बेसीशहर– कार्तिक शुल्क हरिबोधनी एकादशीको मेलाका लागि लमजुङका विभिन्न स्थानमा भव्य तयारी अन्तिम चरणमा पुगेको छ । मेलालाई विशेष बनाउनका लागि जिल्लाका चार पालिकाहरूले भोलि कार्तिक २७ गतेका दिन स्थानीय विदाको घोषणा समेत गरेका छन् ।
यस दिन लमजुङ जिल्लाको झण्डै मध्यभागबाट बग्ने मस्र्याङ्दी नदी किनारको खुदी र पाउँदी दोभान, जिल्लाको पूर्वी सीमामा रहेको चेपे नदी, पश्चिम भागमा कास्की सीमासँग जोडिएको मादी नदी किनार तथा दक्षिणतर्फ तनहूँ जिल्लासँग सीमा जोडिएको सिसाघाट स्थित मादी नदी किनारमा विशेष मेला लाग्ने गर्दछ । भेलामा फूल अर्थात फूलमाला, फल आदि उनिएका तोरणको डोली बाजागाजाका साथ नदी किनारमा पुगेर तार्ने काम समेत गरिन्छ । त्यस बाहेक सुन्दरबजार नगरपालिका– ८ र दोर्दी गाउँपालिका– १ को मस्र्याङदी नदीकै बेलघारी क्षेत्रमा पनि फूल तार्ने तयारी छ । यी स्थानमा विशेष मेला समेत लाग्ने गर्दछ ।
सोही मेलाको व्यवस्थापन कार्यको महत्व बढाउन, पर्यटन प्रवद्र्धन गर्नका लागि जिल्लाका चार पालिकाहरू मस्र्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाले स्थानीय विदा दिएको ती पालिकाहरूले सूचनामार्फत आइतबार नै जानकारी दिएका हुन् । हरिबोधनी एकादशीको धार्मिक महत्वलाई उजागर गर्नका लागि मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको पाँच दिने मस्र्याङदी महोत्सवको उदघाटन एकादशीकै दिन भोलि हुने गरी तयारी अन्तिम चरणमा पुगेको सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ ।
मस्र्याङ्दी गाउँपालिका– ३ को खुदी बजारमा हरेक वर्ष एकादशी मेला लाग्ने गर्दछ । सोही स्थानमा रहेको कर्मदा र शितप्रवाह नदीको संगम स्थलमा फूल तार्नका लागि तीन टोलीले दर्ता गरिसकेको एकादशी मेला आयोजक खुदी युथ सोसाइटीका अध्यक्ष राम थापाले बताउनु भयो । उहाँका अनुसार एकादशी मेला दुई दिनसम्म सञ्चालन गर्ने कार्यक्रम छ । उहाँले भन्नुभयो, ‘यो वर्ष स्थानीय कृषि र पशुजन्य अर्गानिक उत्पादनहरू समेत विक्रीमा राखिने भएको हुँदा गत वर्ष भन्दा यो वर्ष आकर्षण बढ्ने आशा गरिएको छ ।’ एकदशी मेलाकै अवसरमा खुला भलिबल प्रतियोगिता समेत सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र तनहुँको भानु नगरपालिकाको संगमस्थलका साथै लमजुङको प्रवेश नाकाका रुपमा परिचित पाउँदी दोभानमा एकादशी मेलाको भव्य तयारी अन्तिम चरणमा पुगेको मेलाको आयोजक महादेव मन्दिर संरक्षण समितिले जनाएको छ । सो समितिका सदस्य एवम् साहित्यकार लक्ष्मीप्रसाद मिश्रले भोलिका लागि मस्र्याङ्दी नदीमा फूल तार्नका लागि सात टोलीले नाम लेखाई सकेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको उदघाटन गर्नका लागि स्थानीयबासी समेत रहेका गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङ प्रमुख अतिथिका रुपमा आउने भएको सो क्लबका सहसचिव सुदीपकान्त अधिकारीले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘मेलामा ३५ हजारदेखि ४० हजार दर्शक आउने अनुमान गरिएको छ ।’ पाउँदी दोभानको सो क्षेत्रमा दुईवटा विशाल महादेव मन्दिर समेत रहेका छन् ।
यसैगरी, मध्यनेपाल नगरपालिका– ४ को सिसाघाटमा पनि एकादशी मेलाको तयारी चलिरहेको स्थानीय भविष्य निर्माण बोर्डिङ स्कूलका संस्थापक निर्देशक तीर्थराज पराजुलीले बताउनु भयो । उहाँका अनुसार यहाँको गौरीशंकर मन्दिर व्यवस्थापक समितिले एउटा फूल तार्ने तयारी गरेको छ, अन्य व्यक्तिगत पनि फूलका डोली आउँछन्, हरेक वर्ष ३– ४ वटा फूलको डोली तार्ने गरिन्छ । उहाँले भन्नुभयो, ‘एकादशी पर्वमा यहाँ लाग्ने मेलाको शोभा बढाउन स्थानीय दुरा सेवा समाज सिसाघाट इकाईले खुला फुटबलको आयोजना गरेको छ, त्यसको उदघाटन भोलि एकादशीका दिन गर्ने तयारी छ ।’
