फेदीकुना(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपलिका– ९ मा ८१ वर्षीय बृद्धबृद्धालाई सम्मान गर्दै ब्राह्ण क्षेत्री समाजद्वारा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । समाजका जेष्ठ सदस्य देवीदत्त कँडेल र बसुन्धरा अधिकारीलाई टीका र दोसल्लाद्वारा सम्मान गर्दै ब्राह्मण क्षेत्री समाजले ११ औं वार्षिक साधारण सभा समेत असोज २१ गते सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका ८१ वर्षीय देवीदत्त कँडेलले वार्षिक साधारण सभाको उदघाटन गर्नु भएको हो । उहाँले समाजका सबै गतिविधि र आर्थिक हिसाव पारदर्शी रुपमा राख्न र चाहेको बेलामा जसले पनि हेर्न, सुन्न सक्ने बनाउनु पर्ने हुन्छ त्यसका लागि आफ्नो आशीर्वाद सदैव समाजमा रहने उल्लेख गर्नु भयो ।
समाजको समुन्नतिका लागि दाता समेत रहनु भएका विशेष अतिथि एवम् सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले यो कार्यक्रममा नआएको भए पछुतो हुने रहेछ भन्दै समाजका गतिविधिबारेमा जान्ने मौका पाएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले समाजको स्तरबृद्धिका लागि आफूसमेत सहभागी हुन पाएकोमा समाजप्रति कृतज्ञ रहेको उल्लेख गर्नु भयो । उहाँले राज्यले गरेका विभेदप्रति यस्ता संस्थाहरूले बोल्नु पर्ने हुन सक्छ त्यसैले त्यस अनुरुप पनि तयार रहन समाजका सदस्यहरूलाई आग्रह गर्नु भएको थियो ।
अर्का विशेष अतिथि कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले यो समाजद्वारा गरेका शिव मन्दिर र भवन, जेष्ठ नागरिकलाई सम्मान सहितका गतिविधि देख्दा र सुन्दा गर्वको अनुभव भएको बताउनु भयो । उहाँले यो गरिमामय कार्यक्रममा सहभागी हुने अवसर दिनुहुने मधुकुमारी भट्टराई एवम् आयोजक संस्था र त्यसका अध्यक्ष सहितका पदाधिकारीहरूका साथै सदस्यहरू प्रति आफू कृतज्ञ रहेको उल्लेख गर्नु भयो । उहाँले संस्थालाई मानिसको जीवनसँग तुलना गर्दै कहिले काहीँ रुघाखाँसी लाग्छ, ज्वरो आउँछ, हिड्दै गर्दा ठेस पनि लाग्छ यस्तो हुनु कुनै नौलो होइन र यो हामी बसेको समाजको प्रभावको उपज पनि हुन सक्ने हुँदा यसलाई ठूलो रुपमा लिन नहुने तर सच्चिनु पर्छ उल्लेख गर्नु भयो ।
आमा, दिदीबहिनीहरूलाई आफू बाल्यकालमा हुर्कदै गर्दाको समयभन्दा ऐले धेरै अवसर भएको तर व्यक्तित्वमा निखारता ल्याउनका लागि भने दिदीबहिनीहरू आफै पछि पर्नु भएको हो, यसमा पितृसत्तालाई दोष दिएर अब उम्कने ठाउँ छैन भन्नुभयो । उहाँले राज्यले गर्ने गरेको विभेदले समाजमा विद्रोह जन्मने स्थिति भएको हुँदा राज्यले त्यसलाई तत्कालै सच्याउनु पर्ने अन्यथा त्यो बाध्यात्मक स्थिति बनाउनका लागि तयारीमा जुट्न ढिला गर्न नुहने उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रवादी चिन्तनका साधक पहाडीले हिजोआज टोपी लगाउने मानिस देख्न रहर हुन थालेको, समाजबाट मौलिकता, इमान्दारिता, अनुशासन एवम् नैतिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले आफूहरू ब्राम्ह्ण क्षेत्री जे भनेपनि ऋषिका सन्तति भएको हुँदा पूर्वजहरूले ऋषित्व के कसरी प्राप्त गरेका थिए ? त्यसतर्फ सोचौं र समाजमा इमान्दारिता, अनुशासन, नैतिकता बढ्ने काम गरौं, त्यसका लागि वडादशैंको यो मौका देवीको आरधना गरी शक्ति आर्जन गर्ने समय पनि भएको हुँदा त्यस्तो शक्ति भाताभवानीबाट हामी सबैलाई प्राप्त हुन सकोस् भन्ने प्रार्थना गर्नुभयो ।
