पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपि अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको बताउनु भएको छ । लामिछाने पक्राउको विरोधमा यहाँ आयोजित सडक प्रदर्शनमा उहाँले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको कार्तिक ३ गते बताउनु भएको हो ।
’सबै रास्वपातिर लाग्ने भए, ०८४ सम्म सकिने भयौं भनेर रवि लामिछानेलाई पक्राउ गरियो’ उहाँको दावी थियो । यहाँ स्थित मानवअधिकार चोकमा रास्वपाले शक्ति प्रर्दशन गर्दै विरोध गरेको हो । विरोध प्रर्दशनमा केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर प्रर्दशन गरिएको हो ।
अर्यालले सभापतिलाई भेटेको र उहाँ निर्धक्क देखिएको बताउनु भएको थियो । अर्यालले कार्यकर्ताहरूलाई संयम रहन पनि अनुरोध गर्नु भएको छ । अर्यालले भन्नुभयो, ’सभापति ज्यूले नेतृत्व गर्नुभएको अभियानलाई पूर्णता दिनुछ । भर्खरै उम्रदै छौं । गर्न धेरै बाँकी छ । चिमोट्ने, निमोठ्ने र नाश गर्न खोज्ने खेल जनतालाई बुझाउन आवश्यक छ ।’
कसैको राजनीति बचाउनका लागि संसदीय छानबिन समितिले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्न छैन भन्दा पनि उहाँलाई पक्राउ गरिएको उहाँको दाबी थियो ।
’यदि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा रवि लामिछानेको कतै संलग्नता हुन्छ भने नेपालको कम्पनी ऐन आकर्षित हुन्छ, कम्पनी ऐनले हेर्ने हो तर आज के का आधारमा उहाँलाई पक्राउ गरिएको छ ?’ भन्ने प्रश्न गर्नुभयो । उहाँले नितान्त एउटा मात्रै कारण उनीहरूको समाप्ति हुने भयो, अर्को चुनावसम्म आफूहरू नरहने भयो, सबै रास्वपातिर लाग्ने भए। देश निर्माणमा रास्वपा अगाडि बढ्ने भयो । भ्रष्टाचारको अन्त्य गर्ने भयो, भ्रष्टाचारीहरूलाई जेल कोच्ने भए भन्ने डर र त्रासले तर्सिएका छन् उहाँले उल्लेख गर्नु भयो ।
उहाँले आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको र संसदीय छानबिन समितिले समेत सहकारीको रकम ऋण लिएको नभेटेको बताउनु भयो । दुई तिहाइको दम्भका आधारमा पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैसँग उहाँले आग्रह गर्नु भएको थियो ।
काँग्रेसको मत खस्कदो छ र एमालेको मत भरपर्दो छैन :
यसैगरी, उपसभापति स्वर्णिम वाग्लेले काँग्रेसको मत खस्कदो छ र एमालेको मत भरपर्दो नभएको बताउनु भएको छ । उहाँले २०४८ सालमा काँग्र्रेसले २७ लाख ५७ हजार मत पाएकोमा पछिल्लो निर्वाचनमा २७ लाख २३ हजारमा झरेको छ तर मतदाता भने यो अवधिमा ५० लाख बढेका छन् । यसबाट पनि काँग्रेसको स्थिति छर्लङ्ग हुन्छ । त्यस्तै, एमालेले २०४८ सालमा २० लाख मत पाएको थियो ऐले २७ लाख हाराहारीमा छ मत बढेको देखिएता पनि यो भरपर्दो छैन र दुवैपार्टीले पाएको मत करिब ५५ लाख हुन्छ तर मुलुकमा कुल मतदाता संख्या एक करोड ८० लाख रहेको छ त्यसैले त्यो मतलाई के भन्नु हुन्छ ? उहाँले प्रश्न गर्नुभयो । उहाँले मुलुक बाहिर रहनु भएका सबैलाई ८४ को निर्वाचनमा मतदान गर्ने गरी नेपाल फर्कनका लागि आजैदेखि चाजोपाजो मिलाउन समेत आग्रह गर्नु भयो ।
उहाँले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्मा रहेको बताउँदै नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दै अहिले कुशासनको अभ्यास भइरहेको छ ।’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति संकेत गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको समेत सांसद वाग्लेले उल्लेख गर्नुभयो । सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरीबन्धु र शरणार्थीको फाइल लुकाउन लामिछानेलाई पक्राउ गरिएको उपसभापति वाग्लेको जिकिर थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पार्टीका प्रवक्ता मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलसँगै कांग्रेस महामन्त्री गगन थापाको आचरण कस्तो छ ? भन्ने नाङ्गिएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’
संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्बको अपचलन भएको देखाएको बताउँदै त्यसमा जीवी राईले ६ अर्ब रुपैयाँ लिएको र गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाएको र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको भन्दै रास्वपाले ८७ अर्बको कुरा गर्न सरकारलाई भनेको तर सरकार ३ करोडमा अड्किएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो राजनीतिक प्रतिशोध र कुण्ठा हो । कसैको भविष्य र अवसर सुनिश्चित गर्ने, केपी शर्मा ओलीको कुण्ठाको कारण हो ।’
उहाँले रास्वपा एउटा अभियान भएकोले सभापति लामिछानेको पक्राउका कारण केही असर नपर्ने बताउँदै अब राजनीति कस्तो हुन्छ भनेर देखाउने उल्लेख गर्नुभयो ।
रास्वपाको संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । उहाँले यस्तो आन्दोलन अन्य दलहरूको भएको भए तिन्ले ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिने आदि हुन्थ्यो तर रास्वपाले त्यस्तो आन्दोलन गर्दैन, अरू दल र रास्वपामा यही फरक रहेको उहाँले दावी गर्नुभयो । आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न खोजे त्यस्ता व्यक्तिको कठालो समातेर प्रहरीलाई बुझाइने छ यो शान्तिपूर्ण आन्दोलनलाई दबाउने काम नहोस् भन्ने चेतावनी दिनुभयो । उहाँले रास्वपाले गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता नडराउनु पर्ने हो तर डराएको छ उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा सांसदहरू तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतमलगायतले विरोध कार्यक्रममा सम्बोधन गर्नु भएको थियो ।
उनीहरू सबै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रमक देखिएका थिए । प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध पनि रास्वपाका नेताहरू गर्जिएका थिए ।
विरोध प्रदर्शनमा सहभागीले ‘दलाल माफियाहरू होसियार’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘डरायो डरायो– दुई तिहाई डरायो’, नडराउ रवि दाइ– तिम्रो साथमा जनता छ, ‘भ्याट छल्नेहरुलाई कारबाही गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका थिए ।
सो अवसरमा प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलको तस्बिरमा ‘वास्तविक सहकारी ठग’ उल्लेख भएका प्लेकार्ड देखाएर विरोध गरेका थिए ।
काठमाडौं र बीरगञ्जमा पनि प्रदर्शन :
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले काठमाडौंको माइतीघर तथा बीरगञ्वमा विरोध प्रदर्शन गरेको छ ।
प्रकाशित मिति २०८१ कार्तिक ३, शनिबार २२:३५ गते