आजदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा : देशभर दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

आजदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा : देशभर दुई सय १७ को मृत्यु, २८ जना बेपत्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज १५ गते मङ्गलबार ०८:०९

पहिरोमा परेको दुई घण्टासम्म रिमालले उद्धारका लागि गुहार माग्नु भयो । हारगुहार गर्दागर्दै बेहोस भएँ, करिब चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाएको बताउनु हुन्छ ।

आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर दुई सय १७ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बाढी पहिरो र डुबानमा परि देशभर २० जना बेपत्ता छन् भने एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले असोज १४ गते साँझ जनाएको छ । सरकारले बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
सडक, पुल, विद्युत लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा काठमाडौंसँगको सम्पर्क नियमित हुन कठिन भएको छ ।
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनु भएको छ । उहाँका अनुसार प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएका छन् । उहाँले भन्नुभयो, ‘बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको छ ।’
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँले जानकारी दिनु भएको छ ।
राष्ट्रिय शोक घोषणा :
यसैबीच, सरकारले बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय शोकका तीन दिन सरकारी कार्यालयमा झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा भने नहुने पनि सरकारले जानकारी दिएको छ । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ ।’
‘हेर्दाहेर्दै श्रीमती पुरिएको देख्नु पर्योे :
राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सीको बेड नं २१ मा ६८ वर्षीय नारायणप्रसाद रिमाल उपचाररत हुनुहुन्छ । उहाँलाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग विछोड भएको पीडाले पिरोलेको छ ।
चिन्तित मुद्रामा रिमालले भन्नुभयो, ‘म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे !’
उहाँको शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन । उहाँको आज शल्यक्रिया गरिने भनिएको छ ।
चौरी देउराली गाउँपालिका– ६ काभ्रेका रिमाललाई असोज १२ गतेको उक्त कहालीलाग्दो दिन सम्झिँदा पनि नमिठो अन्ुभूति हुन्छ । बिहान करिब ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै हुनुहुन्थ्यो रिमाल छेउकै घरको बार्दलीमा बसेस दुईदिन अघिदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत नदिएको सोच्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘एक्कासी माथिबाट आएको पहिरोले घर पु¥यो, हेर्दाहेर्दै श्रीमती पुरिइन् ।’
पहिरोमा परेको दुई घण्टासम्म रिमालले उद्धारका लागि गुहार माग्नु भयो । हारगुहार गर्दागर्दै बेहोस भएँ, करिब चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाएको बताउनु हुन्छ ।

प्रकाशित मिति २०८१ आश्विन १५, मंगलवार ०८:०९ गते
हजुरको प्रतिक्रिया