सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले नगरपालिका क्षेत्रमा अब्बल रहेको सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लि. जिल्ला भरकै अगुवा र मुलुकका लागि नमूना हुन सकोस् भन्ने कामना गर्नु भएको छ । उहाँले उक्त सहकारीको यहाँ स्थित बौद्ध गुम्बाको भवनमा आयोजित १५औं वार्षिक साधारण सभाको उदघाटन मन्तव्य व्यक्त गर्दै कार्तिक ९ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले अधिकांश सहकारीहरू सहकारीका सात सिद्धान्त अनुसार चल्न सकेका छैनन् त्यसैले विवादमा पर्ने र कतिपय सहकारीले बन्द भई बदनाम कमाइरहेका छन् तर सुन्दरबजार सहकारी त्योभन्दा फरक ढंगबाट सञ्चालन भइरहेको र आफ्नै सुविधा सम्पन्न भवनबाट कार्यालय सञ्चालन गर्दै सेयर सदस्यको सेजामा जुटिरहेको बताउनु भयो । उहाँले अब यो सहकारीले उत्पादन मुखी कार्यक्रम सञ्चालन गरोस् भन्ने सुझाव दिनुभयो । उहाँले मुलुकमा तीन थरी सहकारी छन् तीमध्ये यो सहकारी संघ अन्तरगतको हो भन्नुभयो ।
रविको नाम लिदै सरकारको बचाउ :
यसैबीच, आफ्नो मन्तव्यका क्रममा मेयर कोइरालाले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिएकोप्रति सरकारको बचाउ गर्नु भयो । उहाँले आफू मेयर बनेको सबै नगरबासीको साझा व्यक्ति भएको समेत बिर्सदै काँग्रेसको मात्र झोले कार्यकर्ता भएको रुपमा प्रस्तुत हुनुभयो । उहाँले अधिकांश सहकारीले बदनाम कमाएको र ऐले राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुनु अघि सहकारीमा गरेको घोटालामा रविलाई पक्राउ गरेको प्रति सडक आन्दोलन गरेर मुलुकलाई कता लग्न खोजिदैछ ? भन्ने प्रश्न उठाउनु भयो । उहाँले काँग्रेसका खुमबहादुर खड्का, बालकृष्ण खाँड लगायतका नेता पक्राउ पर्दा काँग्रेस चुप रहेको, पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ पर्दा माओवादी मौन रहेको, यस्तै प्रकृयामा आफ्नो नेता गिरफ्ता हुँदा एमालेले समेत सडक नतताएको स्मरण गर्दै रास्वपा चाहिँ किन सडकमा ? भन्ने जिकिर गर्नु भएको थियो ।
तर मेयर कोइरालाले रविलाई सरकारले प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको पुष्टि हुने प्रमाण (क) रविलाई नियोजित रुपमा निरुत्साहित गर्दै गलाएर आत्मसमर्पण गर्न लगाउनका लागि १२५ घण्टा हिरासतमा राख्दा समेत जम्मा चार घण्टा मात्र बयान लिइएको, (ख) रविका भन्दा बढी प्रमाण छताछुल्ल भएका काँग्रेस नेता धनराज वागमती प्रदेशको सरकारले र एमाले नेता ऋषिकेशको कोशी प्रदेशले बचाउँ गर्दै उनीहरू बाहेकको हकमा अन्यलाई सहकारी ठगीका अनुसन्धान गर्न प्रहरीलाई निर्देशन गरिएको, (ग) संसदीय समितिले सहकारीमा दोषि देखिएन भन्ने प्रतिवेदन पेश गर्दागर्दै पनि त्यहाँको रकम टेलिभिजनमा लगेर खर्च गरेर घोटाला गरेको भन्ने अतिरञ्जित अभियोग लगाएर प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको बारेमा भने केही बोल्न मेयर कोइरालाले आवश्यक ठान्नु भएन ।
सो कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङले सहकारी अभियानको बारेमा जानकारी गराउँदै नीति, नियम, सिद्धान्तका परिधि बाहिर गएर सञ्चालन गरिएका सहकारीहरूमा मात्र समस्या देखिएको बताउनु भयो । सहकारीका सात सिद्धान्त अवलम्बन गर्ने सुन्दरबजार सहकारी जस्ता संस्थामा आजका दिनमा पनि कुनै समस्या नरहको उहाँले उल्लेख गर्नुभयो । उहाँले यो सहकारीबाट अन्य सहकारीका सञ्चालकहरूले सिक्नु पर्नेमा जोड दिनुभयो ।
