काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउ काण्डलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित घट्ना भएको बताएको छ । सभापति लामिछाने पक्राउ परे लगत्तै सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गर्नु भएको वक्तव्यमा कार्तिक २ गते साँझ त्यस्तो उल्लेख गरिएको हो ।
सो विज्ञप्तिमा भनिएकोछ, ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ।’ रास्वपाले आफूहरू नडराएको बरु अब परिवर्तनको लडाइँ थप बुलन्द भएको उदघोष गरेको छ ।
यद्यपि सो पार्टीले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको भन्र्दै सभापति लामिछानेलाई गरिएको पक्राउप्रति घोर भर्त्सना गरिएको छ । कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध आफूहरूलाई कदापि स्वीकार्य नभएको, बिना आधार सभापति लामिछानेलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत दाबी सो विज्ञप्तिमा गरिएको छ ।
‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरारमक्स र वाइड बडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौ । तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई बुलन्द भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले देशबासीहरूलाई देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई दशकौँदेखि हुँदै आएको राजनीतिक जालझेलका विरुद्ध उभिन र सचेत रहन समेत आह्वान गरेको छ ।
रविलाई पोखरा लाने क्रममा ठाउँ–ठाउँमा रास्वपाको विरोध :
यसैबीच, पोखराबाट प्राप्त समाचार अनुसार रास्वपाका सभापति रविलाई आज कार्तिक ३ गते बिहान करिब पौने तीन बजे जिप्रका कास्की पु¥याइएर हिरासतमा राखिएको छ ।
रविलाई हिजो साँझ पक्राउ गर्न रास्वपाको केन्द्रीय कार्यालयमा प्रहरी पुग्यो रास्वपाका कार्यकर्ताले बिरोध गर्न सुरु गरेका र सो क्रम जारी रहने भएको छ ।
रविलाई पोखरा लैजाँदै गर्दा धादिङको गल्छी तथा मुग्लिन चोकमा रास्वपा कार्याकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
उता, सभापति रविलाई प्रहरीले नियन्त्रण गर्दै गर्दा रास्वपाको कार्यालयमा ठूलो संख्यामा समर्थक उपस्थिति थियो । रवि पक्राउ पर्दा सरकारविरुद्ध नाराबाजी भए पनि प्रहरीलाई प्रतिवाद गरेनन् ।
सबैलाई राज्यले गरेको यो दादागिरीको डटेर सामना गर्नको निमित्त पनि आग्रह गर्न :
रविद्वारा गिरफ्तारी दिनु अघि सम्बोधन गर्दै भन्नुभयो, ‘मैले भन्नुपर्ने केही पनि छैन । एउटा कुरा भन्न चाहन्छु, यदि उनीहरूले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला, तर हामीले कुनै पनि सम्झौता गरेनौँ ।’
जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, त्यही दिन ’रविलाई जसरी पनि जेल कोच्छौँ चिन्ता नगर्नुस्’ भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मसँग छ । तर, कुनै पनि चिन्ता छैन । व्यक्तिका रूपमा मैले पाउनुपर्ने भन्दा धेरै पाइसकेको छु । तर, अभियानका रूपमा जब देशले एउटा आशा र भरोसा देख्दै थियो त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ, त्यो प्रहारलाई हामी सामना गर्ने छौँ । म कुनै पनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर, यो राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न पनि म अपिल गर्न चाहन्छु ।
उहाँले थप भन्नुभयो, ‘म सम्मानित अदालतप्रति विश्वास गर्दछु । भन्न त यहाँ अदालत मिलाउँला तँलाई कहाँ छोडौँला र ? तँलाई चुनावी लड्न नसक्ने गरी र तेरो पार्टी नफुटाई छाड्दिनँ भन्ने प्रतिशोध साँधेर मान्छेहरू लागेका छन् भन्ने मलाई थाहा छ । तर, ती सबै चिजको सामना गर्ने साहस बोकेर हामी उभिएका छौँ । म व्यक्तिलाई साथ दिनुहोस् भनेर तपाईंहरूसँग अपिल गर्न चाहन्न । तर, अभियानका रूपमा नेपाली जनताले देखेको सपनालाई साथ दिनका लागि अनुरोध गर्न चाहन्छु ।’
र, अन्तिममा यति मात्र भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू मैले कुनै पनि किसिमको अपराध गरेको छैन । अपराध नगर्दा पनि प्रतिवेदनले भन्दा पनि जुन राज्यले सम्पूर्ण शक्ति लगाएर जुन यो कार्य गरेको छ, यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास गरेको छु । तर, पनि न्यायिक प्रक्रियामा म सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिबद्ध भएको जानकारी गराउँछु । यहाँहरू सबैलाई राज्यले गरेको यो दादागिरीको डटेर सामना गर्नको निमित्त पनि आग्रह गर्न चाहन्छु ।
पोखरा जान लागेका रास्वपा समर्थक सवार गाडीलाई जुगेडीमा रोकियो :
यसैबीच, चिवतनबाट प्राप्त समाचार अनुसार रास्वपाका सभापति रवि लामिछानेलाई समर्थन गर्न पोखरा जान लागेका समर्थकहरूलाई प्रहरीले जुगेडीमा रोकेको छ । भरतपुर र आसपासका व्यक्ति सवार गाडीलाई प्रहरीले जुगेडीमै रोकेको खबर छ ।
उता, रास्वपाका उपसभापति डोलप्रसाद अर्यालसहित दर्जनौँ नेताहरू राति नै पोखरा पुग्नु भएको छ । रास्वपाका नेताहरूका अनुसार आज ३ गतेदेखि थप प्रदर्शनका कार्यक्रमहरू बनाइएको रास्वपाका सांसद शिव नेपालीले बताउनु भयो । गए राति लामिछानेको पक्षमा नाराबाजी गर्दै सयौँको संख्यामा नेता कार्यकर्ताहरू पोखरा पुगिसकेका छन् ।
उनीहरूले ‘असली सहकारी ठगहरूलाई कारबाही गर, भ्रष्ट सरकार चाहिदैन, रवि लामिछानेलाई रिहा गर, नडराउनु रवि दाइ जनता तिम्रो साथमा छ’ जस्ता नारा लगाउने काम गरेका थिए ।
प्रकाशित मिति २०८१ कार्तिक ३, शनिबार ०६:०८ गते