बेसीशहर– लमजुङमा श्री ३ र श्री ६ को समेत सम्मान पाएका राजगुरु कुश्माखर घिमिरेको योगदानको स्मरण गरिएको छ । संस्कृति विद् प्राध्यापक डा. माधव भट्टराईले उक्त कार्यक्रमको उदघाटन गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न कार्तिक ३ गते माग गर्नु भयो ।
बेसीशहर नगरपालिका– ३ बाहुनबेसीमा राजगुरु श्री ३ कुश्माखर उपाध्यय घिमिरेको पहिलो पटक स्मृति सभाको आयोजना गरिएको हो । सो स्मृति सभा घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान काठमाडौंको संयोजन तथा घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान लमजुङ शाखाको आयोजनामा भएको हो । प्रा.डा भट्टराईले राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रका ज्ञाता, सबै जातजातिलाई समान अवसर प्रदान समावेसी बनाउने काम पनि कुश्माखर घिमिरेले नै गरेको भएपनि त्यस्ता ऐतिहासिक व्यक्तिलाई इतिहासले विर्सिएकोमा दुःख व्यक्त गर्नुभयो । तत्कालीन समयमा श्री ३ र श्री ६ को समेत उपाधी पाउने नेपालको अहिलेसम्मकै इतिहासमा कुश्माखर घिमिरे भएको एक मात्रै व्यक्ति भएको प्रा डा भट्टराईले बताउनु भयो । यस्ता अद्वितीय व्यक्तित्वका धनी उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्नेमा प्रा.डा भट्टराईले जोड दिनु भएको थियो ।
उहाँले राष्ट्रिय झण्डाको परिकल्पनाकार समेत रहनु भएका घिमिरेले लमजुङमा ८ वटा कोटहरूको नामाकारण गर्ने र राष्ट्रिय झन्डामा तिनै ८ वटा कोणहरूमा कोटको प्रतिनिधित्व गर्ने उल्लेख गरेको जानकारी दिनुभयो । लमजुङका ती ८ कोटहरूमा दुराडाँडाको तुर्लुङकोट, राइनासनकोट, तार्कुकोट, बजरकोट, जीताकोट, तान्द्राङकोट, पुरानकोट र याङ्जा कोट हाल कास्की हुन् उहाँले उल्लेख गर्नुभयो ।
प्रा.डा भट्टराईले राष्ट्रिय र धर्म संस्कृति भनेको एउटै सिक्काका दुईवटा पाटा भएकाले मानव जीवनमा अनुशासनमा बस्नु र आफ्नो कर्तव्य पालना गर्नु नै धर्म हो भन्नुभयोे ।
पूर्व राज्यमन्त्री संस्कृतविद्, भागवत वाचिका डा. कान्ता भट्टराईले नारीहरूको सम्मान गर्ने संस्कार र संस्कृतिबारेमा प्रकाश पार्दै ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ भन्दै नारीहरूको प्रशंसा गर्नु भएको थियो ।
विसं. १५१० असोज २७ गते लमजुङको बाहुनडाँडामा जन्मिनु भएका कुश्माकर घिमिरेले विसं १५५० सालमा तत्कालीन राज्यको शासन प्रणालीलाई सहज रुपले सञ्चालन गर्नको लागि कुलमण्डल शाहलाई ल्याएर दुराडाँडाको सिन्दूरे ढुंगामा अबीरजात्रा गर्दै राजा घोषणा गरी राजा बनाई लमजुङको गाउँशहरमा ल्याएर राज्य चलाएको इतिहासमा उल्लेख छ ।
उक्त कार्यक्रममा ८० वर्ष भन्दा माथिको उमेर भएका घिमिरे ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
सो अवसरमा घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य रामप्रसाद घिमिरे, नेपाल ज्योतिष परिषद्का पूर्व अध्यक्ष घनश्याम सुवेदी, विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरे, घिमिरे कुलदेवता गुठीका जिल्ला अध्यक्ष श्रीकान्त घिमिरे, विश्वहिन्दु महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारी लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गर्नु भएको थियो ।
आयोजक प्रतिष्ठान लमजुङ शाखाका अध्यक्ष युवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष अङ्गराज घिमिरेले स्वागत मन्तव्य तथा सो प्रतिष्ठानका केन्द्रीय सदस्य दिपक घिमिरले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक ४, आईतवार १९:५५ गते