पोखरा– नेपाली राष्ट्रियताका पृष्ठ पोषक, वरिष्ठ समाजसेवी, कर्णेल, एक सय वर्षीय जे. पि. क्रसलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले प्रतिष्ठानको मानार्थ सदस्यता समर्पण गरेको छ । यहाँ स्थित वडानं १५ को नयाँ बजार स्थित धम्पु निवासमा आयोजित एक कार्यक्रमका बीच उहाँलाई उक्त सदस्यता असोज ३० गते समर्पण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले जे. पि.लाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियोे भने प्रतिष्ठानका अध्यक्ष पहाडीले मानार्थ सदस्यताको प्रमाणपत्र समर्पण गर्नु भएको थियोे ।
मानार्थ सदस्यता ग्रहण गर्दै जे.पि.ले यो सम्मानले आफ्ना लागि खुशी दिएको बताउनु भयो । उहाँले आजको दिन आउला भनेर आफूले कल्पना नगरेको बताउदै यस कार्यले आफूलाई नेपाली हुनुको थप गौरवबोध भएको बताउनुभयो । सो अवसरमा जे.पि.ले धम्पुसँग आफ्नो चारसय बर्ष अघिको सम्बन्ध रहेकोले ऐले भेट भएको उल्लेख गर्नु भएको थियोे । जे.पि.ले त्यस अवसरमा आफू नेपालमा बस्न थालेकोे ६९ बर्ष १० महिना ६ दिन भएको जानकारी दिनु भएको थियोे ।
कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पुले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले प्रतिष्ठानले पहिलो पटक प्रदान गरेको मानार्थ सदस्यता एकसय वर्षका सम्मानित व्यक्तित्वलाई समर्पण गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख गर्नुभयो । उहाँले प्रतिष्ठानले आज थप उचाई प्राप्त गर्न सफल भएको जानकारी दिनु भएको थियोे ।
कार्यक्रम आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले यो बर्षको वडा दशैं प्रतिष्ठान र आफ्ना लागि विशेष भएर आएको अनुभूति गरेको बताउदै एक सय वर्ष पुग्नु भएका अति सम्मानित व्यक्तितब जे.पि.क्रसलाई मानार्थ सदस्यता समर्पण गर्न पाउनु हाम्रो अहो भाग्य हो । उहाँले नेपाल र नेपालीहरुलाई अवर्णनीय गुण लगाउनु भएको छ, जसको व्याख्या गर्ने आफूसंग शब्द नभएको बताउनु भयो । यतिबेला आफूलाई महानेपाली भएको दावी गर्नेहरुले धमाधम नेपाली नागरिकता त्याग्दै विदेशीको गुलाम बन्न रहराई रहेका छन् तर जे.पि.ले बेलायत जस्तो देशको नागरिकता त्याग गरि नेपाली नागरिकता ग्रहण गर्नु अतिनै स्तुतिपूर्ण कार्य भएको छ, जसको जत्तिकै प्रशंसा गाए पनि थोरै हुन्छ भन्नुभयो ।
पहाडीले जे.पि.ले नेपालमा बस्नका लागि पर्यटन नगरी पोखरा रोज्नु, यहाँ बसेर खासगरी मानव स्वास्थ्य, शिक्षा, खेलकुदका साथै मालिक लोककला, संस्कृतिका क्षेत्रमा गर्नु भएको योगदान उच्च कोटीको छ, आज ठाडोभाका लोककला प्रतिष्ठानले जुन उचाई प्राप्त गरेको छ, यसमा पनि उहाँको अप्रत्यक्ष योगदान छ, यो परिवारको सदस्य धम्पुलाई हामीले संरक्षक र महानायकका रुपमा पाएका छौं भन्नुभयो । यश अर्थमा जे.पि. क्रसलाई प्रतिष्ठानको महासंरक्षक समेत मान्न सकिन्छ भन्नु भयो ।
