हरिबोधनी एकादशीका अवसरमा लमजुङका विभिन्न क्षेत्रमा २४ वटा फूलका डोली तारियो : फोटो फिचरसहित

हरिबोधनी एकादशीका अवसरमा लमजुङका विभिन्न क्षेत्रमा २४ वटा फूलका डोली तारियो : फोटो फिचरसहित

नवराज पहाडी

@antaranganews

२०८१ कार्तिक २७ गते मङ्गलबार ०९:३३

आज सबैभन्दा धेरै पाउँदी र चेपेको बोक्सेरहमा पाँच/पाँच वटा कर्मोदा, शितप्रवाह र सुधा नदीको संगम स्थल खुदीबेनीमा चारवाटा फूलका डोली तार्ने काम भएको छ ।

मेलालाई सफल बनाउनका लागि चार पालिका सुन्दरबजार नगरपालिका, राइनास नगरपाकिला र मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाले स्थानीय विदा समेत दिएका थिए ।

लमजुङ– हरिबोधनी एकादशीमा लमजुङमा २४ वटा फूलका डोली तारियो भने ढोल्ने टोली अनगिन्ति रहे । हरिबोधनी एकादशीका अवसरमा लक्ष्मी र नारायणको आशीर्वाद पाउनका लागि फूलको डोरी(तोरण) नदीहरूमा तार्ने र डोरी तार्न नसक्नेहरूले नदीमा फूलका शोली ढोल्ने अर्थात बगाउने काम गर्दछन् । शोली ढोल्ने संख्या भने अनगिन्ति रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
लमजुङमा आजको मेलालाई सफल बनाउनका लागि चार पालिका सुन्दरबजार नगरपालिका, राइनास नगरपाकिला र मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाले स्थानीय विदा समेत दिएका थिए । आजको मेलाको सबैभन्दा ठूलो कार्यक्रम लमजुङको सुन्दरबजार नगरपालिका– ७, राइनास नगरपालिका– ८ र तनहुँको भानु नगरपालिका– १० को संगम स्थल लमजुङको प्रवेश नाका पाउँदीमा भएको थियो । त्यो कार्यक्रममा पाउँदीको स्थानीय बासिन्दा समेत रहेका गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङ प्रमुख अतिथि तथा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ विशेष अतिथिको रुपमा सहभागी हुनु भएको थियो ।
सो स्थानमा फूलका पाँचवटा डोली तारिएको छ । डोली ढोल्नेको संख्या गन्नै भ्याइएन राससका जिल्ला प्रतिनिधि विराट न्यौपानेले बताए । यसैगरी, मर्स्याङ्दी गाउँपालिका स्थित कर्मोदा, शितप्रवाह र सुधा नदीको संगम स्थल खुदीबेनीमा चारवाटा फूलका डोली तार्ने काम भएको सो मेला व्यवस्थापन समितिले जनाएको छ । बेसीशहर नगरपालिका– ८ को कर्पुरेश्वर मन्दिर परिसरबाट विहान सबेरै दुईवटा फूलका डोरी तार्ने काम भयो । यसैगरी, दूधपोखरी गाउँपालिका– २ को विचौर र गोरखाको सिराञ्चोक गाउँपालिका क्षेत्रमा विचौर क्षेत्रमा एक फूलको डोली तार्ने र चारवटा ढोल्ने काम भएको स्थानीय रामहरि न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मेला यो समाचार तयार गरिरहँदासम्म जारी छ ।
दुवै जिल्लाको बीचमा बग्ने चेपे नदीमा पनि फूलका डोरी तार्ने काम गरिएको हो । यसैगरी, चेपे नदीमै राइनास नगरपालिका– १ र सिराञ्चोक गाउँपालिका– २ को बोक्सेरहमा पाँच वटा फूलका डोरी तारिएको पत्रकार प्रमोद अधिकारीले बताउनु भयो । उहाँका अनुसार चेपेकै चेपे घाटमा दुई वटा फूलका डोरी तार्ने काम भएको छ ।
उता, मादी नदी किनारमा पनि मेला सहितको फूलका डोरी तार्ने र शोली घोल्ने काम गरिएको छ । मध्यनेपाल नगरपालिका– ४ तनहुँको व्यास नगरपालिका– ६ को संगम स्थल सिसाघाटमा पनि दुई वटा फूलको डोरी तार्ने तथा तीनवटा फूलको शोली ढोल्ने काम गरिएको स्थानीय बालविकास माध्यामिक विद्यालयका शिक्षक शिवराज खनालले बताउनु भयो । उहाँका अनुसार सो स्थानमा १७ औं खुला फुटबल प्रतियोगिताको समेत सुरु गरिएको छ ।
त्यसैगरी, मादी नदीमै मध्यनेपाल नगरपालिका– ६ को रिस्ति खोला, मिदीम र मादीको संगम स्थलमा स्थानीय नारायण मन्दिर व्यवस्थापन समितिले एउटा फूलको डोरी तार्ने काम गरेको नारायण मन्दिर व्यवस्थापन समितिका सदस्य पुष्पा पराजुली केसीले बताउनु भयो । उहाँका अनुसार समितिका पदाधिकारी तथा सदस्यहरूले हिजो ब्रत बसेर गए राती सत्यनारायणको पुजा गरी रातभर भजनकिर्तन गरी जाग्राम बसेर आज फूलको बाजागाजाका साथमा भजन गाउँदै नाच्दै फूलको डोली तार्ने काम गरिएको हो ।
यसैगरी, मध्यनेपाल नगरपालिका– ७ को रामबजार (भाटबेसी) क्षेत्रमा ईशानेश्वर विद्यापिढबाट र सूर्यप्रसाद जमरकट्टेलले आफ्नो व्यक्तिगत रुपमा फूलको डोली मादी नदीमा लगेर तार्ने काम सम्पन्न भएको स्थानीय बासी ठाडोभाका लोककला प्रतष्ठिान नेपालका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जमरकट्टेलले बाजागाजा सहितको टोलीले गाउँदेखि रामबजार आएर गणेश मन्दिर, ईशानेश्वर मन्दिर र पार्वतादेवीको मन्दिर परिक्रमा गरी मादी नदी किनारमा लगेको पिप्ले(कास्की) तर्फ पनि पिल्लरमा फूलको डोरी तार्ने काम गरिएको हो ।

