नागढुंगा(काडमाडौं)– काडमाडौं– नौबीसे सडक खण्कको झ्याप्ले खोला पहिरोमा परेका मृतकको संख्या २८ पुगेको छ । धादिङको धुनिवेसी नगरपालिका– ९ स्थित झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएकाहरूका आफन्तहरू घटनास्थलमा जम्मान हुन थालेका छन् । मृतक व्यक्तिका ११ जना आफन्त असोज १३ गते दिउँसो १२ः२५ बजे घटनास्थल आइपुगेको प्रहरीले जनाएको छ ।
उनीहरूले सनाखतका लागि आफन्तजनको नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् । गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको छ । हिजो र आज गरी उक्त संख्यामा शव फेला परेको हो ।
उद्धारका लागि झ्याप्ले खोला घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ । तीन वटा जेसिवी मार्फत पहिरो हटाउने, पुरिएका बस खोज्ने तिनमा रहेको यात्रुहरू खोज्ने काम भइरहेको प्रहरी भनाइ छ ।
हिजो झ्याप्ले खोलामा गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवाजामन ठप्प छ ।
पहिरोमा पुरिएको बस तथा शवको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउने जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।
झ्याप्लेखोलामा पुरिएको बस निकाल्ने प्रयास :
यसैबीच, नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटिएको बस निकाल्ने काम भइरहेको छ । बसको केही भाग मात्र देखिएकोले बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको छ ।
झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले बताउनु भयो । उहाँका अनुसार ती बसबाट १४ जनाको शव निकालिएको थियो । उहाँले भन्नुभयो, ‘झ्याप्ले खोलामा ठूला–साना ३÷४ वटा गाडीहरू पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ ।’
पहिरोमा पुरिएका बस तथा माइक्रोबसबाट अहिलेसम्म २७ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताउनु भयो । उहाँका अनुसार घटनाको प्रकृति हेर्दा पहिरो खस्न थालेसँगै गाडीहरू साइड लागेर सुरक्षित हुन खोजेको र त्यहीबेलामा ठुलो पहिरो गएको प्रारम्भिक अनुमान छ । उहाँले भन्नुभयो, ‘हिजै १४ जनाको शव निकालिएको थियो । आज थप १३ जनाको शव निकालिएको छ ।’
आज बिहान पहिरो पन्छाउने क्रममा फेला गरेका शवमध्ये १० जना पुरुष र ३ जना महिलाको रहेको प्रहरीले पुष्टि गरेको छ ।
सो स्थानमा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ ।
प्रकाशित मिति २०८१ आश्विन १३, आईतवार १३:३४ गते