वासिङटन डिसी– प्रजातन्त्र, मानवअधिकार र विकासको जननी भूमि अमेरिका शक्ति र सम्पत्तिमा संसारमा उन्नाइसौं शताब्दीदेखि नै सबैभन्दा अगाडि रहँदै आएको छ । त्यसैले एउटा महाशक्ति राष्ट्रमा हरेक चार वर्षमा हुने नयाँ राष्ट्रपतिको चुनाव यो मानव समाजको दुनियाँमा हुने सबैभन्दा ठूलो मध्येको महत्व बोकेको, ध्यान खिच्ने र हल्ला हुने एउटा राजनैतिक गतिविधि हो । यो यति प्रभावशाली छ कि ह्वाइट हाउस प्रशासनले लिने एउटा निर्णयले विश्वभरि तरङ्ग पु¥याउने गर्छ । पर्सी कार्तिक २० गते अर्थात नोभेम्बर ५ मा हुने राष्ट्रपतिको चुनावतिर संसारको चासो हुनु स्वाभाविक हो ।
अमेरिकी इतिहासमा पहिलो उच्च अफिसियल ओहोदा बनाइसकेकी नरम, भद्र, हँसिली स्वभावकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिकी जनताले जिताए भने पहिलो महिला राष्ट्रपतिको बिल्कुलै नयाँ इतिहास बन्नेछ । चार करोड बीस लाख भन्दा धेरै अश्वेत अमेरिकीहरूको भोटले ह्यारिसमाथि यो इतिहास रच्ने या नरच्ने खास ‘क्याटलिस्ट’को काम गर्नेछ भने अर्कातिर कट्टर श्वेतहरूको भोटले ट्रम्पलाई ।
आखिर के छ त अहिलेको चुनावी माहोल ? को बन्ला त अमेरिकाको राष्ट्रपति ? विश्वमा कस्तो प्रभाव पर्ला ? त्यसबारेमा विश्लेषणको प्रयास गरिएको छ ।
राष्ट्रिय मतसर्वेक्षणमा कसको अग्रता ?
कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालियो । उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन् ।
तलको तालिकाले ह्यारिस र ट्रम्पले पाएको समर्थन देखाउँछ । यसमा प्रतिशतलाई दशमलवमा नभई नजिकैको पूर्ण सङ्ख्यामा प्रस्तुत गरिएको छ ।
निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन् ।
तर सेप्टेम्बरको पूर्वार्धदेखि दुई उम्मेदवारहरूप्रति समर्थन व्यक्त गर्ने मतदाताको सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। सेप्टेम्बर १० मा ह्यारिस र ट्रम्पबीच भएको बहसपछि पनि त्यसमा ठूलो परिवर्तन देखिएको छैन । टेलिभिजनबाट प्रत्यक्ष प्रसारित उक्त बहस सात करोड मानिसले हेरेका थिए ।
विगत केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ । तलको चित्रले त्यसलाई देखाउँछ। विभिन्न रङ्गमा प्रस्तुत रेखाले मुख्य तीन उम्मेदवारका पक्षमा अभिव्यक्त मतको औसत मान र बिन्दुले प्रत्येक सर्वेक्षणमा उनीहरूले प्राप्त गरेको समर्थनको प्रतिशत सङ्केत गर्छन् ।
पछिल्लो सर्वेक्षणमा ट्रम्ममाथि ह्यारिस अघि :
यसैबीच, अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । ५३८÷एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ । सर्वेक्षणमा कमला ह्यारिस ४८ प्रतिशत र ट्रम्प ४७ प्रतिशत रहेको छ ।
कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि रहेको देखिएको छ ।
यी राष्ट्रिय सर्वेक्षणहरूले देशभरि उम्मेदवार कति लोकप्रिय छन् भनेर मात्र जान्न सकिने र चुनावी नतिजाको भविष्यवाणीको रुपमा भने बुझ्न नहुने सर्वेक्षण गर्दा भनिएको छ ।
किनभने अमेरिकामा एक इलेक्टोरल कलेज प्रणाली प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ । कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन् ।
