लमजुङ । लमजुङमा मादक पदार्थ सेवन(मापसे) गरेका कारण बाबु छोराबीच उत्पन्न झगडामा हात हालाहाल हुँदा हतियार प्रयोग भई छोरा मारिए छन् । मर्स्याङदी गाउँपालिका– २ को घनपोखरामा सो घट्ना असोज १८ गते भएको हो ।
घनपोखराको साविक वडानं– ८ को प्रोवीगाउँ निवासी ५७ वर्षीय बाबु सन्तबहादुर तामाङ र २७ वर्षीय छोरा सोमबहादुर तामाङका बीचमा मापसे गरेपछि घरायसी झगडा भएको थियो । झगडा बढ्दै जाँदा दुवै जनाबीच हात हालाहाल भएछ । छोरा सोमबहादुरले लठ्ठीले बाबुको टाउकोमा हिर्काएछन् त्यसपछि बाबुले छोरालाई हँसिया प्रहार गर्दा सोमबहादुर गम्भिर घाइते भएछन् । सख्त घाइते भएका सोमबहादुरको उपचारका लागि लमजुङ अस्पताल ल्याइएको थियो । बेसीशहरमा प्राथमिक उपचार पछि भरतपुर अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा सोमबहादुर तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव बेसीशहर ल्याउने काम भइरहेको छ । यहाँ ल्याएपछि पोष्टमार्टम गरी परिवारजनलाई बुझाइने छ भने बाबु सन्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । थप विवरण आउन बाँकी ।
प्रकाशित मिति २०८१ आश्विन १९, शनिबार ०९:४७ गते