भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर असोज ११ गते बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुने युवक पुर्चौडी नगरपालिका– ५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरी भनाइ छ । घर फर्किरहेका धामी आज बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका– ८ को झुलाघाट बजारनजिकै सडकबाट महाकाली नदीमा खसेको सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले बताउनु भयो । उहाँका अनुसार झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जीप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेर बेपत्ता भएका हुन् । उहाँले भन्नुभयो, ‘धामीको खोजी कार्य भइरहेको छ, धामी खसेको ठाउँमा सडकमाथिबाट पहिरोसमेत खसेका कारण खोजी कार्यमा जोखिम उत्पन्न भएको छ ।’
भारतमा रोजगारी गर्दै आएका धामी परिवारका साथमा बसेर दशैँ मनाउन घर फर्किदै थिए । नदीमा बेपत्ता उनको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली जुटिरहेको छ ।
प्रकाशित मिति २०८१ आश्विन ११, शुक्रबार १७:५८ गते