कार्यक्रममा वडानं– ९ की वडासदस्य एवम् भेटेओडार सिकाई केन्द्रकी नवनिर्वाचित अध्यक्ष मधुकमारी मट्टराईले समाज वा यसका पदाधिकारीहरू वा सदस्यहरू समाजको कुनै पनि क्षेत्रमा पछि पर्न नहुने बताउनु भयो । उहाँले हामीलाई कुनै पनि क्षणमा प्राप्त अवसरको उपयोग गरेर समाजको र आफूहरूको व्यक्तित्वको विकास गर्नु पर्ने हुन्छ त्यसमा सकारात्मक होऔं भन्नेमा जोड दिनुभयो ।
उक्त समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधवप्रसाद ढुंगानाले समाजका पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो पदीय जिम्मेवारी, कर्तव्य एवम् दायित्व बिर्सन नुहने बताउँदै भोलिका दिनमा गुनासो गर्नु नपर्ने गरी पारदर्शी ढंगले काम गर्न निर्देशन दिनु भएको थियो ।
समाजका सल्लाहकार खगराज सापकोटाले समाजमा यदाकदा देखिने गरेको मनोमालिन्यले कसैको हित नगर्ने हुँदा समाजको समुन्नतिका लागि सबै एक भएर होस्तेमा हैसे गरी अघि बढौं भन्नुभयो । उहाँले खुट्टा तान्ने प्रवृत्तीको शिकार हुनबाट समाजलाई बचाउन सबैले पहल गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
अर्का सल्लाहकार एवम् आदर्शबाल माविका शिक्षक कुशल भट्टराईले समाजमा आवद्ध हामीहरू सबैले सकारात्मक सोचका साथ काम गर्नु पर्छ भन्ने सुझाव दिनु भयो । उहाँले एक पालिकामा एउटा मात्र सिकाई केन्द्र सञ्चालन गरिने भएता पनि हाम्रोमा भरखरै भोटेओडार सिकाई केन्द्र सञ्चालनमा आएको छ, त्यसको भरपुर उपयोग गरेर सीपमूलक तालिमहरू लगायत आयआर्जनका स– साना तालिम समेत लिएर व्यक्तित्व विकास र आर्थिक समुन्नतिको मार्गमा लाग्न सकिन्छ त्यसतर्फ लागौं भन्ने उहाँले आह्वान गर्नु भयो ।
सामाजिक कार्यकर्ता बासुराम कँडेलले समाजको औचित्यका बारेमा प्रष्ट्याउँदै यो आफ्नो ठाउँ भएको हुँदा कसैले पनि म ठूलो तँ सानो भन्ने विभेदपूर्ण भाव नराखी त्यस्तो व्यवहार नगरी समाजलाई अघि बढाउनु पर्छ भन्दै समाजबाट गरिने सबै कामहरू पारदर्शी हुनु पर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष सन्तबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले समाजका रहेका जिन्सी सामग्रीको फेहरिस्त सुनाउनु भएको थियो । त्यस्तै कोषाध्यक्ष चन्द्रकान्त सापकोटाले आर्थिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नु हुँदै एक लाख ३४ हजार् १६९ रुपैयाँको आयव्यय सुनाउनु भयो । उहाँले एक लाख सात हजार रुपैया अक्षयकोषमा रहेको र बैंक मौज्दात ४० हजार भन्दा बढी रहेको जानकारी दिनुभएको थियो ।
सो अवसरमा शिवमन्दिर आमा समूहका अध्यक्ष कोपिला सापकोटाले समूहको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । शिवमन्दिर समितिका गोमा सापकोटाले शिवमन्दिर र समाज एक रथका दुई पाँग्रा भएको उल्लेख गर्नु भयो ।
समाजका एक विपन्न सदस्यलाई दशैं खर्चका लागि पाँच हजार रुपैयाँ प्रदान गरिएको उक्त कार्यक्रममा ई. राजन डौलिया लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष रामहरि भट्टराईले स्वागत गर्नु भएको थियो भने सञ्चालन समाजका सचिव गणेश सापकोटाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन २१, सोमबार २१:४७ गते