दुराडाँडा– लमजुङको ऐतिहासिक थालो दुराडाँडामा चितवनका न्यौपाने बन्धुहरूलाई स्वागत गरिएको छ । दुराडाँडाको धारापानीस्थित कौडिन्य ऋषि आश्रम परिवारले नवनिर्मित कुलायन मन्दिर परिसरमा उहाँहरूलाई कार्तिक ७ गते स्वागत गरेको हो ।
चितवनबाट दुराडाँडा जाने सो टोलीमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा. विजयराज न्यौपाने, न्यौपाने कल्याण समाज नेपालका अध्यक्ष रामहरि न्यौपाने, समाजका प्रमुख सल्लाहकार संयोजक यमुनाप्रसाद न्यौपाने, सल्लाहकार एवम् नेपाल स्काउट एण्ड गाइड फेलोसिप (एनएसजीएफ)का केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपाने, सल्लाहकार भीष्मराज न्यौपाने, इन्जिनियर वलिभद्र न्यौपानेलगायतको प्रतिनिधि मण्डललाई आश्रमले स्वागत तथा सम्मान गरेको हो ।
उक्त स्वागत सम्मान तथा भेटका अवसरमा कौडिन्य ऋषि आश्रम, न्यौपाने समाजका अध्यक्ष श्रीभक्त न्यौपाने, पूर्वअध्यक्ष पूर्णभद्र न्यौपाने, हरिकृष्ण न्यौपाने, जगन्नाथ न्यौपानेलगायतले सो टोलीलाई स्वागत गर्नु भएको थियो ।
सो अवसरमा न्यौपाने समाज स्थापनाको उद्देश्य, कुलायन मन्दिर निर्माणमा सबै वन्धुहरूबाट भएको गतिलो साथ र निस्वार्थ सहयोग तथा न्यौपाने समाजको भावी उद्देश्यबारे गहन छलफल भएको थियो । कुलायन मन्दिर परिसरलाई देशभरकै न्यौपानेहरूको तीर्थस्थलका रूपमा विकास गर्ने हाम्रो सोच रहेको न्यौपाने कल्याण समाज नेपालका अध्यक्ष रामहरि न्यौपानेले उल्लेख गर्नुभयो ।
ऐतिहासिक हलो क्रान्तिको उदगमस्थल एवम् शैक्षिक जागरण, भेडीखर्के साहिँलाले जीवन्त बनाएको ठाडोभाका र देविदत्त न्यौपानेको चुटका तथा बालुमले लमजुङको दुराडाँडा देशकै पश्चिम क्षेत्रका जनजनको मनमष्तिस्कमा गडेर बसेको नाम भएको एनएसजीएफका केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपानेले बताउनु भयो ।
डा. विजयराज, तीर्थराज र भीष्मराज, रामहरि न्यौपानेको मातृभूमि पनि धारापानी नै भएकाले आफूहरू उत्साहित भएको बताउनु भयो ।
विगतमा साविकका ६ वटा गाविसमा र हाल तीन पालिकामा विभाजित गरिए पनि सो क्षेत्र ‘मौजा दुराडाँडा’को नामले परिचित छ । राजनीतिका नाममा विभाजित गरिए पनि ती ६ वटै गाविसका नागरिक आफूहरूलाई ‘दुराडाँडे’ भनेर चिनाउन पाउँदा आजका दिनमा पनि गौरवबोध गर्ने गरेका छन् ।
दुई सय ९० वर्षअघि जुम्लाको सिंजास्थित खाराबाट विद्याधर न्यौपानेको ऐतिहासिक मौजा दूराडाँडालाई थातथलो बनाएर बसोबास गरी हाल चितवनमा झरेका न्यौपाने बन्धुहरूलाई दुराडाँडाको धारापानीस्थित कौडिन्य ऋषि आश्रम परिवारले नवनिर्मित कुलायन मन्दिर परिसरमा स्वागत गरेको हो ।
प्रकाशित मिति २०८१ कार्तिक ८, बिहीबार १९:३३ गते