
लमजुङ– बडादशैंको महाअष्टमी र महाँनवमी आज असोज २५ गते एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । अष्टमी र नवमी एकै दिन परेकाले आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने ज्योतिष शास्त्रीहरू बताउँछन् ।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी तथा महानवमी पर्व आज नेपालीहरूले बडादशैंका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउने वैदिक सनातनी परम्परा छ । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ भने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी आज मनाइँदै छ ।
आजको दिन शास्त्रसम्मत रुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
हिजो आश्विन शुक्ल सप्तमीका दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । हिजै दशैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याई सकिएको छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ ।
महागौरी देवीको नामाकरण :
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली !’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । शास्त्रीय ग्रन्थ अनुसार महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनिएको छ ।
शास्त्रको वर्णन अनुसार सात्विक, राजस र तामस तीन किसिमका पूजाको नामाकरण गरिएको छ, सात्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा विधि हो । सात्विक र पशुबली सहितको पूजालाई राजस पूजा भनिन्छ । राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएको छ यसअर्थमा पशुबली पनि शास्त्रीय हो भन्ने शास्त्रीय मत छ ।
ब्राह्मण जातिका लागि पशुबली बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलीको महत्व रहेको धर्मशास्त्रविदहरूको भनाइ छ । दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशुबलीलाई शास्त्रीय भन्न मिल्छ ।
आजका दिन लमजुङका लमजुङ कालिका, उदीपुर कालिका, तुर्लुङकोट कालिका मन्दिर, गोर्खाको गोरखा कालिका मन्दिर तथा मनकामनाका साथै काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बंगलामुखी लगायत देवी मन्दिरहरूमा समेत बलीसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड देख्न सकिन्छ ।
त्यस्तै, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, ताप्लेजुङको पाथीभरा, अर्घाखाँचीको सुपादेउराली, डढेलधुराको उग्रतारालगायतका शक्तिपीठहरूमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।
देवीका शस्त्र अस्त्र सहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउने भक्तजनहरूले पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आजा गर्ने गर्दछन् ।
उता, तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने प्रचलन छ । मूलचोकमै महाअष्टमीको राति कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलीसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्री पूजा गर्ने गरिएको बताइन्छ ।
महानवमी पर्व :
यसैबीच, आश्विन शुक्ल नवमी अर्थात् महानवमी पर्व पनि आज असोज २५ गते मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गर्ने प्रचलन छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवम् देवी स्तोत्र पाठ गरिन्छ ।
महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ भन्ने मार्कण्डेय पुराणमा उल्लेख छ । कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।
पशुबली नदिने र शाकाहारीहरूले भने महानवमीका दिन कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलको समेत बली दिई पायस(खिर) पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लाग्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।
यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
हनुमानढोकाको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलियो :
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म रातो टीका र जमरा लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउने प्रचलन रही आएको छ ।

प्रकाशित मिति २०८१ आश्विन २५, शुक्रबार ०८:०५ गते