सिसाघाट(तनहु्ँ)– हरिबोधनी एकादशीका अवसरमा सञ्चालन हुँदै आएको १७ औं जीतबहादुर दुरा र देशमान दुरा स्मृति कप खुला फुटबल प्रतियोगितामा २८ टिम सहभागी भएका छन् । प्रतियोगिताको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले कार्तिक २७ गते उदघाटन गर्नु भएको हो
ग्यालेक्सी युवा क्लब, सिसाघाटद्वारा स्थानीय खेल मैदानमा क्लबको १८ औं स्थापना दिवस एवम् एकादशी मेलाको उपलक्ष्यमा सञ्चालन गरिएको हो । उक्त प्रतियोगितामा आज दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । एकादशीको दिनमा उदघाटनको प्रतियोतिगाको पहिलो दिन भेटरान र सो म्याच भएको थियो ।
आजको पहिलो खेल शान्तिदेवी युवा क्लब, व्यास नगरपालिका– ६ र आयोजक क्लबको अण्डर १६ टिमका बीचमा भएको थियो । १– ० गोल अन्तरले शान्तिदेवी युवा क्लब भएको छ । दोस्रो खेल विवेकशील युवा क्लब नागढुंंगा, पोखरा र आयोजकको ग्रिम टिमका बीचमा भएको थियो । सो प्रतिस्पर्धामा खेल अवधिमा दुवै पक्षबाट कुनै पनि गोल हुन सकेन । थप भएको समय पनि त्यसै खेर गयो । त्यसपछि ट्राइब्रेकरमा ६– ५ गोल अन्तरले विवेकशील युवा क्लब पोखरा दोस्रो चरणमा प्रवेश गरेको छ ।
यसैगरी, तेस्रो खेल न्यू जनरेसन व्यास नगरपालिका– ६ पालटार र सोही नगरपालिका– ७ को पाथ्रा युवाक्लबका बीचमा भएको थियो । यी टिमका बीचमा पनि खेल अवधिमा कुनै पनि गोल हुन सकेन । ट्राइब्रेकरमा ७– ६ गोल अन्तरले न्यू जनरेसन दोस्रो चरणमा प्रवेश गरेको छ ।
सो प्रतियोगितामा लमजुङ, तनहुँ र कास्कीका २८ टिमले भाग लिएको आयोजक ग्यालेक्सी युवा क्लबका अध्यक्ष भानसुब्बा दुराले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा पहिलो हुने टिमलाई रनिङ कपका साथमा एक लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । उनले भने, ‘दोस्रो हुने टिमलाई नगद ५१ हजार १११ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कार छ ।’ उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोल रक्षकलाई ३÷३ हजार रुपैयाँ पुरस्कारको प्रवन्ध गरिएको अध्यक्ष दुराको भनाइ छ ।
यो प्रतियोगिता आफ्नो जीवनकालमा खेलाडीको रुपमा पहिचान बनाउन सफल स्व. जीतबहादुर दुरा र स्व. देशमान दुराको स्मृतिमा उनीहरूका परिवारको प्रायोजनमा सञ्चालन हुँदै आएको आयोजक क्लबका सचिव अनुराधा दुराले बताइन् । उनका अनुसार प्रतियोगितामा पाँच लाख रुपैयाँ खर्च हुने आंकलन गरिएको छ । यो प्रतियोगिता क्लबले सञ्चालन गर्नु अघि दुरा सेवा समाजबाट आठ वर्षसम्म सञ्चालन गरिएको थियो । उनले भनिन्, ‘क्लबले सञ्चालन गर्न लागेको १८ वर्ष भयो, कोरोनाले गर्दा एक वर्ष प्रतियोगिता सञ्चालन गर्न सकिएन, त्यसैले यो वर्ष १७ औं प्रतियोगिता भएको हो ।’
आयोजक क्लबका अध्यक्ष भानसुब्बा दुराको अध्यक्षतामा भएको उक्त उदघाटन समारोहमा प्रमुख अतिथि न्यौपाने, लमजुङका मध्यनेपाल नगरपालिका– ४ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ, सोही नगरपालिका– ५ का अध्यक्ष ओमवीर गुरुङका साथै व्यास नगरपालिका– ६ का वडाध्यक्ष जिवन गुरुङका साथै जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
आयोजक क्लबका अध्यक्ष भानसुब्बा दुराको अध्यक्षतामा भएको उक्त उदघाटन समारोहमा स्वागत आयोजक क्लबका सदस्य विमला दुराले र सञ्चालन अर्का सदस्य चन्द्रा दुराले गर्नु भएको थियो ।
सो प्रतियोगिताको तेस्रो दिन भोलि चार खेल सक्ने कार्यतालिका छ । प्रतियोगिता एकसाता चल्ने आंकलन गरिएको आयोजक क्लबका अध्यक्ष दुराले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति २०८१ कार्तिक २८, बुधबार २२:१४ गते