यसैगरी, मध्य नेपाल नगरपालिका– ६ को भोर्लेटारको रानीपानी गाउँ स्थित नारायण मन्दिर व्यवस्थापन समितिले पनि एकादशीका दिनमा फूल तार्ने तयारी छ । फूल तार्ने अघिल्लो दिन गरिने सत्य नारायणको पुजा सोमबार दिउँसो १ बजेबाट संयुक्त रुपमा सुरु भएको सो समितिका अध्यक्ष मानकुमारी कुँवरले बताउनु भयो । उहाँका अनुसार नारायण मन्दिर व्यवस्थापन समितिमा यस गाउँका ५० घर परिवारका महिला आवद्ध रहेको र प्रायः ती सबैले नारायण पुजाको कर्ता बनेका छन् । उहाँले भन्नुभयो, ‘मसमेत ४१ जना कर्ता छौं ।’ आज कसैको पुजा गर्न नहुने जुठो, सुत्केरो परेको र वर्षभर मरिमराउ भएको घरकाले पनि पूजाको कर्ता बन्न हुन्न भन्ने छ त्यसैले ४१ जना भएको उहाँले उल्लेख गरिन् ।
उक्त नारायण मन्दिर २०५४ सालमा निर्माण गरिआएको नारायण मन्दिर व्यवस्थापन समितिका सदस्य पुष्पा पराजुली केसीले बताउनु भयो । उहाँका अनुसार कोरोनाका दुई वर्ष बाहेक हरेक वर्ष समितिले फूलको डोली तार्ने काम गर्न नसकेको हो अन्य सबै वर्ष यो काम गरिरहेका छौं । उहाँले भन्नुभयो, ‘कास्की जिल्ला र लमजुङको सीमानामा रहेको मादी नदीमा लगेर फूलको डोली तार्ने काम हुन्छ ।’ त्यसको तयारी कार्य पाँच दिन अघिदेखि नै थालिएको हो, दिदी बहिनीहरू खट्दै आउनु भएको छ, कसैले फूल संकलन गर्ने, कसैले लठ्ठा (तोरण) बाट्ने, कसैले माला उन्ने, कसैले भजन गाउने जस्ता कार्य गर्ने गरेको उहाँले जानकारी दिनु भयो ।
आज २६ गते साँझदेखि नै पञ्चैबाजाको टोली समेत आएको छ, रातभर भजन किर्तन, दोहोरी गाएर जाग्राम बसेर भोलि विहान उज्यालो भएपछि बाजागाजाका साथमा फूलको डोली लिएर नदी किनारमा पुगेर तार्ने काम गर्ने गरेको नारायण मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष देवी पराजुलीले जानकारी दिनुभयो ।
यसैगरी, मध्य नेपाल नगरपालिका– ७ को रामबजार (भाटबेसी) क्षेत्रमा ईशानेश्वर विद्यापिढबाट र सूर्यप्रसाद जमरकट्टेलले आफ्नो व्यक्तिगत रुपमा फूलको डोली तयार गर्ने काम भएको स्थानीय बासी ठाडोभाका लोककला प्रतष्ठिान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले जानकारी दिनु भएको छ । जमरकट्टेलले बाजागाजाको समेत प्रवन्ध गर्नु भएको छ । भोलि बिहान भाटबेसीबाट यता रामबजार आएर गणेश मन्दिर, ईशानेश्वर मन्दिर र पार्वतादेवीको मन्दिर परिक्रमा गरी मादी नदी किनारमा लगेको पिप्ले(कास्की) तर्फ पनि पिल्लर बनाएको छ र यता पनि पिल्लर छ त्यसको सहयोगमा फूलको डोरी तार्ने काम हुन्छ । त्यो सम्पन्न भएपछि प्रसादी खाएरर भक्तजनहरू विदा हुन्छन् घिमिरेले बताउनु भयो ।
मध्यनेपाल नगरपालिकाले सिङ्गो पालिकालाई धार्मिक पर्यटनको हब बनाउने बताएको छ तर हरिबोधनी एकादशीका दिनमा विदा घोषणा गरे पछि पालिकाले खास कार्यक्रम गरेको भने जानकारीमा आएको छैन ।
यसैगरी, राइनास नगरपालिका– १, ४, ५ र ६ मा रहेको चेपे नदी किनारमा पनि स्थानीय जम्मा भएर नदी स्नान गर्ने, चक्रचीर्थ धाममा फूलको डोली तार्ने काम हुने गरेको यो वर्ष पनि तयारी चलिरहेको स्थानीय पत्रकार प्रमोद अधिकारीले जानकारी दिनु भयो ।
फोटामा गत वर्षको पाउँदी बजारको एकदशी मेलाका परिदृश्यहरु ।
प्रकाशित मिति २०८१ कार्तिक २६, सोमबार २१:३७ गते