बेसीशहर– जिल्ला प्रहरी कार्यालय, लमजुङका नवागन्तुक प्रमुख प्रहरी नायव उपरीक्षक निसान श्रीवास्तवले आफूलाई यो जिल्लामा बसेर आत्महत्या, लागू औषध र सडक दुर्घटनाका क्षेत्रमा काम गर्ने सोच आएको बताउनु भएको छ । पद बहाल गरेको दोस्रो दिनमा नै पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरी प्रनाउ श्रीवास्तवले असोज १७ गते त्यस्तो बताउनु भएको हो ।
प्रहरी प्रधान कार्यालयबाट यस जिल्लाका लागि खटिनु भएका उहाँको नोकरीको अनुभव १५ वर्षको रहेको छ । यो बीचमा उहाँले काठमाडौंकै नयाँ बानेश्वर क्षेत्रमा प्रमुख भई काम गरेको अनुभव हासिल गर्नु भएको छ ।
आफ्नो परिचय दिदै पत्रकारहरूसँग आफूले समन्वय र सहकार्यका साथ गर्न चाहेको बताउनु भयो । अपराध सानोले पनि उत्तीकै पीडा दिन सक्छ त्यसैले अपराध कर्म, आत्महत्या, लागू औषध ओसार पसार तथा सेवन र सडक दुर्घटनाका बारेमा काम गर्ने आफ्नो सोच रहेको जानकारी दिनुभयो । उहाँले पत्रकारहरूलाई आफ्ना अनुभव सेयर गर्न र समस्याका बारेमा जानकारी दिन र खुलेर सुझाव राख्न आग्रह गर्नु भएको थियो । पत्रकारहरूले लेखेका कुरालाई फिडव्याकका रुपमा लिने र त्यसबाट बायस हुने वा त्यस्तो व्यवहार हुने छैन भन्ने उहाँले उल्लेख गर्नु भयो । उहाँले खोलामा करेन्ट लागेर वा अन्य तरिकाले आत्महत्या गरेर जस्ले ज्यान गुमाउँछ उस्को परिवारका बाँचेका मानिसहरूलाई कति पीडा हुन्छ भन्ने अनुभूति हुन जरुरी छ, त्यसो भयो भने आत्महत्याका घट्ना पनि कम हुन सक्छ उहाँले उल्लेख गर्नु भएको थियो ।
पत्रकारको काम बाटो देखाउने समेत हो भन्दै उहाँले बोलीले हट गर्दा पनि पीडा हुन्छ त्यसैले त्यसतर्फ आफ्नो होसियारी रहने जानकारी दिनुभयो ।
पत्रकारहरूले जुवाको खालबाट बरामद भएको रकम खालदेखि अदालतमा मुद्दा दर्ता गर्दासम्मको बाटोमा हराउने गरेको, लागूऔषधले समाजलाई गाँजी रहेको, करेन्ट लगाएर माछा मार्ने प्रवृत्तीले माछा सखाप भएको, टेम्पोदेखि बसभाडासम्ममा अनियमिता हुने गरेको र चाडबाडको बेलामा त दोब्बर भाडा असुल्ने प्रवृत्तीले निरन्तरता पाइरहेको, घट्नाको अनुसन्धान कार्य गहिराइँमा नपुग्दा मानिसहरूको नैतिकतामा प्रश्न उठ्ने स्थिति उत्पन्न हुने गरेको छ । रात्रीकालीन व्यवसायलाई नकारात्मक असर गर्ने गरेको, घट्नाको सूचना पत्रकारलाई ढिला दिने गरेको, नीति नियमको कार्यान्वयमा समस्या रहेको लगायतका सुझावहरू दिने काम भएको थियो ।
अन्यमा आगन्तुक पत्रकारहरूलाई धन्यवाद दिदै प्रनाउ श्रीवास्तवले प्राप्त गहन सुझावलाई कार्यान्वयनका लागि यथासक्य पहल गर्ने सकेसम्म गुनासो रहित ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ आश्विन १७, बिहीबार २०:३९ गते