काठमाडौं– गण्डकी प्रदेशसभा सदस्यका साथै निवर्तमान मन्त्री समेत रहेका राजीव गुरुङ (दीपक मनाङे) फेरि जेल चलान भएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो । यहाँ स्थित सानोभ¥याङबाट पक्राउ परेका मनाङेलाई अदालतमा उपस्थित गराएर कार्तिक २७ गते डिल्लीबजार कारागार चलान गरिएको हो ।
ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङेलाई सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको दुई सदस्यीय इजलासले कार्तिक २० गते दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरी दोषी ठहर गरेको हो ।
२०७७ माघ ७ गते यतामात्र मनाङेको १९ पटक पेशी सरेको थियो । सर्वोच्चबाट पूर्ण फैसला आएपछि आफैं अदालतमा उपस्थित हुने विज्ञप्ति जारी गर्दै फरार भएका मनाङेलाई प्रहरीले हिजो पक्राउ गरी अदालत उपस्थित गराएर कारागार चलान गरेको हो ।
मनाङे गण्डकी सरकारमा ६ पल्टसम्म मन्त्री बनेको रेकर्ड छ । त्यसो त त्यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा उनी पटकपटक कारागार पुगेकै व्यक्ति हुन् ।
कुनैबेला गुण्डा नाइकेका रुपमा समेत परिचित मनाङे विरुद्धको ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा अर्का डन (गुण्डा नाइके) चक्रे मिलन (मिलन गुरुङ)को तरबार हानेर हात काटेको घटनामा मनाङेलाई मुख्य योजनाकार मानिएको थियो । ठेक्कापट्टा तथा असुली धन्दामा भागबण्डा नमिलेपछि गुण्डा नाइके मनाङेको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि त्यो बेलामा आक्रमण गरेको थियो । सो आक्रमणमा चक्रे मिलनको हात छिनेको थियो ।
अप्रत्यासित रुपमा आए, त्यसरी नै आस्ताउने संकेत :
प्रदेशसभामा मनाङ १(ख) बाट २०७४ र २०७९ सालको प्रदेशसभा निर्वाचनमा निर्विरोध निर्वाचित भएका दिपक मनाङे बरोबर चर्चामा आइरहे । २०७४ मा मनाङ (ख) मा नेकपा एमालेको समर्थनमा स्वतन्त्र सांसद जितेपछि मनाङे सोही मुद्दामा जेल गएका थिए । १४ महिना जेल बसेपछि १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने नयाँ कानुनी व्यवस्था अनुसार २०७५ पुस ६ कारागार मुक्त भएका मनाङे माघ १४ गते शपथ लिएर मनाङे संसद छिरेका हुन् ।
२०६१ मा मिलन चक्रेमाथि भएको आक्रमणको मुद्दामा तत्कालीन पुनरावेदन अदालत, पाटनले सुनाएको ५ वर्ष कैद सजाय काट्न उनले आत्मसमर्पण गरी जेल गएका थिए ।
स्वतन्त्र हैसियतमा निर्वाचित बनेपछि मन्त्रीको लोभमा कहिले एकीकृत समाजवादी प्रवेश गरे भने कहिले आफू स्वतन्त्रै रहेको दाबी गरिरहे ।
गण्डकी प्रदेशसभा निर्वाचनमा ७ वर्षअघि निर्वाचित भएर उनी राजनीतिमा एकाएक उदाएका थिए । त्यस यता उनी छ पटकसम्म मन्त्री समेत बन्न सफल भए । सर्वोच्च अदालतको पछिल्लो फैसलाले प्रदेशसभामा सबैभन्दा बढी मन्त्रीको रेकर्ड बनाएका मनाङेलाई फेरि कारागार पुर्याएको हो ।
गण्डकीमा हालसम्म चार जना मुख्यमन्त्री (पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल, खगराज अधिकारी र वर्तमानमा सुरेन्द्रराज पाण्डे) बनेका छन् । चारै जना मुख्यमन्त्रीको क्याबिनेटमा सहजै मन्त्री बन्ने सौभाग्य पाउने मनाङे एक मात्र प्रदेशसभा सदस्य हुन् । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एमाले–कांग्रेस नेतृत्वको सरकारमा स्वतन्त्र हैसियतमा ‘निर्णायक’ संख्या लिएर मनाङे पटकपटक सत्तामा चढिरहे र ६–६ पटक सरकारको मन्त्री बनेका थिए ।
पहिलो पटक शपथ लिएकै दिन मनाङले जेल जीवन बारेमा जेल पर्नु कुनै ठूलो कुरा नभएको उल्लेख गर्दै ‘नेपालमा जेल पर्नु सामान्य हो ।’ तर शपथकै भोलिपल्ट मनाङे भारतीय नम्बर प्लेटको गाडी चढेर संसद पुगेको देख्दा धेरै व्यक्ति आश्चर्य चकित भएका थिए ।