दुबै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ । अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छन् ।
ताजा राजनीतिक माहोल :
दुई मुख्य प्रतिस्पर्धी दलहरूमध्ये डेमोक्र्याट्स पार्टी र रिपब्लिकन पार्टी नै हुन् । हिलारी क्लिन्टनको तुलनामा कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति हुन सुहाउने अनुकूल वातावरण मिलेको छ । पुरानो इतिहास भङ्ग गरेर उनीलाई यो ताज सिउरिदिने अवसर अमेरिकी जनताले खेर फ्याँकेर डोनाल्ड ट्रम्पलाई जिताए भने फेरि पनि यो छर्लङ्ग साबित हुनेछ कि अमेरिकीहरू डेमोक्र्याट्सको तर्फबाट महिलालाई राष्ट्रपति बनाउँदैनन् बरु उग्र राष्ट्रवाद, रङ्गभेद र जातीय हिंसा खेप्न तयार छन् ।
अर्कातिर, तीन दशक भन्दा धेरै ह्वाइट हाउस धाएका र एक राष्ट्रपति कार्यकाल निर्वाह गरिसक्न लागेका डेमोक्र्याट्स पार्टीका पाका वर्तमान राष्ट्रपति ८१ वर्षीय जो बाइडेन उमेर अवस्था र जनदबाबका कारण अर्को कार्यकालका लागि उम्मेद्वारी त्यागेर उपराष्ट्रपति, क्यालिफोर्निया राज्यबाट सिनेटर रहेकी कमला ह्यारिसलाई राष्ट्रपतिमा लड्न बाटो खोलिदिएका छन् । उनी जमैकन–इन्डियन मूलकी हुन् । जोसँग ८० लाख डलर (डेढ अर्बभन्दा बढी) सम्पत्ति छ । उनी लचिलो र समावेशी धारकी मानिन्छिन् ।
‘जसरी अमेरिकाले सबैलाई समान अवसर र असीमित भविष्य दिएको छ, त्यसको संरक्षण’ नै उनको नारा छ । पूर्वराष्ट्रपति बाराक ओबामा र अहिलेका राष्ट्रपतिसँग नजिक रहेर काम गरिरहेकी ह्यारिसलाई बलियो दाबेदार उम्मेद्वारको रूपमा हेरिंदैछ । उनलाई पनि चुनावी कार्यक्रमहरूमा भ्याईनभ्याई छ ।
यसैगरी, रिपब्लिकन पार्टीबाट उम्मेद्वारी दिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प छन् । उनी फोब्र्सको ताजा रिपोर्ट अनुसार ६.९ अर्ब डलर (लगभग ९ खर्बभन्दा बढी सम्पत्ति) का मालिक हुन् । उनी ह्क्की र अभिमानी स्वभावका छन् । उग्र अमेरिकी राष्ट्रवादी धारका हुन् । लामो व्यापारिक घराना भएका र एकपल्ट राष्ट्रपतीय कार्यकाल सम्हालेर ह्वाइट हाउस प्रशासनको स्वाद र अनुभव लिइसकेका छन् उनले । ७८ वर्षीय ट्रम्पले दोस्रो पुस्ताको भविष्यका सम्भावित राष्ट्रपतिका उम्मेद्वार ओहायो राज्यका सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको लागि मनोनीत गरेर भविष्यको युवा नेतृत्वको सम्भावना देखाएका छन् । सँगै चुनावी दौडाहामा देशव्यापी लागेका छन् ।
तत्कालीन अवस्थामा केही लचिला आप्रवासी, अश्वेत र आर्थिक एजेन्डाको वकालत गर्दै हिंडे पनि सारमा उनी पहिलो कार्यकालमा अपूरो रहेका पुरानै एजेन्डामा अडिग छन् । ‘मेक अमेरिका ग्रेट अगेन’ ‘डे वन बोर्डर सिल’ अनि गैरकानुनी तरिकाले अमेरिका बसिरहेका लगभग एक करोड साठी लाख (अनुमानित आकलन) तिर उर्दी गर्दै ‘प्याक योर ब्याग्ज’ भन्दैछन् । प्रतिस्पर्धीलाई जातसँग जोडेर, बोडरमा केही नगरेको तलब मात्र लिएर बसेको जस्ता आरोप लगाउँदै फेरि पनि उग्र राष्ट्रवाद (जिंगोइज्म) को छनक दिइरहेका छन् । जेडी भान्स झन् उग्र छन् । ट्रम्पको बिंडो थाम्न जब्बर देखिन्छन् ।
अन्तर्राष्ट्रिय रणनीतिको सारथि :
