बेसीशहर– लमजुङ प्रहरीले पौने तीन लाख रुपैयाँ र कौडासहित १० जना जुवाडेलाई रङ्गे हात पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, लमजुङले जिल्लाको बेसीशहर नगरपालिका– ३ गाउँशहर काउलेपानी गाउँबाट कार्तिक १७ गते राती पक्राउ गरिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको बिशेष टोलीले ती जुवाडेहरूलाई पक्राउ गरिएको हो । लमजुङ बेसीशहर नगरपालिका– ३ गाउँशहर काउलेपानी स्थित कबिन्द्र गुरुङले सञ्चालन गरेको काउलेपानी सामुदायिक होमस्टे(घरबास कार्यक्रम)मा हार जितको बाजी राखी जुवा(कौडा) खेल्दै गरेका १० जनालाई फेलापारी रितपुर्वक खानतलासी लिई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार निजहरूले खेल्दै गरेको जुवाको खालबाट नगद २ लाख ७२ हजार ३ सय ३५ रूपैयाँ र कौडा थान १५ सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
सो जुवाको खालबाट पक्राउ पर्नेमा बेसीशहर बजार क्षेत्रका चारजना पक्राउ परेकोमा एक नेतासमेत रहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक १७, शनिबार १७:४२ गते