मन्त्री भएपछि पनि त्यसअघि एन्फा कास्कीका तत्कालीन अध्यक्ष मिलन गुरुङलाई पिटेर प्रहरी हिरासत पुगेका थिए भने आफ्नै मन्त्रालयका कर्मचारीमाथि हातपात गरेर विवादमा तानिएका थिए । कार्यकक्षमै गञ्जी लगाएर बस्ने, रक्सी सेवन गर्ने, मन्त्रालय नै बेचिदिने जस्ता अभिव्यक्ति दिएर अराजकता मच्चाउन सफल रहे । पछिल्ला दिनमा वनमन्त्रीमा थन्किनु पर्ने भएपछि पद बेचिदिन्छु भन्दै मन्त्री बन्न ठूलो रकमको चलखेल हुने विवादास्पद अभिव्यक्ति दिएर पनि निकै चर्चित भएका थिए । क्याबिनेटमा तेस्रो वरीयता पाएरपनि उनले सानो मन्त्रालय दिइएको भन्दै शपथ नै नगरी राजीनामा दिएका थिए ।
हालका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधारमन्त्री बन्न सफल भएका उनी कांग्रेस–एमाले गठबन्धनसँगै एमालेसमेत सरकारमा जाने भएपछि वनमन्त्रीमा धकेलिएका हुन् ।
पहिलो कार्यकालमा गण्डकी प्रदेश सरकारको तीन पटकसम्म खेलकुदमन्त्री बनेका उनी २०७९ सालमा मनाङ १(ख) बाट पुनः निर्विरोध निर्वाचित भए । प्रदेशसभाको दोस्रो कार्यकालको तीन महिना नबित्दै तीन पटकसम्म भौतिक पूर्वाधार मन्त्री बन्न सफल भएका हुन् ।
२०७८ सालमा नेकपा (एमाले)का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको क्याबिनेटबाट पहिलो पटक सरकारमा छिरेका मनाङे त्यस यता लगातार सरकारमा रहे । २०७७ सालमा तत्कालीन नेकपा टुक्रिएपछि संकटमा परेको पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आफू मन्त्री बन्नुपर्ने सर्तमा उनले सघाए । उनी १६ वैशाख २०७८ मा युवा तथा खेलकुदमन्त्री बनेर पहिलोपटक सत्तामा उक्लिए । त्यसबेला मनाङेलाई दिनेगरी सामाजिक विकास मन्त्रालय समेत फुटाइएको थियो ।
२०७५ माघ १४ गते सपथ लिएयता दुई कार्यकालमा संसदको रोस्ट्रममा उभिएर दुई पटकमात्र बोलेका मनाङे बाहिर भने बेलगाम अभिव्यक्तिले सधैं चर्चा र आलोचनाको केन्द्रमा रहिरहे ।
अमर्यादित शब्द बोल्ने, मर्यादाविपरीतको पोशाक लगाएरै मन्त्रालय जानु मनाङेका लागि सामान्य :
पहिलो पटक मन्त्री बनेको साउन दोस्रो साता गञ्जीमै मन्त्रालयको कार्यकक्षमा बसेका मनाङेले मदिरापान गर्ने गरेको सार्वजनिक भएपछि चौतर्फी चर्चाको विषय बनेका थिए । मन्त्री भएर मन्त्रालयमा गञ्जी लगाएकोबारे समाचार लेख्ने पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति मनाङेले दिन्थे ।
सरकारमाथि नै प्रश्न उठ्दा र मर्यादाबिपरीतको काम हुँदा पनि कांग्रेस, एमालेलगायतका दलहरू अंकगणितका कारण निरिह बनेर पालैपालो मन्त्री बनाएका थिए ।
यसपटकको जेलजीवन उनका लागि यसअघिका भन्दा महँगो पर्ने देखिएको छ । उनको प्रदेशसभा सदस्य पद त चैट हुने नै छ, साथै अबका २ वर्ष चार महिना जेलको चिसो छिँडीमा रहेर राजनीतिक अवसानका दिनगन्ती समेत गरेमा आश्चर्य हुनेछैन ।
स्मरणीय छ, वर्ष ७ माघमा गण्डकीका सबै सांसदले शपथ लिँदा मनाङे वञ्चित भएका थिए । कारण, उनी विरुद्ध ज्यान मार्ने उद्योगमा फरार प्रतिवादीको सूचीमा अंकित थिए । त्यसपछि अदालतमा उपस्थित भएर आठ महिना जेल बसे । २०७४ सालको अपराध संहिता कार्यान्वयनमा आएपछि १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दाको पुनरावेदन गर्न पाउने सुविधा दियो । त्योसँगै अर्को वर्ष ६ पुसमा उनी कारागारमुक्त भएर शपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि प्रदेशसभा छिरेका हुन् । यसरी प्रदेशसभा सदस्य निर्वाचित भएको एक वर्षपछि मात्रै उनी प्रदेशसभा सदस्यको शपथ लिएर प्रदेशसभा छिर्न सकेका हुन् ।
प्रकाशित मिति २०८१ कार्तिक २८, बुधबार ०८:४१ गते