सामान्य अवस्थामा शान्त शैलीमा काम गरे पनि, एकाध आइपर्दा जस्तो तरिकाले अपरेसन र कारबाही गरे पनि अन्तर्यमा अमेरिकाको अन्तर्राष्ट्रिय र सामरिक रणनीति सम्भव भएसम्म कुनै न कुनै माध्यमबाट हस्तक्षेप गर्ने, हडप्ने, नियन्त्रण गर्ने, सैन्यबल स्थापना गर्दै संसारलाई शासन गर्ने विस्तार र साम्राज्यवादको अव्यक्त र दीर्घकालीन अभ्यास नै हो । यो डक्ट्रिनमा लचिलो र फितलो हुने कुनै सम्भावना रहन्न । पिता–पुर्खाले आर्जेको ‘इम्पेयरलिस्ट स्पिरिट’ खासमा चाहे रिपब्लिकन होस् या डेमोक्र्याट्स अझ सशक्त पार्नु र अख्तियारी गरिरहनु दुवैको साझा अव्यक्त धर्म हो ।
विदेश रणनीति र देश विकासका मामिलामा चाहिं यहाँ पार्टीहरूको झगडा हुन्न । तत्कालीन घटनाक्रममा कहींकतै छिटपुट स्वरूप र प्रस्तुतिमा फरक देखिनुले समग्र सामरिक रणनीति परिवर्तन गरिएको भन्ने हैन। अमेरिकी आत्मा त्यही हो जो आजसम्म भइरहेको छ । इराक, सिरिया, अफगानिस्तान, लिबियातिरका घटनाक्रमहरू नै बुझ्नलाई काफी छन् ।
अब आउने नयाँ राष्ट्रपतिको पनि रणनीति त्यही नै हुनेछ । आम अमेरिकी जनतालाई यो राम्ररी बुझाइएको छ । यो विषयमा कोही पनि खासै आवाज उठाउँदैनन्। आफ्नो देशको विश्व नेतृत्वदायी रणनीतिको मौन स्वीकृति र गर्व गर्छन् । तर पनि अब चाहिं अरू देशसँग निहुँ नखोजिदिए र युद्ध नगरिदिए हुन्थ्यो भन्ने ठान्छन्। अब आउने राष्ट्रपति पनि यो रणनीतिको दह्रो सारथि हुनुपर्छ ।
नयाँ राष्ट्रपतिको विश्वप्रभाव :
यस्तो शक्तिशाली, सम्पत्ति, प्रगति र अन्तर्राष्ट्रिय रणनीति बोकेको महाशक्ति राष्ट्रमा नयाँ राष्ट्रपति आउँदा त्यसै पनि विश्वभरि प्रत्यक्ष प्रभाव पर्नेछ । यति ठूलो जीडीपी रहेको देश, नयाँ ह्वाइट हाउस प्रशासनले अख्तियारी गर्ने अर्थनीति, राजनीति, रणनीति र प्रस्तुतिले विश्वमा विशेष गरी अर्थतन्त्र, सुरक्षा, आप्रवास, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार र पारवहन लगायत क्षेत्रमा सोझो असर पर्नेछ । त्यसैले अन्य देशहरूले पनि अब अमेरिकासँग कसरी कस्तो तालमेल मिलाउनुपर्ने हो भनेर सोच्नु र गृहकार्य गर्नुपर्नेछ ।
यही प्रसङ्गमा चाइना, रसिया जस्ता देशहरूले त डोनाल्ड ट्रम्पसँग नै काम गर्न सजिलो हुने बताइसकेका छन्। ट्रम्पसँग एकचोटि अनुभव गरिसकेकाले उनी धनाढ्य पूँजीपतिहरूको हितमा काम गर्छन् । आफ्नो अर्बौंको व्यापार व्यवसाय जोगाउने काम गर्दा अन्यलाई पनि फाइदा हुने, अर्बपतिहरूलाई ‘ट्याक्स कट’ (डेमोक्र्याट्सको भाषामा) गर्छन् र अरू देशलाई पनि व्यापार र पारवहनमा खुकुलो हुने अपेक्षा गर्छन् । ताकि अर्बपतिहरूले चाहिनेभन्दा धेरै पैसा कमाए तर ६५ प्रतिशत मध्मम वर्गीय सामान्य नागरिकहरू भने जीवन गुजाराको लागि सधैं सङ्घर्ष गर्नुपर्ने, उनीहरूलाई शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सुविधा बढाएर जीवन सजिलो पार्नुपर्नेमा डेमोक्र्याटहरूले जोड दिइरहेका छन् । त्यसैले डेमोक्र्याट्स पार्टीबाट आउने नयाँ राष्ट्रपतिसँग कसरी काम गर्ने उनीहरूलाई अप्ठ्यारो छ ।
अमेरिकीहरूले डोनाल्ड ट्रम्पलाई जिताएर पुरानै ‘पालैपालो’ संस्कार देखाउने हुन् कि कमला ह्यारिसलाई जिताएर विश्वलाई नयाँ अमेरिकी इतिहासको ‘पहिलो महिला राष्ट्रपति’ उपहार दिने हुन्, हेर्नुछ । र, २०२५ को जनवरी २० मा ह्वाइट हाउस सम्हाल्दै क्यापिटल हिलबाट विश्वलाई सम्बोधन हुनेछ ।
प्रकाशित मिति २०८१ कार्तिक १८, आईतवार २०:०० गते