काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध साध्न गरिएको गिरफ्तारीका विरुद्धको आन्दोलनलाई निरन्तरता दिने र सोही कारण महाधिवेशनका सन्दर्भमा सञ्चालन गर्न तय गरिएका जिल्ला भेलासहितका कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । रास्वपाको केन्द्रीय समितिको कार्तिक १० गते सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टी सभापति रविको रिहाइको माग गर्नुका साथै विभिन्न पाँच निर्णय गरेको सो पार्टीका काबा प्रवक्ता मनिष झाले बतनउनु भयो । बैठकपछि उहाँद्वारा जारी प्रेस विज्ञप्तिमा त्यस्तो उल्लेख छ । प्रस्तुत छ, उक्त वक्तव्यको बुँदागत विवरणः
१) पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्दछ ।
२) राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने ।
३) आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने । राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने । सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने ।
४) स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिइयो ।
५) पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरु, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने ।

प्रकाशित मिति २०८१ कार्तिक ११, आईतवार ०८:०१ गते