उक्त सहकारी संस्थाका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा सञ्चालन भएको सो वार्षिक साधारण सभामा सो नगरपालिका– ६ का अध्यक्ष दिनेशबाबु कोइराला, लउवा संघ सुन्दरबजार इकाईका अध्यक्ष आनन्दलाल श्रेष्ठ, रेडक्रसको सुन्दरबजार शाखाका सभापति निर्मल केसी, दिपज्योति सहकारी संस्था सोतीपसलका अध्यक्ष धु्रवराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त सहकारीका अध्यक्ष उत्तम गुरुङले केही गलत नियत भएका व्यक्तिले सञ्चालन गरेका सहकारीका कारणले आफूजस्ता सञ्चालकहरूलाई अप्ठेरो परेको उल्लेख गर्नुभयो । तर पनि आफूहरूको कुशल व्यवस्थापन र सदस्यहरूको माया र सहयोगका कारण संस्था निर्विवाद रुपमा अघि बढ्न सफल भएको स्मरण गर्नुभयो । उहाँले यो साधारण सभाले संस्थालाई अघि बढ्नका लागि थप प्रेरणा र मार्ग निर्देश गर्ने जानकारी दिनुभयो ।
यसैगरी, संस्थाका कोषाध्यक्ष कप. जितबहादुर गुरुङले चालु आव २०८१/८२ को अनुमानित आयव्यय प्रस्तुत गर्नु भएको थियो । उहाँले सेयर पूँजी ६५ लाख ६१९ रुपैयाँबाट बढाएर ७० लाख पुर्याउने, निक्षेप संकलन ६० करोड, जगेडाकोष दुई लाख २० हजार रुपैयाँ पुर्याउने जानकारी दिनुभयो । त्यस्तै, ऋण लगानी ४१ करोड ५० लाख ९५ हजार ३५० बाट बढाएर ५० करोड पुर्याउने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभएको थियो ।
त्यस्तै, सभामा संस्थाका प्रवन्धक नेत्र गुरुङले संस्थाको प्रगति प्रतिवेदन तथा नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीमा आवद्ध भएको आफ्नो १५ वर्षको अनुभव सुनाउँदै आफूहरू सहकारीका सात सिद्धान्तमा प्रतिवद्ध रहेको जानकारी दिनुभयो । सहकारीका प्रति उठेका प्रश्नलाई आफूहरूले चुनौतिका रुपमा लिएको र त्यसलाई अवसरमा बदल्न प्रयासरत रहेको उल्लेख गर्नु भयो । उहाँले अहिले सहकारीमा सुनिएको चुनौतिपूर्ण कुराहरू २०६६ सालदेखि नै सुनिदै आएको स्मरण गर्दै चुनौति हिजो पनि थियो, आजका दिनमा पनि छ र भोलिका दिनहरूमा पनि यो रहिरहने चिज हो तर यसलाई हाम्रो सीप, क्षमता एवम् असल व्यवस्थापनले अवसरमा परिणत गर्नु पर्छ हामी त्यो प्रयासमा जुटिरहेका छौं भन्ने जानकारी दिनुभयो । उहाँले हालको मन्दी एवम् चुनौतिपूर्ण अवस्थामा पनि यो वर्ष १२ प्रतिशत बोनस वितरण गर्न सुन्दरबाजर बहुउद्देश्यीय सहकारी संस्था सक्षम रहेको सगर्व जानकारी दिनुभयो ।
सो अवसरमा उत्कृष्ठ बाल बचतकर्ताहरू ३३ जनालाई उपहार सहित सम्मान गरिएको थियो ।
यसैगरी, कार्यक्रममा लालीगुँरास अंग्रेजी स्कूलका बालबालिकाहरूले राष्ट्रिय झण्डा बोकेर राष्ट्रवादी गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए भने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका आजीवन सदस्य एवम् कवि लक्ष्मीप्रसाद मिश्रले झ्याउरे शैलीको शुभकामना कविता वाचन गर्नु भएको थियो ।
ठाडोभाकामार्फत मनोरञ्जन :
उक्त अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कलाकारहरूले ठाडोभाका गाएर साधारणसभाका सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । गीत गायन तथा नृत्य प्रदर्शन गर्नेहरूमा गायनतर्फ प्रतिष्ठानका कार्यकारी सदस्य एवम् वरिष्ठ आजीवन सदस्य राधा भण्डारी, कार्यकारी सदस्य एवम् आजीवन सदस्य नवीन बरालले गायनको नेतृत्व गर्नु भएको थियो । गीत छोप्ने कार्यमा प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ आजीवन सदस्य नवराज पहाडी, कार्यकारी सदस्य एवम् आजीवन सदस्य मीना गुरुङले साथ दिनु भएको थियो । त्यस्तै गायन कार्यमा प्रतिष्ठानका आजीवन सदस्य बुद्धिमाया गुरुङ एवम् गायक विष्णुभक्त अधिकारीले साथ दिनु भएको थियो ।
यसैगरी, बाध्यवादनमा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् आजीवन सदस्य देवराज गुरुङ, स्कूले जीवनदेखि मादलेका रुपमा परिचित वाध्यवादक व्यक्तित्व तुलाराम गुरुङले बाध्यवादनमा सहयोग गर्नु भएको थियो । त्यस्तै, नृत्यतर्फ प्रतिष्ठानका आजीवन सदस्य एवम् संस्थापक महासचिव सुकमाया गुरुङ, प्रतिष्ठानका कोषाध्यक्ष एवम् आजीवन सदस्य सीता गुरुङ, बयोबृद्ध कलाकार सुन्दरबजार निवासी चन्द्रबहादुर गुरुङ तथा सुन्दरबजारकै बुद्धिप्रसाद गुरुङले समेत नृत्यमा सहयोग गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक ९, शुक्रबार २२:१३ गते