काठमाडौं– दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण सिर्जिएका विपद्का घटनामा देशभर अहिलेसम्म ६२ जनाको मृत्यु र ४३ जना वेपत्ता भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लाका मात्रै ३२ जनाको असोज १२ गते मृत्यु भएको छ ।
मनसुन बाहिरिने समय नजिक रहँदा भारी वर्षासँगै बाढीपहिरोले देशभर ठूलो क्षति भएको हो । अविरल वर्षा, बाढीपहिरो र चट्याङबाट ६२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले आज बेलुका ६ बजे अध्यावधिक गरेको विवरणानुसार, यो अवधिमा विपद्का घटनामा परी ४३ जना बेपत्ता छन् भने ३६ जना घाइते भएका छन् ।
देशका विभिन्न स्थानबाट एक हजार ४५६ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
विपद्का घटनामा परेर हालसम्म देशभर ३४ जना घाइते भएको नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बताउनु भयो । उहाँका अनुसार ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले भन्नुभयो, ‘देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।’
प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको अहिलेसम्म एक हजारभन्दा बढीबाट उद्धार गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
आज बेलुकादेखि वर्षा कम हुने :
यसैबीच, तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको राससले लेखेको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ,’ उनले भने। भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने छ ।
बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।
पछिल्लो चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । बाढी पूर्वानुमान शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।
प्रकाशित मिति २०८१ आश्विन १२, शनिबार २०:०५ गते