प्रेस काउन्सिलको नतिजा विरुद्ध अन्तरङ्ग फेरि सर्वोच्च जाने तयारीमा

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असोज २२ गते मङ्गलबार ०७:४४

लमजुङका आम पाठकलाई पनि थाहा छ र बेलाबखत परिचर्चा पनि हुने गरेको छ कि लमजुङका पढ्न लायकको पत्रिका कुन हो भनेर !?

अन्तरङ्ग आव २०७०/७१ देखि क वर्गमा परी आएको थियो ।

लमजुङ· प्रेस काउन्सिल नेपालले आव २०७८/७९ को पत्रपत्रिकाको वर्गीकरणको अन्तिम नतिजाका विरुद्ध लमजुङको जेठो पत्रिका अन्तरङ्ग सर्वोच्च जाने भएको छ । काउन्सिलले असोज २० गते राती प्रकाशन गरेको पुनरावलोकन सहितको अन्तिम नतिजामा पनि अन्तरङ्गलाई ‘ख’ वर्गमा डल्याउने काम गरेपछि अन्तरङ्गले सर्वोच्च जाने तयारी गरेको हो ।
अन्तरङ्ग लमजुङमा विगतका ३३ वर्षदेखि प्रकाशन हुँदै आएको छ । जिल्लामा अन्य पत्रिका अन्तरङ्ग प्रकाशन भएको १० वर्षपछि प्रकाशन हुन थालेका हुन् । अन्तरङ्ग विगतका ९ वर्षदेखि क वर्गमा कायम रहदै आएको थियो । आव २०७०/७१ मा पनि अन्तरङ्गलाई ख वर्गमा डल्याएकोमा चित्त नबुझी सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सर्वोच्चद्वारा रिटको पक्षमा फैसला गर्दै क वर्गमा कायम गरेको थियो । त्यसपछिका वर्षहरूका क वर्गमा पर्दै आएको थियो ।
पुनर्योगको नतिजा अनुसार लमजुङका अन्य साप्ताहिकलाई पुरानै अर्थात ख वर्ग कायम गरिएको प्रेस काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ ।
स्मरणीय छ, लमजुङका आम पाठकलाई पनि थाहा छ र बेलाबखत परिचर्चा पनि हुने गरेको छ कि लमजुङका पढ्न लायकको पत्रिका कुन हो भनेर !? लमजुङमा प्रकाशन हुँदै आएका छ वटा साप्ताहिकमा लमजुङ जागरणमात्र ग वर्गमा छ भने अन्य सबै ख वर्गमा छन् । जम्मा ११ वर्षमा चल्दै गरेको लमजुङ दर्पणलाई क वर्गमा पारिएको छ ।
प्रेस काउन्सिलले गत साउन १८ गते प्रकाशन गरेको प्रारम्भिन नतिजा अनुसार वर्गीकरणका लागि निवदेन दिने नौ सय पत्रिका मध्ये ७९३ वटा वर्गीकरणमा परेका थिए भने ७० वटाको कागजात नपुग र ३७ वटा हुबहुँमा परेको उल्लेख थियो । असोज २० गते प्रकाशित नतिजा अनुसार भने ८७५ वटालाई वर्गीकृत गरिएको र २५ वटा मात्र हुबहुमा परेको उल्लेख छ ।
प्रेस काउन्सिलको प्ररम्भिक नतिजा अनुसार क वर्गमा १७५ वटा परेकोमा पछि २९२ पारिएको छ । त्यस्तै, ख वर्गमा ४०२, ग मा २१६ र घ मा कुनै पनि पत्रिका प्रारम्भिक नतिजामा थिएनन् । अन्तिम नतिजामा भने खमा ४३२, गमा १३७ र घमा १४ वटा पत्रिका परेको सूचनामा भनिएको छ । ती मध्ये राष्ट्रियस्तरका १३५ वटा, प्रदेशस्तरका १६३ र स्थानीय स्तरका ५७७ वटा रहेका छन् ।
त्यस्तै, वर्गीकरणमा परेका पत्रिकाहरूमा दैनिक दुई सय, अर्ध साप्ताहिक २, साप्ताहिक ५१०, पाक्षिक ११, मासिक ६९, द्वैमासिक ५, त्रैमासिक ८, साहित्यिक ५६ र भाषाभाषीका १२ पत्रिका वर्गीकरणमा परेको काउन्सिलको सूचनामा उल्लेख छ ।

यतिबेला सर्वोच्चमा बडादशैंको विदा परेको हुँदा दशैं पछि अदालत खुल्लासाथ सो नतिजाका विरुद्धमा रिट दायर गर्ने भएको अन्तरङ्गका सम्पादक/प्रकाशक नवराज पहाडीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८१ आश्विन २२, मंगलवार ०७:४४ गते
हजुरको प्रतिक्रिया