अर्को एक प्रसंगमा उहाँले यतिबेला ठाडोभाकाको मौलिकपन जोगाउने चुनौति प्रतिष्ठानका सामु आएको बताउदै अध्यक्षको क्षमतामा पनि प्रश्न उठाउने काम भएको स्मरण गर्नु भयो । उहाँले यो प्रतिष्ठान भेडीखर्के साईलाको चिन्ता र आफ्नो चिन्तनको उपज भएको स्मरण गर्दै गायकले मात्रै संस्था चलाउने भएको भए २०७२ सालसम्म त पर्खेकै थिएँ किन खोलिएन ? भन्ने प्रश्न गर्दै प्रतिष्ठानमा युवराज घिमिरे जस्तो आसुकवि व्यक्तितब प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भन्नुभयो ।
ठाडोभाकाको मौलिकताका बारेमा प्रष्ट्याउदै पहाडीले हामी हुर्कदै गर्दा भेडीखर्के साहिलाले गाउनु भएको गीत नै वास्तविक ठाडोभाका हो र त्यही भाका बचाउनका लागि यो प्रतिष्ठानको जन्म भएको हो भन्नुभयो । त्यसैले जस्ले जसरी भट्याए पनि, जसरी उफ्रिने, घुम्ने गर्दैमाा त्यो ठाडोभाकाको नाच हुन वा जसरी पनि मादल ठोक्दैमा त्यो ठाडोभाकाको बाध्यवादन हुन नसक्ने पहाडीले ठोकुवा गर्नु भयो । उहाँले ठाडोभाकाका अग्रज अनुज सबै गायक गायिकालाई यो वस्तुगत तथ्यको ख्याल गर्न अनुरोध गर्नु भयो ।
सो अवसरमा मुनाल फिल्मका प्रोपाइटर एवम् रोधिं टेलिभिजनका परिकल्पनाकार भोजबहादुर गुरुङले यो गौरवपूर्ण अवसरमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै जे।पि। क्रसको व्यक्तितब र कीर्तित्वमा प्रकाश पार्नु भएको थियोे ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरेले जे.पि. क्रसको साहित्यिक योगदानका बारेमा प्रकाश पार्नु भएको थियौ । उहाँका २२ कीर्ति प्रकाशित भईसकेको र तीन कीर्ति प्रेसमा रहेको जानकारी दिनुभयो ।
यसैगरी प्रतिष्ठानका कार्यकारी सदस्य कृष्ण केसीले प्रतिष्ठानले गरेका राम्रा र उत्कृष्ट कार्य मध्ये यो पनि एक भएको बताउनुभयो । उहाँले आजका दिनबाट जे.पि. क्रस प्रतिष्ठानमा प्रत्यक्ष जोडिनु भएको छ, यो अवसरका लागि प्रतिष्ठानका संरक्षक सहित सपरिवारमा कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानका कार्यकारी सदस्य रमाराज खनियाले कार्यक्रमको सञ्चालन गर्दै आजको दिन विशेष भएको उल्लेख गर्दै सय वर्षका व्यक्तित्वको हातबाट टीका ग्रहण गर्न पाउनु र जेपि क्रसलाई मानार्थ सदस्यताद्वारा सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउनुभएको थियोे ।
प्रतिष्ठानका आजीवन सदस्य सावित्री शाहीले आजको विशेष दिनलाई यो कार्यक्रमले झनै विशेष बनाएको वताउनु भयो । सबै अग्रजका सहभागी रहको यो कार्यक्रममा सहभागी हुन पाउनु आफ्ना लागि सिक्ने मौका भएको उल्लेख गर्नु भयो ।
आजीवन सदस्यता वितरण :
सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका आजीवन सदस्यहरू आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ती प्रमाणपत्र वितरण गर्नु भएको हो । देवराज गुरुङ, टसबहादुर तमु, हरि रानाभाट तथा रमाना भण्डारीलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको हो ।
सो अवसरमा अमरध्वज गुरुङ, बुद्धिमाया गुरुङ, सावित्री शाही, टस गुरुङ, हरि नाराभाट, रमाना भण्डारी, मीना गुरुङलगायतले ठाडोभाका गायन गर्नु भएको थियो भने भोज गुरुङ, सीता गुरुङ लगायतले नृत्य प्रदर्शन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक १, बिहीबार १३:०३ गते