बेसीशहर– लमजुङको सदरमुकाम रहेको बेसीशहर नगरपालिका– ६ मकैडाँडामा यात्रु सवास एक जिप दुर्घटनामा परेको छ । सो जिपमा यात्रा गर्ने जिपका चालक सहित करिब २० जना सवार रहेको प्रहरीले असोज २८ गते बताएको छ ।
मकैडाँडामा घुम्तिनिर ओरालोमा ओभरलोडका कारण टर्निङ साँघु्रो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ । प्रहरीका अनुसार घाइते चार जना थप उपचारका लागि रिफर भएका छन् । एक जना सामान्य उपचार पछि घर फर्केका छन् भने बाँकीको लमजुङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रिफर भएका घाइतेहरूमा बेसीशहर नगरपालिका– ६ का ४५ वर्षीया विमला अधिकारी, ३७ वर्षीय केशबहादुर विक, उहाँका चार वर्षका छोरा अस्मी विक तथा बेसीशहर नगरपालिका– ३ की वर्ष ४५ की राधा रिमाल रहनु भएको लमजुङ अस्पतालका नि. मेसु डा. शिशिर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसैगरी दुवै हात भाँचिएका २४ वर्षीय राजेश बसौला २ दिन पछि हालको शल्यक्रियाका लागि आउने भएको भनेर जानु भएको छ । उहाँले भन्नुभयो, ‘हात सुनिएकोले भर्ना भएर बस्न भएको मान्नु भएन । उहाँ नेपाली सेनाको कार्यरत जवानसमेत हुनु हुँदोरहेछ ।’ 
उता, ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो । सो जिपका चालक कृष्णबहादुर रिमालको कुशल क्षमताका कारणले गर्दा जिप भिरमा खस्नबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा एक्कासी ब्रेक फेल भएपछि दुर्घटना भएको चालक कृष्णबहादुर रिमालले बताउनु भएको छ ।
घट्नाको थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ आश्विन २७, आईतवार १५:१७ गते