बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा लमजुङका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बु्झाइएको छ । हालैको भीषण वर्षाका कारण उत्पन्न बाढी पहिरोको प्रकोपले जनधनको क्षति, वेपत्ताको उद्दार, घाइतेको उपचार तथा पीडितलाई राहतका साथै वडादशैं सहितका चाडमा क्रितृम अभावबाट हुने मूल्यबृद्धि लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र बुझाउँदै असोज १६ गते ध्यानाकर्षण गराएको हो ।
रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले दस्तखत गर्नु भएको ज्ञापन पत्र बुझाउन उहाँको नेतृत्वमा एक टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । सो ज्ञापन पत्रको पूर्ण पाठ :
‘मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्वतयारी कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेको पीडादायी घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण भएको छ ।
नेपालीहरूको महत्वपूर्ण चाडपर्व बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्व नजिकिँदा आवतजावत बढ्ने गर्छ । यसलाई मध्यनजर गर्दै आइपर्न सक्ने थप विपद्को पूर्वतयारीका लागि :
– घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथाशीघ्र उचित उपचारको व्यवस्था गर्न तथा तत्काल गास र बासको व्यवस्था मिलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिने कार्यलाई पहिलो प्राथमिकतामा राख्न तथा विपतमा परी ठूलो सङ्ख्यामा भएको मृतकको खोजी, सङ्कलन तथा पीडित परिवारलाई दाहसंस्कार गर्न सहयोग गर्न अत्यावश्यक भएको हुँदा यसमा कार्यालयमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।
– अधिकांश राजमार्गमा पुलहरू टुटेका हुँदा अस्थायी बेली ब्रिजको यथाशीघ्र व्यवस्था गर्न आग्रह गर्दै राजमार्ग र अन्य सहायक मार्गहरूको अवस्था सुधार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।
– अभाव, अप्ठ्यारो अवस्था र चाडबाडको बेलामा चोरी डकैती तथा अपराधिक घटना धेरै बढ्ने भएको हुँदा सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न पूर्वतयारी अवस्थामा रहन ध्यानाकर्षण गराउँदछौँ ।
– चाडपर्व नजिकिदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा क्रितृम अभाव श्रृजना गरिएको, कालो बजारले प्रश्रय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मूल्यसूचि स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी चरम मूल्यवृद्धि गरिएको, बिल बिजक जारी नभएको वस्तु तथा सेवाको ग्यारेन्टी÷वारेण्टीको प्रत्याभूति नगरिएको लगायतका विषयमा अविलम्ब बजार अनुगमनलाई तीव्रता दिई व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यस जिल्लामा यथाशिघ्र र प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदछौँ ।’
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले ज्ञापनपत्रका लागि धन्यवाद दिनु भयो । उहाँले जिल्लामा शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्नका लागि प्रहरी प्रशासनले मात्र नसक्ने हुँदा स्थानीय तह, वडाध्यक्षहरू, गाउँगाउँमा रहने आमा समूह, क्लब, बाल क्लब तथा सञ्जाल आदिको भूमिका हुने बताउनु भयो । उहाँले गाउँको कुन घरमा जुवा खेलिरहेको छ भन्ने प्रहरीले पत्ता लगाउन गाह्रो हुन्छ त्यसमा यहाँहरूको सहयोग अवश्यक पर्छ भन्नुभयो । घरमा बनाइने रक्सी कम बनाउने, कम खाने, खुवाउने गर्दा पनि झैंझगडा धेरै कम हुने हुन्छ उहाँले उल्लेख गर्नु भयो ।
त्यस्तै, बाढी पहिरोका बारेमा हामी चनाखो छौं र आजका दिनसम्म जिल्लामा जनको क्षति भएको अनिष्ट खबर सुन्नु परेको छैन, त्यो अर्थमा राम्रो छ भनौं तर पनि हामीले आवश्यक सावधानी अपनाएका छौं । रात्री बस नचलाउनका लागि निर्णय गरेर मात्र पुग्ने रहेनछ अनुमगन नै गर्नु पर्ने रहेछ भन्ने धादिङले पाठ सिकाएको छ, महंगी नियन्त्रणका लागि नियमित बजार अनुगन गर्ने र आएका गुनासा सुन्ने र सकेसम्म छिटो समाधान गर्नेतर्फ काम जारी रहेको प्रजिअ गुरुङले जानकारी दिनुभयोे ।
बजार अनुगमनका लागि मध्यनेपाल, क्ब्होलासोंथर र दूधपोखरीमा समेत जाने कार्यतालिका छ, भएको सीमित जनशक्ति र स्रोत साधनको अधिकत्तम उपयोग गरी उपलब्धि हासिल गर्नका लागि नियमति लागिरहेकै छौं प्रजिअ गुरुङले बताउनु भयो । उहाँले चाडबाड लक्षित सुरक्षा स्थितिलाई बलियो बनाउने गस्ती टोली कुनसँग कति हतियार र गोली रहने भन्ने सम्मको पनि तथ्यांक तयार गरेर परिचालन गर्ने तयारी छ उहाँले जानकारी भन्नुभयो । उहाँले यहाँहरू लगायत सबैको सहयोगको अपेक्षा गर्दछौं, ज्ञापनपत्रका लागि फेरि पनि धन्यवाद भन्दै टोलीलाई विदाई गर्नु भएको थियो ।
उक्त ज्ञापन पत्र बुझाउन रास्वपाका जिल्ला उपसंयोवक अशोक सापकोटा, जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, पार्टीको प्रदेश समिति संगठन विभागका सदस्य होमबहादुर राउत, रास्वपाका वडानं– ८ का अध्यक्ष ध्रुव ढकाल, वडानं– ९ का अध्यक्ष भागवतसिंह अर्याल, वडानं– ७ का सचिव विष्णु घिमिरे, वडानं– ८ का सदस्य अहलदीन मिया, वडानं– ९ का सदस्य काजीराम रावललगायत सहभागी हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८१ आश्विन १६, बुधबार १८:४३ गते