अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हद विवादमा कुर्सी हानाहान, विद्यार्थी नेताले खुकुरी चम्काए

अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हद विवादमा कुर्सी हानाहान, विद्यार्थी नेताले खुकुरी चम्काए

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १४ गते सोमबार ०७:२६

हिजो युद्धका बेलामा उमेरहद लागु नभएको भन्दै मुखमै आएको नेतृत्वको दाबीमा आफूलाई परीक्षणमै रोक्नु न्यायोचित नहुने अध्यक्षका आकांक्षीहरूको तर्क छ । उमेर हद लागू गरेमा अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एक जना महासचिव कोही पनि उम्मेदवार हुन पाउँदैनन् ।

काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा सोमबार उमेर हदका विषयमा विवाद देखिएको हो ।

काठमाडौँ– नेकपा (माओवादीकेन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं सम्मेलनस्थलमा तोडफोड भएको छ । संगठनको नेतृत्वमा आउन उमेरहद लागु गर्ने र नगर्नेबीचको विवादका क्रममा तोडफोडको अवस्था असोज १४ गते सिर्जना भएको हो ।
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को कीर्तिपुरमा जारी सम्मेलनमा कुर्सी हानाहान हुन पुगेको हो । सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहान भएको प्रत्यक्षदर्शीले बताए । उमेर हदको विरोध गर्दै अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरी चम्काएको सहभागीले बताए । अध्यक्ष पदका लागि दाबेदार रहेका महरा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा भएको बताइन्छ ।
यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले मतदानबाट उमेर हद टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो । सम्मेलनमा आएका प्रतिनिधिले कुर्सी फालाफाल समेत गरेका थिए ।
उमेरहद लगाउने र नलगाउने पक्ष आमनेसामने भएका छन् । नेतृत्वका लागि उमेर हद २८, ३० वा ३२ कति राख्ने भन्नेमा विवाद भएको थियो । तर, बन्दसत्रमै विवाद बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।
यसपटक पार्टीले पूर्णरूपमा लोकतान्त्रिक विधिको उपयोगको अधिकार प्रतिनिधिलाई दिएको अध्यक्षका आकांक्षीजीपी मैनालीले बताउनु भयो । उहाँका अनुसार पार्टीले हस्तक्षेप गरेको आरोप यसपटक दिन मिल्ने अवस्था छैन । पार्टीले पदाधिकारी बैठकबाटै प्रतिनिधिहरूलाई निर्णयको अधिकार सुम्पिएको छ । उहाँले भन्नुभयो, ‘हाम्रा अध्यक्ष कमरेड प्रचण्डले हामीलाई बोलाएर यसको जानकारी गराइसक्नुभएको छ । त्यसैले अब जे निर्णय भए पनि सार्वभौम प्रतिनिधिहरूले गर्ने छन्, त्यो निर्णय हामीलाई स्वीकार्य छ ।’
यसअघि प्रदेश अधिवेशनमा उमेरहद नलगाएको भन्दै केन्द्रमा आएर उमेरहद लगाउने कुरा स्वीकार्य नहुने भन्दै आवाज उठेपछि महाधिवेशनस्थलमा तनाव भएको हो ।
प्रदेशको नेतृत्वमा ३९ वर्षसम्मका व्यक्ति चयन भएकामा केन्द्रीय नेतृत्वमा ३२ वर्षमुनिको नेतृत्व ल्याउने अभ्यासले स्वाभाविक संगठन नबन्ने तर्क उनीहरूले राखेपछि बैठकमा विवाद सुरु भएको एक प्रदेश प्रतिनिधिले बताए । ती प्रतिनिधि भन्छन्, ‘शिक्षकलाई हवस् सर भन्ने, प्रहरीलाई सलाम ठोक्नेहरूबाट संगठन चल्छ कि चल्दैन भन्ने मन्थन होस् भनिएको हो ।’
हिजो युद्धका बेलामा उमेरहद लागु नभएको भन्दै मुखमै आएको नेतृत्वको दाबीमा आफूलाई परीक्षणमै रोक्नु न्यायोचित नहुने अध्यक्षका आकांक्षीहरूको तर्क छ । उमेर हद लागू गरेमा अहिले अध्यक्षका आकांक्षी रहेका १९ जना उपाध्यक्ष र एक जना महासचिव कोही पनि उम्मेदवार हुन पाउँदैनन् ।
अखिल (क्रान्तिकारी)मा मतदानबाट अध्यक्षको उम्मेदवारको टुंगो लगाउने तयारी छ ।

प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार १९:२६ गते
हजुरको प्रतिक्रिया