स्थानीय तह उपनिर्वाचन : कति पदमा कहाँ– कहाँ हुँदैछ निर्वाचन ?

स्थानीय तह उपनिर्वाचन : कति पदमा कहाँ– कहाँ हुँदैछ निर्वाचन ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक २२ गते बिहिबार ०८:५७

मङ्सिर ५ गते दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

उपनिर्वाचनका लागि आउँदो मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नु पर्ने छ ।

काठमाडौँ– स्थानीय तहमा रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । विभिन्न कारणले रिक्त भएका ४४ पदका लागि उक्त दिन निर्वाचन हुने भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ समेत जम्मा ४४ पदमा निर्वाचन हुने भएको निर्वाचन आयोगको भनाइ छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार कैलाली र ओखलढुङ्गामा जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकामा प्रमुख, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख तथा मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्षका साथै दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुने तयारी छ ।
वडाध्यक्ष पदका लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका– ३, झापाको कन्काइ नगरपालिका– ६, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपलिका– ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका– १, महोत्तरीको रामगोपालपुर नगरपालिका– २, रौतहटको ईशनाथ नगरपालिका– ७, राजपुर नगरपालिका– ६ र गढीमाई नगरपालिका– ८ मा निर्वाचन हुने तालिका रहेको आयोगका सूचना अधिकृत सुमन घिमिरेले बताउनु भयो । उहाँका अनुसार काठमाडौँको काठमाडौँ महानगरपालिका– १६ र कीर्तिपुर नगरपालिका– १ र ४, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा नगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टीगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका– २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका– १ का वडाध्यक्ष पदमा निर्वाचन हुने छ ।
यसैगरी, दैलेखको दुल्लु नगरपालिका– १३, कालिकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोट कुशे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका– ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।
मङ्सिर २ गते उम्मेदवारी दर्ता ः
उपनिर्वाचनका लागि आउँदो मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नु पर्ने छ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ भने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
निर्वाचन आयोगले विगतका निर्वाचन झैं उम्मेदवारले निर्वाचनका अवधिमा खर्च गर्न पाउने सिलिङ निर्धाणर गरेको छ । उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको हो ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार रुपैयाँ, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैया, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयासम्म खर्च गर्न सक्नेछ ।
यसैगरी, महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैया, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपैया र गाउँपालिकाका वडाध्यक्षले एक लाख ५० हजार रुपैया खर्च गर्न सक्ने प्रावधान छ ।
उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता ः
उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएको हो ।
उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले भाग लिने भएका छन् ।
त्यस्तै, सो निर्वाचनमा भाग लिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि नाम दर्ता गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनाका लागि नाम दर्ता गर्ने अन्य राजनीतिक दलहरूमा मङ्गोल नेशनल अर्गनाइजेसन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन एकता पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बिपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल छन् ।

प्रकाशित मिति २०८१ कार्तिक २२, बिहीबार ०८:५७ गते
हजुरको प्रतिक्रिया