लमजुङ– सशस्त्र प्रहरी बल नेपाल अश्रित गुल्म लमजुङद्वारा छैटौँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । आन्तरिक रुपमा विविध गतिविधिका साथ औपचारिक कार्यक्रमका साथ स्थापना दिवस कार्तिक १६ गते मनाइएको हो ।
स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले आन्तरिक प्रतियोगिताका अतिरिक्त रक्तदान कार्यक्रम, धार्मिक महत्वका सम्पदा सरसफाई लगायतका कार्यक्रमहरू गरेको थियो । सशस्त्र प्रहरी वल नेपाल ४ नम्वर मुक्तिनाथ बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङको प्रमुख अतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक नेम्वाङले उपलब्ध श्रोत र साधनको समुचित प्रयोग गर्दै सशस्त्र प्रहरीले समुदायमा शान्ती, सुरक्षा, विपद व्यवस्थापन लगायत सामाजिक विकासका लागि इमान्दारीपूर्वक कर्तव्य पालना गर्दै आएको बताउनुभयो ।
उहाँले भौगोलिक विकटता र पर्याप्त श्रोत साधन नहुँदा काममा कठिन भएपनि सशस्त्र प्रहरीले राज्यले निर्देशित गरेको प्रचलित कानुनको अधिनमा रहि आफ्नो क्षमता र बौद्धिकताले भ्याएसम्म समाजमा सकरात्मक प्रभाव पार्नेगरी गतिविधी गरेको उल्लेख गर्नुभयो ।
यसैगरी, लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले समग्र जिल्लाको शान्ती सुरक्षामा सशस्त्र प्रहरीको सहकार्य प्रशंसायोग्य रहेको बताउनु भयो । प्रजिअ गुरुङले शान्ति सुरक्षा र विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको विशेष भुमिका रहेको भन्दै आगामी दिनहरूमा पनि कार्यसम्पादनलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
सा अवसरमा कार्यसम्पादनको आधारमा तीनजना सशस्त्र प्रहरीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने उत्कृष्ट सशस्त्र प्रहरीहरूमा हवल्दार दिनेश खनिया, सशस्त्र प्रहरी जवान विष्णु पाण्डे र सशस्त्र प्रहरी परिचर यमकुमारी अर्याल हुनुहुन्छ ।
यसैगरी, सो क्रममा सशस्त्र प्रहरीको संरचना निर्माणमा सहयोग गरेकोमा मस्र्याङदी गाउँपालिका र स्थापना दिवसकै अवसरमा आयोजित स्वास्थ्य शिविरमा सहयोग गरेकोमा लमजुङ अस्पताललाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न समयमा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा अमर सशस्त्र प्रहरी जवान कृष्णकुमार तामाङका बुबा नरजंग तामाङ, आमा धनमाया तामाङ, अमर सशस्त्र प्रहरी जवान रामबहादुर सार्कीका दाजु जयबहादुर सार्की हुनुहुन्छ ।
त्यस अतिरिक्त सशस्त्र प्रहरी लमजुलले स्थापना दिवसको अवसरमा आयोजना गरेको विभिन्न आन्तरिक प्रतियोगिताका विजेताहरूलाई पनि प्रमाणपत्र प्रदान भएको थियो । आन्तरिक प्रतियोगिता अन्तर्गत हाजिर जवाफ प्रतियोगितामामा बिजेता सशस्त्र प्रहरी हवल्दार धिरेन्द्र बहादुर शाही, हवल्दार प्रेमराज भुषाल, सहायक हवल्दार केशरी कुँवरले प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी ३२ सय मिटर दौड प्रतियोगिताको बिजेता सशस्त्र प्रहरी जवान सुनिल कुमार क्षेत्री, घैटो फुटाउने प्रतियोगिताको विजेता सशस्त्र प्रहरी हवल्दार भेषबहादुर खड्का, हतियार ह्याण्डलीङ प्रतियोगिताको बिजेता सशस्त्र प्रहरी हवल्दार दिपक क्षेत्रीलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।
गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक पुरीले धन्यवाद मन्तव्य राख्दै राज्यले निर्दिष्ट गरेको कानुन, माथिल्लो निकायबाट प्राप्त निर्देशन र जिल्लास्थित सुरक्षा समितिको समन्वयमा आवश्यकता अनुसार कार्यसम्पादन गर्दै आएको बताउनुभयो । प्रनाउ पुरीले सशस्त्र प्रहरी आफ्नो कर्तव्य पालनका लागि जहिले पनि तयार रहेको भन्दै आगामी दिनहरूमा पनि निर्देशन र समन्वयमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२०७५ सालमा तत्कालिन मन्त्रीपरिषदले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी रहने निर्णय गरे बमोजिम सोही वर्षको कार्तिक १६ गतेबाट लमजुङमा पनि सशस्त्र प्रहरीको आश्रित गुल्म स्थापित भएको हो । हाल तनहुँको भानुस्थित सशस्त्र प्रहरी गणको आश्रयमा रहेको सो गुल्म तत्कालिन भुसंरक्षण कार्यालयको भवनमा रहेको छ ।
सशस्त्र प्रहरीले स्थायी व्यवस्थापनको लागि बेसीशहर– ३ अन्तर्गत भोगचलनका लागि जग्गा प्राप्ति गरेसँगै भवन निर्माणको प्रक्रिया पनि अघि बढाएको जनाएको छ । सशस्त्र प्रहरीले स्थापना कालदेखिनै जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अपराधिक गतिविधी नियन्त्रण, विपद व्यवस्थापन तथा उद्धार, निर्वाचन सुरक्षा लगायत विभागीय निर्देशन अनुरुपको काम गर्दै आएको छ ।
उक्त अवसरमा नेपाली सेना चण्डिप्रसाद गणका गणपती चित्रकुमार कार्की, सशस्त्र प्रहरी गण भानुका गणपती सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव, पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायत जिल्लाका विभिन्न कार्यालयका प्रमुख एवम् संचारगृहका प्रमुखहरूको बिशेष उपस्थिति थियो ।
प्रकाशित मिति २०८१ कार्तिक १७, शनिबार ०७:१८ गते