तीनपिप्ले(लमजुङ)– लमजुङ ३४ औं अन्तराष्ट्रिय जेष्ठनागरिक दिवस राइनास नगरपालिकामा फरक शैलीमा मनाइएको छ । सो नगरपालिका– ५ निवासी १०० बर्षीय गिरिराज कंडेललाई उहाँकै घरमा गएर दोसल्ला ओडाइ रुद्राक्ष माला लगाई फलफूल र दहीको सगुन दिएर सम्मान गर्दै दिवसको कार्यक्रम शुभारम्भ गरियो भने जिल्लाका अन्य पालिकाहरू भने बेखर रहे अर्थात कुनै कायक्रम गरेनन् ।
राइनास नगरपालिकामा गरिएको कार्यक्रमका प्रमुख अतिथि सोही नगरपालिकाका उपमेयर पुष्पराज खनाल हुनुहुन्थ्यो । उहाँबाट बिहान जेष्ठनागरिक सम्मान गरी दिउँसो नगरपालिकाको सभाहलमा नगरस्तरीय जेष्ठनागरिक भेला सहित औपचारिक कार्यक्रम गरिएको हो । प्रमुख अतिथि खनालले जेष्ठनागरिकप्रति सरकारको शतप्रतिशत दायित्व संबिधानले स्पष्ट गरेको छ ! नगरपालिका जेष्ठनागरिकप्रतिको दायित्वप्रति प्रतिबद्ध छ । जेष्ठनागरिक समाजका अगुवा हुन् उहाँहरूले आफ्नो सही आचरण र सही ब्यबहारबाट समाजलाई बाटो देखाउनु पर्छ भन्नु भयो ।
जेष्ठनागरिक समाज तिनपिप्लेका अध्यक्ष मुक्तिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पुष्पराज खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चक्रतीर्थ जेष्ठनागरिक समाजका सचिव पद्मराज कंडेलले स्वागत गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल, वडा नं ४ का वडाध्यक्ष बलराम पराजुली, वडा नं ५ का अध्यक्ष शंखबहादुर सार्की, कवि एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका निर्वातमान वरिष्ठ उपाध्यक्ष मातृकाप्रसाद खनाल, पं. तोयानाथ भट्ट, कार्यापालिका सदस्य शुकबहादुर बि क, कुबिर रानाभाट, चक्रतीर्थ जेष्ठनागरिक समाजका अध्यक्ष डम्बरसिं गुरुङ, धमिलिकुवा जेष्ठनागरिक समाजका उपाध्यक्ष रेशम परियार लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो अवसरमा सहभागी मध्ये वरिष्ठ जेष्ठनागरिक बुद्धिमान श्रेष्ठलाई रुद्राक्ष माला लगाएर सम्मान गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा धमिलिकुवा भजन समूह हरिप्रसाद चिलुवालको समुहबाट भजन प्रस्तुत गरेको थियो ।
यसैगरी, सो अवसरमा आयोजक संस्था सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले प्रशिक्षणात्मक सहजिकरण गर्नु भएको थियो । ओलियाले बुढ्यौली के हो ? बुढ्यौली पूर्व ख्याल राख्नु पर्ने कुराहरू, बुढ्यौलीमा आई पर्ने समस्याहरू, बुढ्यौलीमा खेल्नु पर्ने भूमिका, जेष्ठनागरिकप्रति गरिने दुर्व्यवहार बिरुद्ध चेतना, जेष्ठनागरिककाप्रति परिवार, समाज र सरकारको भूमिका लगायतका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
सर्वोदय सेवाश्रम– Sarbodaya Sewashram, जेष्ठनागरिक समाज राइनास– ४,५ र ६ आयोजक रहेको कार्यक्रममा राइनास नगरपालिकाको सहयोग र समन्वय रहेको थियो ।
लमजुङका आठ पालिकामध्ये अन्य सात पालिकाहरू यो दिवसका बारेमा बेखर :
सो दिवसका बारेमा लमजुङमा रहेका आठ पालिकामध्ये अन्य सात पालिकाहरू भने बेखर रहेको खुल्न आएको छ । जिल्ला सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकामा परेको जानकारीमा आएन । दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले गाउँपालिकामा त्यस्तो कुनै कार्यक्रम नगरेको बताउनु भयो । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले ‘आज म अफित त गइन तर कार्यक्रम भएको जस्तो लागेको छैन’ भन्ने जानकारी दिनु भयो ।
यसैगरी, सुन्दरबजार नगरपलिकाले पनि कुनै कार्यक्रम गरेको जानकारीमा नआएको सो क्षेत्र अर्थात सो पालिका– ४ दुराडाँडामा स्थायी बसोबास गर्नु हुने राष्ट्रिय समाचार समितिका जिल्ला प्रतिनिधि विराट न्यौपानेले बताउनु भयो ।
उता, मध्यनेपाल नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख इन्दिरा पोखरेलसँग सम्पर्क गर्दा उहाँले आफ्नो पालिकामा कुनै कार्यक्रम नभएको उल्लेख गर्नुभयो । उहाँलाई जेष्ठनागरिकका बारेमा कार्यक्रम बनाएर पेश गर्ने शाखाको प्रमुखका नाताले तपाईको जिम्मेवारी हैन ? भन्ने जिज्ञासामा उहाँले ‘हो हामीले पालिकाको बजेट बनाउने बेलामा कार्यक्रम पेश गरेको हो, तर नगरसभाले जेष्ठनाथरिकका लागि बजेट नछुट्याएन, त्यसोभए पछि हामीले के गर्न सक्छौं र ? भन्ने प्रतिप्रश्न गर्नु भयो । उहाँले जुनसुकै कार्यक्रम गर्न पैसा चाहियो बजेट नभएको पछि के गर्ने उहाँले भन्नुभयो । आफूहरू वडामा व्यस्त भएको हुँदा पनि कुनै कार्यक्रमको आयोजना नगरेको उहाँको भनाइ थियो ।
त्यस्तै, क्ब्होलासोंथर गाउँपालिका सो बारेमा बुझ्न सम्पर्क गर्दा जिम्मेवार व्यक्ति सम्पर्कमा आएनन् ।
यसैगरी, दूधपोखरी गाउँपालिकामा पनि कुनै कार्यक्रम नभएको सो गाउँपालिकाका रोजगार संयोजक रामहरि न्यौपानेले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८१ आश्विन १५, मंगलवार २०:३६ गते