काठमाडौं– काठमाडौं– नौबीसे सडक खण्डको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा आएको पहिरोमा परेर दुईवटा बस पुरिएका छन् । पुरिएका ती बसबाट १४ जनाको शव असोज १२ गते साँझ अबेर निकालिएको छ ।
धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरू पुरिएका हुन् । लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच वटा शव निकालिएको हो । सोही स्थानमा पुरिएको तर नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार ती बसहरू साँझ एक्साभेटरको सहायताले निकालिएको हो । उहाँले भन्नुभयो, ‘एक जना यात्रु बेपत्ता भएको आशंका छ ।’
तर प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीले ती १४ जनाको शव एउटै माइक्रोका भएको र एकजना हराइरहेका बताउनु भएको छ । उहाँका अनुसार पहिरोले ठूलो क्षेत्र ढाकेको हुनाले पन्छाउने काममा कठिन भएको छ ।
धादिङको झ्याप्लेखोलामा पुरिएको माइक्रो बस बुटवलबाट आएको बताइएको छ ।
पहिरोमा अरु बसहरू पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
पहिरो बिहान १० बजेतिरै गएको अनुमान गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार तर धादिङबाट आउने र काठमाडौंबाट जाने सडक पूर्णरुपमा अवरुद्ध भएकाले उक्त स्थानमा पुग्न समय लागेको थियो ।
प्रकाशित मिति २०८१ आश्विन १२, शनिबार २२:३४ गते