काठमाडौँ– निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन हुने मिति घोषणा गरी तयारीमा जुटेको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहमा चुनाव लड्ने तयारीमा जुटेको छ । उक्त निर्वाचनका रास्वपासहितका २५ राजनीतिक दल दर्ता भएको आयोगले असोज २८ गते जारी गरेको सूचनामा उल्लेख छ ।
स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठूलो शक्ति बनेका रास्वपाले स्थानीय तहको निर्वाचनमा भने पहिलो पटक भाग लिन लागेको हो । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो ।
रास्वपाले आउँदो मङ्सिर १६ मा हुने उपनिर्वाचनमा भाग लिएर स्थानीय तहमा पनि बलियो उपस्थिति जनाउने भएको छ । पार्टी सभापति रवि लामिछानेले असोज १ र २ गते काठमाडौँमा आयोजित सो दलको राष्ट्रिय भेलामा दाबी समेत गरिसक्नु भएबाट त्यस्तो प्रष्ट भएको हो ।
४१ पदका लागि हुने उपनिर्वाचन कार्य तालिका ः
निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने र मतदान सुरु हुनुभन्दा अठचालिस घण्टा अगाडि अर्थात् २०८१ मङ्सिर १३ गते राति १२ः०० बजे पछि मौन अवधि सुरु हुने एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । आयोगले स्थानीय तहका विभिन्न ४१ पदका लागि आयोगले उपनिर्वाचन गर्न लागेको जनाएको छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने, सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने छ ।
यसैगरी, मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने अवधि सोही दिनको दिउँसो ३ बजे उपरान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारको नाम फिर्ता लिनका लागि मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय आयोगले तोकेकोेछ । त्यस्तै, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले सूचनामा जनाएको छ ।
उपनिर्वाचनमा भाग लिने २५ राजनीतिक दलहरू ः
निर्वाचन आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उपनिर्वाचनमा भाग लिने रास्वपासहित २५ राजनीतिक दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जसपा, जसपा नेपाल, जनमत पार्टी, राप्रपा नेपाल, नेपाली कांग्रेस बिपी, राष्ट्रिय जनता पार्टी लगायत दलहरू रहेका छन् ।
रास्वपा २०७९ असार ७ गते जन्मिएको पार्टी हो भने असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । सोही कारणले पार्टीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिन पाएको थिएन । तर स्थापना भएको ६ महिना पश्चात् भएको सङ्घीय निर्वाचनमा भने रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ बाँकी सिट गरेर २० सिट जितेको थियो ।
त्यसपश्चात् २०८० साल वैशाखमा भएको उपनिर्वाचनको तीन स्थानमध्ये तनहुँ– १ मा नयाँ एक सिट बढाउँदै रास्वपा २१ सिटको दल भएको हो । सो दलका सभापति रविले उपनिर्वाचनमा चितवन– २ बाट अघिल्लो पटकको भन्दा बढी मत ल्याई विजयी हुनुभएको थियो ।
तथापि २०८१ वैशाखमा भएको इलाम उपनिर्वाचनमा भने रास्वपा पराजित भए पनि अघिल्लो निर्वाचनको तुलनमा भने मत संख्या भने निकै बढाएको थियो । २०७९ को मंसिरमा भएको निर्वाचन सो क्षेत्रबाट करिब १३ मत पाएको रास्वपाले उपनिर्वाचनमा पाँच हजार मत कटाएको थियो ।
रास्वपाका लागि स्थानीय निर्वाचन पनि परीक्षाकै रुपमा रहेकोे आम बुझाइ छ ।
प्रकाशित मिति २०८१ आश्विन २८, सोमबार १७:१९ गते