लिस्वन(पोर्चुगल)– यहाँ स्थित Nepalese women assistiation in portugal को दशौँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । यस संस्थाको दशौं बार्षिक साधारण सभा एक समारोहको बीच कार्तिक ११ गते तद अनुसार अक्टोबर २७ मा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप उपसंयोजक रोबोट लिम्बुले प्रमुख अतिथ्यता ग्रहण गर्नुभएको थियो । उहाँले भन्नुभयो NRN को विवादको लागि दुवै पक्ष संयमित रहन आग्रह गर्नुभयो । कुनै राजनीतिक आग्रह पूर्वाग्रह नभएर राजनीतिक हस्तक्षेप नभएमा अबको चार महिना भित्र पोर्चुगलमा नेपाली राजदूत आउन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले महिलाहरूको एकता कमजोर हुन नदिनेमा सबै एकजुट हुनुपर्नेमा जोड दिदैँ उक्त संस्थाले गरेका विभिन्न गतिविधिहरूको खुलेर उहाँले प्रशंसा गर्नु भएको थियो ।

सो अवसरमा कार्यक्रममा उपस्थित विभिन्न सङ्घसंस्थाका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो क्रममा लमजुङ समाज पोर्चुगलका सहसचिव विश्वविनोद घिमिरेले आफ्ना धारणा व्यक्त गर्नुहुँदै महिलाहरूका समस्या तथा सिप अभिवृद्धि गर्ने लगायतका कार्यको प्रशंसा गर्दै उक्त कार्यमा सरिक हुनुहुने यस संस्थका सदस्य तथा पदाधिकारीहरूलाई कृतज्ञता व्यक्त गनु भएको थियो ।
यसका साथै बाग्लुङ समाजका सचिव गोविन्द कडेलले नेपालीहरूले पछिल्ला दिनहरूमा पोर्चुगलमा आएर पासपोर्ट पुलिस रिपोर्ट लगायतका विषयमा पाएको दुःख सम्बन्धीका बारेमा औल्याउनु भएको थियो । संस्थाका सल्लाहकार सरिता शर्माले संस्थाको विगतको अप्ठ्यारो दिनको स्मरण गर्दै आफ्नो भनाइहरु राख्नुभएको थियो । पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल, मोर्चाका महासचिव प्रदिप अधिकारीले आ–आफ्ना भनाइ राख्नुभएको थियो । उहाँहरूले अहिले नेपालीहरुले पासपोर्ट लगायतका विषयमा भोगिरहेको समस्या र पोर्चुगलका तत्कालीन राजनीतिक मुद्दाका बारेमा प्रकाश पार्नु भएको थियो । यसका साथै प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्रीले समाजको वैचारिक नाम सेवामुखी भएको तर सहयोगको भावना कम हुँदै गएको अनुभुती भएको बताउनु भएको थियो तर यस संस्थाले सामाजिक कर्तव्य पूरा गर्ने काम गरेको बारेमा प्रशंसा गर्दै समाजमा विखण्डन हुनु यहाँको नेपाली समाजको दुर्गति हुन सक्ने बारे सचेत गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि पूर्व आइसिसी सदस्य नरेन्द्र हमालज्यूले पनि उक्त कार्यक्रममा आफ्ना भनाइहरु व्यक्त गर्नुभएको थियो । गैर आवासीय नेपाली सङ्घ एनआरएन अध्यक्ष उमेश खड्काले आफ्नो भनाइहरु व्यक्त गर्दै राज्यले राजस्व उठाएर हजारौं नेपालीका पासपोर्ट अडकाएको बारेमा व्यङ्ग गर्नुभएको थियो ।

हाल पोर्चुगलमा कन्सुलर सेवा उपलब्ध नभएको कारण १० युरोको पुलिस रिपोर्टलाई १५० भन्दा बढी खर्च भएको देखिन्छ । यसले झन्डै १० हजार नेपाली प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित भएको पाइन्छ । एनआरएनमा हाल बाहिर देखिएको विवाद जस्तो भित्र नरहेको उहाँले जिकिर गर्नु भएको थियो ।
यसैगरी, Nepalese women assistiation in portugal की पूर्वअध्यक्ष तथा सल्लाहकार माया खरेलले सबै नेपालीले सामाजिक उत्तरदायित्व लिने हो भने सम्पूर्ण नेपालीको समस्या आफै समाधान हुनेमा जोड दिनुभएको थियो । यस्तै संस्थाका संस्थापक अध्यक्ष निर्मला ढकालले महिलाका आन्तरिक समस्यालाई समाधान गर्नको लागि यो संस्थाको जन्म भएको बारेमा प्रष्ट पार्नुभएको थियो । महिलाका लागि महिला भन्ने मूल नाराका साथ यस संस्थाले स्थापनाकालिन इतिहासको स्मरण गर्नु हुँदै विभिन्न कार्यहरू गर्दै आएको बताउनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै शान्ति अर्याल अधिकारीले लैङ्गिक विभेद गाली बेइज्जती यौन शोषण श्रम शोषण विरुद्ध महिलाको आवाज बुलन्द गर्ने कार्यमा संस्था रहिरहेको र संस्था कुनै पनि कुरामा नचुक्ने बताउनुभएको थियो । संस्थाका तर्फबाट संस्थाका सदस्य रेणु परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको वार्षिक प्रतिवेदन सारा बर्ताैलाले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवी घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
महिलाका विभिन्न विषयमा आवाज बुलन्द गर्ने उद्देश्यले लैङ्गिक हिंसा यौन हिंसा श्रम शोषण आदिका विरुद्ध आवाज उठाउने साहित्यिक सिर्जना मार्फत समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले सन् २०१४ मा स्थापना भएको यस संस्थाको आज एक समारोहको बीच साधारण सभा सम्पन्न भएको हो ।
यस संस्थाले महिला लक्षित विभिन्न कार्यक्रमहरू पोर्चुगलमा सञ्चालन गर्दै आएको छ । जसमा सिपमूलक ब्युटिसियन तालिमदेखि महिला नेतृत्वका विभिन्न क्रियाकलापहरू सञ्चालन गरेको जानकारीमा आएको छ । यस बाहेक तीजमा सम्पूर्ण चेलीहरूलाई एकै ठाउँमा उपस्थित गराएर तीज मनाउने कार्यक्रम सञ्चालन गर्दै आएको यस संस्थाले विगतका वर्षमा तिहारको बेला देउसी भैलो कार्यक्रम पनि सञ्चालन गर्दै आएको पाइन्छ । यस्तै पोर्चुगलमा बसेर कामको सिलसिलामा मृत्युवरण गर्ने नेपालीहरूको सव्यवस्थापनको लागि पनि यस संस्थाले उत्तिकै महत्वपूर्ण भूमिका खेलिरहेको पाइन्छ ।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लोक तथा दोहोरी गायिका कलापंगेनीले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ कार्तिक १२, सोमबार २०:०४ गते