जिल्ला प्रशासन कार्यालयको निर्णय हावामा उडाउँदै ठूला बसहरू

जिल्ला प्रशासन कार्यालयको निर्णय हावामा उडाउँदै ठूला बसहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २१ गते सोमबार ०७:२९

आज एकै दिन बेसीशहरबाट पोखरा जाने बस र काठमाडौबाट बेसीशहर आएका दुई वटा बसलाई बढी भाडा लिएकोमा प्रहरीले चिट काटेर कारवाही गरेको छ ।

आजका दिनमा पनि यात्रुहरूलाई किनबेच गर्ने प्रथा कायमै

बेसीशहर– जिल्ला प्रशासन कार्यालयद्वारा गरेको निर्णय बस भाडा दरलाई ठूला बसहरूले हावामा उडाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालयले असोज २० गतेबाट लागू गरेको नयाँ भाडा दर कायम गर्नु त परै रहोस् पुरानो भाडाभन्दा पनि बढी रकम यात्रुसँग असुल्न थालेपछि असोज २१ गते त्यस्तो खुलासा भएको हो ।
त्यस्ता दुई वटा बस विरुद्ध कारवाहीका लागि जिल्ला ट्रफिक कार्यालयमा उजुरी परेको छ । आज विहान बेसीशहरबाट खत्रीठाँटी विमिरे भञ्ज्याङ, भोर्लेटार हुँदै पोखरा गएको पोखरा बेगनासतालको ग १ अ ८२६७ नंबरको बसले यो प्रतिनिधिसँग बेसीशहर सिउँडीबारसम्मको भाडा १२०।– रुपैयाँ लिएको थियो । त्यसको तत्कालै उजुरी गरेपछि सुन्दरबजार स्थित ट्राफिक कार्यालयका सहयाक हवल्दार पवित्रा ओझाले बताउनु भयो । उहाँका अनुसार बढी भाडा लिएकोमा पाँच सयदेखि एक हजार पाँच सयसम्म बसलाई जरिवाना गर्ने हो, चिट काटेर पठाएको छु । ‘कति तिर्यो त जरिवाना त्यो बसवालाले ?’ भन्ने जिज्ञासामा पटकेमा भए त एक हजार पाँच सय नै जरिवाना हुन्छ । त्यो त असईसाहेवले निर्णय गर्ने हो उहाँले भन्नुभयो ।
यात्रुलाई किनबेच प्रथा आज पनि कायमै :
यसैगरी, बसवालाहरूले लमजुङ आउने– जाने यात्रुहरूलाई किनबेच गर्ने त पुरानै प्रचलन हो । त्यो क्रम आज असोज २१ गते फेरि पनि दोहोरिएको पाइएको छ । काठमाडौंबाट बेसीशहर आएको ग १ ख ५१६० नंबरको टुरिष्ट बस लेलिएको बस साँझ करिब ५ः३० बजे बेसीशहर आइपुगेको थियो । त्यो बसले भोटेओडार बगैचामा यात्रु किनेर बेसीशहर आएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यो बसले काठमाडौंबाट आउने यात्रुसँग एक हजार रुपैयाँका दरले भाडा लिएको पाइएको छ ।
मर्स्याङदी गाउँपालिका– ४, ताघ्रिङकी शुष्मा थापाले आफूसँग बसले काठमाडौंदेखि आएको भाडा एक हजार रुपैयाँ लिएको बताउनु भयो । उहाँलाई ‘तपाईलाई काठमाडौं– बेसीशहरको बसभाडा कति हो ? भन्ने थाहा थिएन ?’ भन्दै यो पंक्तिकारले राखेको जिज्ञासामा सबैसँग हजार नै उठाएको छ, ‘सबैले प्रतिव्यक्ति हजार दिए, त्यसपछि मैले पनि दिएँ’ उहाँले भन्नुभयो ।
तपाईले प्रहरीलाई उजुर गर्नु भयो भने बसवालाले बढी लिएको भाडा फिर्ता गराई दिन्छ उजुर गर्नु हुन्छ ? भन्ने जिज्ञासामा पाँच बजिसक्यो गाउँमा जाने जिप छुटी सक्यो भन्दैछन्, उजुर गर्न थाल्यो भने आज यही बस्नु पर्ने हुन्छ भन्दै उहाँ मौन हुनुभयो ।
त्यति मात्र हैन त्यो ग १ ख ५१६० नंबरको बसले भोटेओडार बगैंचाबाट अर्को एउटा बेसीशहर आउनका लागि हिडेको बसका यात्रुहरू खरिद गर्ने काम गरेको पाइएको छ । ग १ ख ५१६० बसले यात्रुहरू खरिद गरेपछि त्यो बस फिर्ता भएर गएको छ । त्यसपछि ग १ ख ५१६० नंबरको बसले यात्रुलाई सास्ती खुवाउँदै बेसीशहर आएको थियो । त्यसरी सास्ती खेप्नेमा एक विदेशी पर्यटक समेत(फोटाहरूमा) थिइन् ।
उनी ड्राइभरको सिट पछाडी बोनटमा निकै कष्टका साथ बसेर यात्रा गरेको फोटोमा प्रष्टै देख्न सकिन्छ । के उनले त्यसरी नै बेसीशहर आउने भनेर काठमाडौंबाट बस चढेकी थिइन् होला ? सहज अनुमान गर्न सकिन्छ ।
सोही बसले भोटेओडार बगैंचादेखि बेसीशहरको भाडा यो पंक्तिकारसँग एक सय रुपैयाँ लिएकोमा पनि ट्रफिक कार्यालयमा उजुरी परेको छ । त्यो बसबालालाई कारवाहीका लागि ट्रफिकले चिट काटिसकेको बुझिएको छ ।
यस बारेमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङसँग सम्पर्क गर्दा उहाँले हिजोबाट मात्र नयाँ दर लागू भएको हो, कति बसवालालाई थाहा पनि नहुन सक्छ तर ट्राफिकले भने इमान्दारीपूर्वक काम गरेको छ उहाँले भन्नुभयो । ‘प्रश्न ट्राफिकको इमान्दारिताको हैन सर ! बसले यात्रु किनबेच गरेको र बढी भाडा लिएकोमा हो’ भन्ने जिज्ञासामा ‘ए ! त्यसो हो भने त ट्राफिक प्रहरीले कारवाही गर्छ तपाई ढुक्क हुनुस्’ प्रमुख जिल्ला अधिकारी गुरुङले भन्नुभयो ।

प्रकाशित मिति २०८१ आश्विन २१, सोमबार १९:२९ गते
हजुरको प्रतिक्रिया