अखिल क्रान्तिकारी २३ औँ राष्ट्रिय सम्मेलन जारी : नेतृत्व चयन मतदानबाट

अखिल क्रान्तिकारी २३ औँ राष्ट्रिय सम्मेलन जारी : नेतृत्व चयन मतदानबाट

एजेन्सी

@antaranganews

२०८१ असोज १४ गते सोमबार ११:४५

उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ ।

नेतृत्व पंक्तिमा उमेर हद लगाउने तयारी, बहुमत प्रतिनिधि उमेरहदको विपक्षमा

काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु भएको बन्दसत्रमा अधिकांशले उमेरहद राख्न नहुने सुझाव दिएको भए पनि त्यो हद लाग्ने तर विकल्प चयन गर्न सकिने असोज १३ गते बताएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेरहदको तयारी गरेको हो ।
अघिल्लो दिन छलफलबाट आएको सुझाव सम्बन्धमा जवाफ दिएपछि परिमार्जनसहित असोज १४ गते पारित हुने नेताहरूले बताएका छन् । बन्दसत्रमा अधिकांशले उमेरहद राख्न नहुने सुझाव दिएका छन् ।

उमेर हदले अध्यक्षका आकांक्षी मात्र नभएर वर्तमान कार्यसमितिका सबै पदाधिकारीले एकसाथ बिदा हुने :
नन्दकिशोर पुनका छोरा दिपेशसहित आकांक्षीहरू एकसाथ अखिलबाट बिदा हुने अध्यक्षका आकांक्षी जीपी मैनालीले जानकारी दिए । उनका अनुसार, अध्यक्षका आकांक्षी मात्र नभएर वर्तमान कार्यसमितिका सबै पदाधिकारीले एकसाथ बिदा हुने छन् ।
उमेरहदबारे टुंगो लागिसकेपछि मात्रै उम्मेद्वारबारे छिनोफानो हुनेछ । यदि उमेरहद लागू हुने भयो भने अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एकजना महासचिव कोही पनि उम्मेदवार हुन पाउने छैनन् ।
ती पदाधिकारीका अनुसार १० वटा ग्रुपमध्ये ५ वटा ग्रुपले उमेरहद राख्न जरुरी भएको धारणा राखेका थिए । दुईवटा ग्रुपले मत विभाजन गर्नु र उमेरहद लगाउनुपरे २८ वर्ष राख्नुपर्ने राय दिएका थिए भने ३ वटा ग्रुपले २८ वर्ष उमेरहद राख्नुपर्ने पक्षमा दरिएका थिए ।
छलफलमा कार्णालीका समूह नेता निराजन केसीले उमेरहद २३ औंबाट लागु हुने हो कि २४ औंबाट हुने हो भन्ने प्रश्न उठाएका थिए । छलफलबाट २८, ३२ र ३५ उमेरहद लगाउनुपर्ने सुझाव आएको बताइएको छ । लुम्बिनी प्रदेश समूहका नेताले नियमित सम्मेलन र अनिवार्य निर्वाचनको पक्षमा मत आएको बताएका थिए । कोशी प्रदेशका समूह नेता नयन राईले उमेरहदबारे मत विभाजन गर्नुपर्ने धारणा राखेका थिए ।
यसैगरी, बागमती प्रदेशका नेता मिलन लामाले उमेरहद लागु गर्ने वा नगर्ने निर्वाचनबाट टुङ्याउनु पर्ने, यदि उमेरहद लगाउनु परे २८ वर्ष हुनुपर्ने बताए । उमेरहद जरुरी नभएको पक्षमा मधेस प्रदेशका नेता रामपुकार यादव, प्राविधिकधारतर्फ क्याम्पसबाट अनिस बलसाडी, लुम्बिनी प्रदेशबाट महेश बस्नेत उभिएका छन् ।
सुदूरपश्चिमका तिलक मालले उमेरहद यसै सम्मेलनबाट २८ वर्ष लगाउनुपर्ने पक्षमा रहेको बताए ।
यसैगरी उपत्यका विशेष प्रदेशका नेता टोपेन्द्र वलीले उमेरहदबारे २८, ३२ र ३५ वर्ष हुनुपर्ने सुझाव आएको बताउछन् । अधिकांशले नियमित सम्मेलन र निर्वाचनको पक्षमा मत आएको धारणा राखेका थिए ।
उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ ।
अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले भने, ‘अखिल क्रान्तिकारीको नेतृत्व चयनमा पूरै लोकतान्त्रिक विधि अपनाइने छ । यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा भएको छैन ।’
माओवादी अध्यक्ष प्रचण्डले भेटमा सहभागी अखिल क्रान्तिकारीका नेता जीपी मैनालीले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै ‘हलले जे भन्छ, त्यही मान्नुस्’ भनेर निर्देशन दिनु भएको बताए । सोही निर्देशन अनुसार निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने तयारी छ उनले भने ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले यसअघि नै ३२ वर्षे उमेरहद लागु गरिसकेको छ ।
बढी शुल्क लिएको भन्दै हस्ताक्षर अभियान :
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनमा प्रतिनिधिलाई बढी शुल्क लिएको भन्दै विरोध सुरु भएको छ । असोज १० गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलनमा सहभागी हुनेले २ हजार शुल्क उठाइएको छ । प्रतिनिधि शुल्क २ हजार हुन नहुने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको केन्द्रीय सदस्य ममता अधिकारीले बताइन् ।
सो सम्बन्धमा सय बढीले शुल्क घटाउने पक्षमा हस्ताक्षर गरेको विद्यार्थी नेताहरुले जानकारी गराएका छन् । सम्मेलनका लागि दुई हजार ३२३ प्रतिनिधि कायम भएका थिए ।
शुल्क घटाउनुपर्ने माग गर्नेले न्युनतम पाँच सय हुनुपर्ने मत राखेका छन् । सम्मेलन लम्बिएका कारणले बसाई खर्च बढेकाले घटाउनुपर्ने माग राखेको उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी गराए । बस्नका लागि प्रतिनिधि स्वयंले व्यवस्था गर्नुपर्ने संगठनको निर्णय छ । उनका अनुसार ‘खानाको ७० प्रतिशत संगठनले बेहोरेको छ । ३० प्रतिशत प्रतिनिधिबाट उठाइएको हो, साथीहरूको बसाई लम्बिएकाले शुल्क धेरै भयो भन्ने कुरा उठेको हो ।
पूर्व निर्धारित समय अनुसार १४ असोजमा सम्मेलन सक्ने भनिएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार ११:४५ गते
हजुरको प्रतिक्रिया