सार्वोच्चको पूर्ण इजलासद्वारा सिधाकुराले अदालतको अपहेलना गरेको ठहर तीनजनालाई कैद सजाय

सार्वोच्चको पूर्ण इजलासद्वारा सिधाकुराले अदालतको अपहेलना गरेको ठहर तीनजनालाई कैद सजाय

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १४ गते सोमबार ०९:००

सुरुमा संयुक्त इजलासले हेरेको यो मुद्दा पछि बृहत् पूर्ण इजलासमा पठाइएको थियो । बृहत् पूर्ण इजलासले चार पटक निर्णय सुनाउने मिति सारेर फैसला सुनाएको हो ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ । अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला

काठमाडौँ– सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अपहेलना गरेको ठहर गरेको छ । सर्वोच्चको ९ सदस्यीय पूर्ण इजलासले अदालतको अवहेलना गरेकोमा दोषी ठहर गर्दै प्रकाशक नवीन ढुंगाना र सम्पादक युवराज कँडेललाई ३÷३ महिनाको कैद सजाय असोज १३ गते सुनाएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित ९ जना न्यायाधीशको इजलासले सूचनादाता भनिएका व्यक्ति, समाचारका लेखक र प्रकाशक अनि समाचार प्रकाशित गर्ने अनलाईनलाई समेत अवहेलनाको आरोपमा दोषी ठहर गरेको हो ।
बयानका क्रममा उनले आफूले गरेको काममा पश्चातापभाव र क्षमाभाव नराखेको भन्दै सर्वोच्चले उनलाई माफीको अवसर समेत दिएको छैन । संक्षिप्त आदेशमा भनिएको छ, ‘ठहरेको कैदको सजाय थुनामा नै राखी कार्यान्वयन गर्नु ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो । त्यसबारेमा अख्तियारले‘फर्जी’ स्टिङ अपरेशनको अडियो बनाउने सिधा कुरालाई कारबाही गर्न माग गरेको थियो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहितको पूर्ण इजालसले सिधाकुराले अदालतको अपहेलना गरेको ठहर गरेको हो ।
यदि उनीहरूले लिखित क्षमायाचना गरेर आइन्दा गल्ती नगर्ने लिखित प्रतिबद्धता जनाएमा भने ७ दिन मात्रै थुनामा बसे हुने फैसलामा उल्लेख सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो । उहाँका अनुसार अनलाइनले क्षमायाचना सहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना मिनाहा गर्ने आदेश भएको छ ।
सुरुमा संयुक्त इजलासले हेरेको यो मुद्दा पछि बृहत् पूर्ण इजलासमा पठाइएको थियो । बृहत् पूर्ण इजलासले चार पटक निर्णय सुनाउने मिति सारेर फैसला सुनाएको हो ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रत्यर्थीमध्येका नवीन ढुंगाना र युवराज कँडेलका हकमा उल्लिखित सामग्री निजहरूले आफै उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर निजहरूले उक्त सामग्रीको सत्यापन परीक्षण गर्नुपर्ने आमसञ्चारमा संलग्न जो सुकै व्यक्तिले अनिवार्य रुपमा गर्नुपर्ने न्यूनतम प्रक्रिया समेत पूरा नगरी आफ्नो सञ्चारमाध्यममा पटक–पटक उक्त सामग्री प्रकाशन गरी अदालतप्रति भ्रम फैलाउने र अनास्था पैदा गर्ने कार्य गरेको एवम् उक्त कार्यलाई केबल लापरवाही वा हेलचेक्र्याइँ मात्र मान्न सकिने स्थिति नभई यस अदालत, अदालतका न्यायाधीश र समग्र न्यायिक प्रकृयाका बारेमा अफवाह फैलाई न्यायसम्पादन गर्ने कार्यमा अवरोध श्रृजना गर्ने बदनियतले नै गरेको पुष्टि भएकाले निजहरूको उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम निजहरूलाई जनही ३ (तीन) महिना कैद सजाय हुने ठहर्छ ।’
यसैगरी, फर्जी भिडियो उत्पादक राजकुमार तिमिल्सिनालाई ६ महिना कैद तोकिएको छ । सो सम्बन्धि सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रत्यर्थीमध्येका राजकुमार तिमिल्सिनाको हकमा निजले नै उल्लिखित झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रशारण गर्नका लागि अन्य प्रत्यर्थीहरूलाई दिएको देखिँदा निजलाई उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ (छ) महिना कैद सजाय हुने ठहर्छ ।’
सर्वोच्चले सिधाकुरा डटकमलाई पाँच हजार रुपैयाँ जरिवाना तोकको छ भने पत्रकारहरूलाई पनि जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ । यदि आदेश प्राप्त भएको तीन महिनाभित्र भुल सुधार प्रकाशन प्रसारण गरी अदालतलाई जानकारी गराएमा उक्त जरिवानाको अभिलेखसमेत नरहने गरी लगत कट्टा गरिदिन सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । तर भुल सुधार प्रकाशन प्रशारण नगरेमा भने जरिवाना असुलउपर गर्न सर्वोच्चको आदेश छ ।
सिधा कुराले फर्जी अडियोमा अख्तियारविरुद्ध परेको स्टिङ अपरेशनविरुद्ध परेको रिट निवेदन प्रभावित पार्न तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश आनन्द मोहन भट्टराई, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका रामेश्वर थापालगायतका व्यक्तिले गोप्य मिटिङ गरेको दाबी गरिएको थियो । तर, सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानले उक्त अडियो नक्कली रहेको प्रमाणित भएको थियो ।
सर्वोच्चको फैसलासँगै जेल गए पत्रकार ढुंगाना र कँडेल ः
यसैबीच, सर्वोच्चको अदालतको अवहेलना फैसला भएसँगै पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेल जेल जानु भएको छ । उहाँहरू केन्द्रीय कारागार जगन्नाथदेवलका लागि चलान भएको बताइन्छ । पत्रकार ढुंगानाले सर्वोच्च अदालतको फैसलालगत्तै फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको आफ्नो फेसबुकमा उल्लेख गर्नु भएको छ, फेसबुकमा लेखिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ ।’
फेरि सञ्चाकर्ममै रहने प्रतिवद्धता ः
तर उनले जेलबाट छुटेसँगै फेरि सञ्चाकर्ममै रहने र विचलित नहुने समेत उल्लेख गर्नु भएको छ । उहाँका अनुसार ‘प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ । समाचारको धर्मबाट कहिल्यै विचलित हुने छैनौँ ।’ ढुंगाना ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक र कँडेल प्रकाशक तथा प्रस्तोता हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार ०९:०० गते
हजुरको प्रतिक्रिया