काठमाडौँ– नेपालका सात राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् भने एक राजनीतिक दल खारेज भएको छ । निर्वाचन आयोगले गत असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको कार्तिक १६ गते खुलासा भएको हो ।
आयोगले दिएको निर्देशन पश्चात् सात राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका हुन् । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता भएका दलहरूलाई नाम परिवर्तनका लागि निर्देशन दिइएको थियो । तीमध्ये आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
आयोगको गत फागुन ३ गते सम्पन्न बैठकले १९ वटा राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको थियो ।
नाम परिवर्तन गर्ने राजनीतिक दलहरूमा नेपाल खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपाल रहेको आयोगले जनाएको छ ।
ती पार्टीहरूले क्रमशः नाम परिवर्तन गरेर राष्ट्रिय साझा पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल राखेको आयोगको भनाइ छ ।
निर्देशन दिइएका दलहरू मध्ये मुस्कान सेना नेपाल पार्टी, चुरे भावर लोकतान्त्रिक पार्टी, मधेस तराई फोरम, मधेसी जनअधिकार फोरम मधेस, शिव सेना नेपाल, खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, राष्ट्रवादी युवा मोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन लगायत दलले नाम परिवर्तन नगरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा नामक राजनीतिक दलको दर्ता खारेजी गरिएको छ । यसैगरी, आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय साझा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत १३ दलको विवरण हेरफेर र संशोधन गरेको जनाएको छ । प्रतिवेदन अनुसार आयोगमा ११९ वटा राजनीतिक दल दर्ता भएका छन् ।
राष्ट्रपति पौडेल समक्ष आयोगले बुझाएको प्रतिवेदनमा लेखिएको छ, ‘निर्वाचन आयोगको मिति २०८० फागुन ३ को बैठकको निर्णयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा कायम रहेका १९ वटा राजनीतिक दलहरूलाई दलको नाम नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप भएको नदेखिएकोले नाम परिवर्तन गर्न निर्देशन दिइएकोमा देहायका राजनीतिक दलहरूबाट दलको विधान बमोजिम केन्द्रीय समितिबाट निर्णय गरी दिइएको निवेदन तथा संलग्न कागजातको जाँचबुझ गरी राजनीतिक दलको नाम संशोधन गरिएको छ ।’
प्रकाशित मिति २०८१ कार्तिक १६, शुक्रबार १९:२० गते