वालिङको शिक्षा क्षेत्र अस्तव्यस्त, विचौलियाका कारण जनप्रतिनिधि विवादमा

वालिङको शिक्षा क्षेत्र अस्तव्यस्त, विचौलियाका कारण जनप्रतिनिधि विवादमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक १५ गते बिहिबार ०४:२३

शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन समेत कानुनी बन्देज रहेको अवस्थामा वालिङ नगरपालिकामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेकपा ऐमालेको जिल्ला सचिवालय सदस्य नगर शिक्षा समितिमा रहनुले शिक्षा क्षेत्र राजनैतिक चंगुलबाट फत्कन नसकेको गुनासो नगरवासीको रहदै आएको छ ।

शिक्षक सरुवा विवाद शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभागसम्म पुगेको छ ।

स्याङ्जा– मुलुकभरको जस्तै वालिङ नगरपालिकाको शिक्षा क्षेत्र पनि अस्तव्यस्त भएको छ । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एकपछि अर्को शैक्षिक विवादमा तानिएको खुलासा हुँदै आएको छ ।
शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन समेत कानुनी बन्देज रहेको अवस्थामा वालिङ नगरपालिकामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेकपा ऐमालेको जिल्ला सचिवालय सदस्य नगर शिक्षा समितिमा रहनुले शिक्षा क्षेत्र राजनैतिक चंगुलबाट फत्कन नसकेको गुनासो नगरवासीको रहँदै आएको छ ।
शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको विषय सेलाउन नपाउदै गैहकानुनी हिसावले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुनः विवादित बन्न पुगेको हो ।
‘घरगाउँमा सिंहदरबार’का रुपमा रहेका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि सिर्जिएको मात्र छैन, जनप्रतिनिधिहरूको विश्वासप्रति नै बितृष्णा उत्पन्न गर्ने काम भएको छ ।
शिक्षक सरुवा गैह्रकानुनी :
घटना गत असोज १३ गतेको हो । वालिङ नगरपालिका– ५ स्थित महेन्द्र माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक अर्जुन पोख्रेल र रणविर जनहित माविका माध्यमिक तहका स्थायी शिक्षक कमल लम्सालको सरुवा गैह्रकानुनी भन्दै विवादित बनेको छ ।
वालिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख र रणविर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीको मिलेमोतोमा गरिएको सरुवाको विवाद चुलिदै चुलिदै अहिले वालिङमा मात्र नभइ शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभागसम्म पुगेको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रणविरका प्रअ लक्ष्मीप्रसाद रेग्मी वालिङ नगर शिक्षा समितीका सदस्य समेत हुन् । आफू अनुकुलको शिक्षक सरुवा गरी आफू कार्यरत विद्यालयमा ल्याउन योजना बनाएका रेग्मीले शिक्षा शाखा प्रमुख काफ्लेलाई प्रभावमा पारेपछि काफ्लेले समितिका वहुमत सदस्यलाई हस्ताक्षर गराएर सो कार्य गरेको बुझिएको छ । समितिको वैठकनै नबसी घरघरमा गएर हस्ताक्षर गर्न लगाएको शिक्षा समितिका एक सदस्यले स्विकार गरेका छन् । आफूहरूलाई पूर्णरुपमा प्रक्रिया मिलेको भन्दै हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् । दुवै विद्यालयको सहमतीमा सरुवा भएको भनेर हामीलाई फसाईयो उनले टेलिफोन सम्वादमा भने ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार दिएको छैन् । वालिङमा गरिएको यो सरुवा शिक्षक सरुवा निर्देशिका २०८१ अनुसार गरिएको भनिए पनि निर्देशिकामा उल्लेख गरिएका कुनै प्रक्रिया अवलम्वन नगरिएको स्रोतको भनाइ छ । निर्देशिकामा दरवन्दी मिलान गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । दरवन्दी मिलान शैक्षिक सत्र सुरु हुनभन्दा अगावै वा सुरु हुनासाथ पालिकाभर एक साथ गर्नुपर्ने उल्लेख गरेको छ । व्यक्ति मिलान सरुवालाई दरवन्दी मिलानको अपव्याख्या गरेर सरुवा गरेपछि गैह्रकानुनी सरुवाको आरोप लगाइएको हो ।
उक्त सरुवामा रणविरको व्यवस्थापन समितिको सहमती नगरी सरुवा गरिएको थियो भने महेन्द्र मा.वि.मा चाडवाडमा प्रअ रिक्त हुँदा तलव खुवाउन नसकिएको विशेष परिस्थिति भन्दै सरुवा गरिएको शिक्षा शाखाले जनाएको छ ।
कानुन विपरितको सरुवा : व्यवस्थापन समितिको अंकुश :
रणविर जनहित मा.वि.का शिक्षक लम्साललाई महेन्द्र मा.वि.मा सरुवा गरेपछि उनको ठाँउमा ल्याइएका रेग्मी अनुकुलका पोख्रेललाई हाजिर नगराउन रणविर पक्षका ६ जना व्यवस्थापन समितिका सदस्यहरूले नगरपालिकामा उजुरी दर्ता गरेका छन् ।
शिक्षक सरुवा सम्वन्धी निर्देशिका २०८१ मा गलत कागजात पेश गरी वा सरुवा प्रति गुनासो आएमा सम्वन्धित अधिकारी समक्ष सरुवा बदर गर्न निवेदन दिन सकिने र ७ दिन भित्र निवेदन उपर कारवाही गर्ने प्रावधान समेत उल्लेख गरेको छ ।
विचौलिया हावी :
स्थानीय सरकार सञ्चालनमा कानुन विपरित काम गर्न गराउन विचौलिया सधै हावी हुँदै आएका छन् । वालिङ नगरपालिकाको पछिल्लो विवादित सरुवामा पनि शिक्षक संघ र संगठनका नाममा समितिमा पुगेको हुँदा ऐन र कानुनको गलत व्याख्या गरेका कारण सरुवा विवादित बन्न पुगेको हो ।
नगरपालिका भित्र शिक्षक नियुक्ति र सरुवामा यिनै संघ र संगठन सधै विचौलियाका रुपमा हावी हुने गर्दा शैक्षिक क्षेत्र सदैब विवादमा आइरहेको छ । वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले यो विवादित सरुवा वदर गर्न तयार हुँदा शिक्षा शाखा प्रमुख र तिनै शिक्षक संघ र संगठनवाट अवरोध आएको कार्यालय स्रोतको दावी छ । स्रोतका अनुसार शिक्षकलाई राजनैतिक दलको सदस्यता लिन समेत कानुनी बन्देज रहेको अवस्थामा वालिङमा भने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेकपा ऐमालेको जिल्ला सचिवालय सदस्य नगर शिक्षा समितिमा रहनुले शिक्षा क्षेत्र राजनैतिक चंगुलबाट उफुत्कन नसकेको गुनासो नगरवासीको रहदै आएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक १५, बिहीबार १६:२३ गते
हजुरको प्रतिक्रिया