खुदीबेनीमा विशेष मेला :
आजको मेलाको दोस्रो भव्य रुपमा मर्स्याङ्दी गाउँपालिका– ३ को कर्मोदा, सुधा र शितप्रवाह नदीको संगम स्थल खुदीबेनीमा सञ्चालन भएको स्थानीय समेत रहेका पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीन कुइँकेलले बताउनु भयो । उहाँका अनुसार सो स्थानमा फूलको डोरी चार वटा तार्ने काम भयो । उहाँले भन्नुभयो, ‘मेलालाई भव्य बनाउन छोलो प्रतियोगिता, डोरी तान्ने खेल समेत गरिएको र त्यसको संयोजन समेत आफैले गरेको छु ।’ ठेलो प्रतियोगितामा सोही वडाको स्याग्ले गाउँका नारायण भण्डारी पहिलो र लामा गाउँका सुभास गुरुङ दोस्रो भएको कुइँकेलले जानकारी दिनुभयो ।

आजको मेलाको दोस्रो भव्य रुपमा मर्स्याङ्दी गाउँपालिका– ३ को कर्मोदा, सुधा र शितप्रवाह नदीको संगम स्थल खुदीबेनीमा सञ्चालन भएको स्थानीय समेत रहेका पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीन कुइँकेलले बताउनु भयो । उहाँका अनुसार सो स्थानमा फूलको डोरी तार्ने काम चार वटा भयो । उहाँले भन्नुभयो, ‘मेलालाई भव्य बनाउन छोलो प्रतियोगिता, डोरी तान्ने खेल समेत गरिएको र त्यसको संयोजन समेत आफैले गरेको छु ।’ ठेलो प्रतियोगितामा सोही वडाको स्याग्ले गाउँका नारायण भण्डारी पहिलो र लामा गाउँका सुभास गुरुङ दोस्रो भएको कुइँकेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार डोरी तन्ने खेलमा पुरुषतर्फ मर्स्याङदी गाउँपालिका– ९ गैसुटारको समूम पहिलो र दोस्रो DJYC पाम्चोक भएको छ भने सोही खेलको महिलातर्फ सोही वडाको बगैंचा आमा समूह (ए) र बगैंचा आमा समूह (बि) दोस्रो भएकोछ । विजेताहरूलाई सोही वडाका अध्यक्ष हरिश्चन्द्र थापा, वडा सदस्य बृषबहादुर गुरूङ, टोल विकास संस्थाका अध्यक्ष भिष्मकान्त कुईकेल, युवा सञ्जालका अध्यक्ष पारश भण्डारी, खेल संयोजक नवीन कुइँकेल लगायतले पुरस्कार वितरण वितरण गर्नु भएको थियो ।
यसैगरी, मर्स्याङ्दी गाउँपालिकामा आजै देखि सुरु हुने पाँच दिने मर्स्याङ्दी महोत्सवको पनि उदघाटन अमर माविको हातामा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गर्नु भएको एकादशी मेला आयोजक खुदी युथ सोसाइटीका अध्यक्ष रावी थापाले बताउनु भयो । उहाँका अनुसार एकदशी मेलाकै अवसरमा आज फूलको डोली तार्ने काम भयो भने खुला भलिबल प्रतियोगिता समेत सुरु भएको छ । प्रतियोगितामा १३ टिम सहभागी छन् । उहाँले भन्नुभयो, ‘सो खेलको समापन भोलि हुने कार्यक्रम छ ।’
खुदी बेनीमा परापूर्वकालमा बनेकोे शितप्रवाह नदी किनारमा टंकेश्वर महादेव मन्दिर समेत रहेको थियो । त्यो मन्दिर परिसरमा मेला लाग्ने गरेको हो । पछि अमर मावि स्थापना भएपछि मेलामा हुने आम्दानीले विद्यालय सञ्चालनमा केही सहयोग पुगोस् भन्ने हेतुले मेला स्कूल हातामा सारिएको स्थानीयको भनाइ छ ।

माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाका कारण मन्दिर र १५ रोपनी खेल बगाएको गाउँलेहरूको दावी :

पछि २०८० सालको असार २ गते आएको बाढीले सो मन्दिरको कुनै निसाना समेत नरहने गरी बगाएको स्थानीय समाजसेवी भद्रमोहन थापाले बताउनु भयो । उहाँका अनुसार अब हामीले फेरि मंन्दिर निर्माण गर्ने तयारी गरेका छौं । उहाँले भन्नुभयो ‘माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले आफ्नो आयोजनाको संरक्षणका लागि निर्माण गरेको बाध र बाढी आउँदा एकैपटक छाडी दिएका कारणले यो मन्दिर बगाएको हो ।’ मन्दिर परिसरमा रहेको करिब १५ रोपनी धान खेत समेत बगाएको जानकारी दिदै उहाँले सो मन्दिरको निर्माण कार्य सो आयोजनाले गरिदिनु पर्छ भन्ने हाम्रो माग छ । स्थानीयबासीले मन्दिर निर्माणका लागि जग्गा(करिब दुई रोपनी) दान गर्न समेत तयार रहनु भएको उहाँले जानकारी दिनुभयो । यो स्थानको शोभा बढाउनका लागि हामीहरू तयार छौं मन्दिर बनाउने जग्गा बसै दाजुभाइ मिलेर दिन्छौं कुलचन्द्र सुवेदीले बताउनु भयो ।
मेलामा पण्डितको काम गर्नु हुने भीष्मकान्त कुइकेलले टंकेश्वर महादेव मन्दिर सत्य यु्गमा निर्माण भएको छाना रहित रहेको जानकारी दिनु भयो । यसैगरी, पं. घनश्याम सुवेदीले कर्मोदा नदी र शितप्रवाह नदी एवम् सुधा नदीको संगम स्थल यहाँ विश्वामित्र (क्षेत्री)ले तपस्या गरेर ब्रह्मत्व (ऋषित्व) प्राप्त गरी ऋषि बनेको भूमि भएको हुनाले पनि यो स्थल बढी पवित्र र धार्मिक महत्वको रहिआएको जानकारी दिनुभयो ।
टंकेश्वर महादेव मन्दिरको गुमेको साख फर्काउनका लागि हामी जुनकुनै पनि मूल्य चुकाउन तयार छौं रामप्रसाद सुवेदीले भन्नुभयो । यसैगरी, गाउँमा युवाहरू पलायन भएका कारणले पनि पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिन नसकिने हो कि ? भन्ने चिन्ता लाग्छ, त्यसले कुनै दिनमा रातमा निद्रा पनि लाग्दैन अर्का स्थानीय समाजसेवी ठाकुरप्रसाद सुवेदीले बताउनु भयो ।
सो स्थानमा तारिएको फूलका डोलीमध्ये एककी संयोजक समेत रहनु भएकी विष्णुमाया भण्डारीले आफ्नो धर्म संस्कृति परम्पराको संरक्षणका लागि मस्र्याङ्दी गाउँपालिका– ९ मा रहेको गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको तर्फबाट फूलको डोली ल्याइएको बताउनु भयो । उहाँका अनुसार हामीले हाम्रो हिन्दू धर्म संस्कृति बचाउनका लागि यो काम गरेका हौं । उहाँका अनुसार हामी ९ टोल मिलेर यो कामको थालनी गरेको हो । उहाँले भन्नुभयो, ‘यो कामलाई सकेसम्म निरन्तरता दिन्छौं, तीन वर्ष त गर्नै पर्यो ।
पाउँदी क्षेत्रमा विशेष मेला :
पाउँदीबाट रासस प्रतिनिधि रहनु भएका पत्रकार विराट न्यौपाने लेख्नु हुन्छ : यस बर्ष पाउँदी पाँचबटा फूलको डोरी तारिएको थियो । पहिलो चरणमा पाउँदीकै युवाहरूले पौडेर डोरी तार्ने काम गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले डुँगाको माध्यमबाट डोरीलाई वारीबाट पारी तार्न सहयोग गरेको थियो ।

मर्स्याङ्दी नदीमा स्नान गरी शुद्ध भई पूजा अर्चना गरी, फूलको डोरी तार्ने काम गरे, फूलको शोली ढोल्ने काम अर्थात बगाउने काम गरेमा वा बत्ती बालेर बगाएमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको शित प्रवाह नदी किनारस्थित शिवजी मन्दिर व्यवस्थापन समितिले बताएको छ ।
सो मेला परिसरमा गत बर्ष मात्रै यस क्षेत्रमा एक सय आठ फिट अग्लो शिवजीको मूर्ति स्थापना गरिएको छ । त्यो मन्दिरसँगै अन्य देवी देवताका मूर्ति समेत निर्माण गरिएको हुँदा विगतका बर्षहरूमा भन्दा अहिलेको बर्ष भक्तजनहरूको संख्या बृद्धि भएको मन्दिर व्यवस्थापन समितिले मात्र हैन यहाँ व्यापार व्यवसाय गर्नेहरूले बताए । एकादशी मेलाकै अवसरमा विभिन्न घरेलु हस्तकलाका सामग्री बिक्रीका लागि विभिन्न जिल्लाबाट मानिसहरू यहाँ आइपुग्ने गर्दछन् ।
मेलामा विभिन्न उपभोग्य सामान, कृषि उपकरण तथा औजार, खाद्यान्न सामान, डोको, नाम्लो, नाङ्लो, डालो, थुन्से, भकारी लगायत वीउविजन, कपडा, खेलौनाको विक्रि समेत हुने गर्दछ् । यस बाहेक प्रसाद तथा खाजामा प्रयोग हुने सुन्तला, केरा तथा बदाम, काला भट्ट एकादशीको अवसरमा यहाँ विशेष बिक्री हुने वस्तुहरू रहेको स्थानीय समाजसेवी लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो । उहाँका अनुसार बर्षेनी एकादशीका समयमा लाग्ने मेलाले धार्मिक, सांस्कृतिक रूपमा मात्र नभई ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पु¥याउँदै आएको छ । उहाँले भन्नुभयो, ‘मेलाको अवसरमा पूजा अर्चना गरी कान चिरेका जोगीलाई दान दिए वा उनीहरूको हातबाट टिका लगाएर आशिष लिनेहरूको संख्या पनि उल्लेख्य देखिने गरेका छन् ।’
यो बर्षबाट सशस्त्र प्रहरीको सहयोगमा डुँगाबाट फूलको डोरी तार्ने काम शुरु भएपछि आउँदो बर्ष फूलको डोली बढ्न सक्ने आंकलन गरिएको छ । मर्स्याङ्दीको चिसो पानीमा पौडिएर एक किनारबाट अर्को किनारमा फूलको डोली तार्ने परम्परा छ । त्यो दृश्य हेरेर तीर्थालुहरू रमाउने गर्थे, फूल तारेको हेर्न र तार्नका लागि तयार पारिएको फूलको डोरी छुँदा समेत पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
एकादशी मेलालाई मध्यनजर गर्दै सुन्दरबजार नगरपालिकाले गत बर्षबाट नगरपालिकाभर सार्वजनिक विदा दिन सुरु गरेको छ । सो नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले यस क्षेत्रका चाड जस्तै मेला भएको कारणले एकादशीका दिन सार्वजनिक बिदा दिइएको बताउनु भयो । यस्ता किसिमका धार्मिक मेला महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने मेयर कोइरालाको भनाइ छ ।

प्रस्तुत छ फोटो फिचर :

प्रकाशित मिति २०८१ कार्तिक २७, मंगलवार २१:३३ गते
हजुरको प्रतिक्रिया