काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनका उमेदवारी पत्रमा दस्तखत गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । केन्द्रीय समितिको बैठकले उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी बुर्लाकोटीलाई कार्तिक २८ गते दिएको हो ।
यसअघि असोज १३ गतेको बैठकले पार्टीको आधिकारीक टिकट दिने अधिकार सभापति रवि लामिछानेलाई दिएको थियो । सभापति नभएको अवस्थामा सो अधिकार बुर्लाकोटीलाई दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ ।
रास्वपाले अन्य पार्टीको झैं केन्द्रीय नेताले खल्तीबाट आफ्नो मनपरेका व्यक्ति वा टिकट खरिद गर्ने व्यक्तिलाई टिकट दिने नीति स्थापनाकालदेखिनै त्याग गरेको सो पार्टीका प्रवक्ता झाले जानकारी दिनु भएको छ । उहाँका अनुसार रास्वपाले प्रारम्भिक निर्वाचनबाट उम्मेदवारको छनौट गर्ने गर्दछ । उहाँले भन्नुभयो, ‘यसरी छनौट भइसकेका उम्मेदवारलाई महामन्त्रीले दस्तखतद्वारा आधिकारिकता मात्र प्रदान गर्ने हो ।’
१७ उम्मेदवार चयन, २५ स्थानको छनौट प्रक्रिया जारी :
यसैबीच, रास्वपाले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयन कार्य प्रारम्भिक निर्वाचनबाट पार्टीका उम्मेदवार चयनका थालनी गरेको छ । आकांक्षी उम्मेदवारहरूबिच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस अनुसार प्रारम्भिक निर्वाचन गरेर पार्टीको तर्फबाट उम्मेदवार चयन गरिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले बताउनु भयो । उहाँका अनुसार रास्वपाले उपचुनावका लागि १७ ठाउँमा उम्मेदवार टुंग्याएको र बाँकी ठाउँमा प्रक्रियामा रहेको र आजै त्यो कार्य सम्पन्न हुनेछ । उहाँले भन्नुभयो, ‘ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने रास्वपाले भाग नलिने भएको छ ।’
रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा र जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चयन गरेको छ । यसैगरी, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रास्वपाले गोमा श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) लाई उम्मेदवार बनाएको छ ।
यसैगरी, काठमाडौ महानगरपालिका– १६ का लागि रोजिना श्रेष्ठलाई उम्मेदवार छनोट गरेको छ । आकांक्षी उम्मेदवारसँग छलफल, पार्टीको स्थानीय नेतृत्वको सिफारिसका अनुसार उम्मेदवारहरू तय गरिएको स्थानीय तह उपनिर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिनुभयो ।
अन्य २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको कार्यबाहक प्रवक्ता मनिष झाले उल्लेख गर्नुभयो ।
ग्रामथान गाउँपालिकाको अध्यक्ष, डाक्नेश्वरी नगरपालिका र कीर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्षको उम्मेदवार चयन प्रक्रिया सुरु भएको रास्वपाले जानकारी दिएको छ ।
छनौट भएका वडाध्यक्ष उम्मेवादरहरूमा तेह्रथुमको लालिगुराँस नगरपालिका— ८ को वडाध्यक्षमा सञ्जीव खड्का, धनुषाको धनुषाधाम नगरपालिका— १ को वडाध्यक्षमा पुरूषोत्तम यादव, महोत्तरीको रामगोपालपुर नगरपालिका— २ को वडाध्यक्षमा राजेशकुमार शर्मा उम्मेदवार बन्नु हुने भएको छ ।
सुनसरीको गढी गाउँपालिका— ६ वडाध्यक्षमा शशिकुमार साहुु, ओखलढुंगा मेलुङ गाउँपालिका— ५ को वडाध्यक्षमा विष्णुप्रसाद पोख्रेल उम्मेदवार चयन हुनु भएको छ ।
ताप्लेजुङको जिरिजङ्घा गाउँपालिका— ३ को वडाध्यक्षमा देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा नगरपालिका— १२ को वडाध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र उदयपुरकै बेलका नगरपालिका— ९ को वडाध्यक्षमा तेजमान विश्वकर्मालाई उम्मेदवार बनाइने भएको छ ।
आउँदो मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन हुने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । उप निर्वाचनका लागि मंसिर २ गतेका लागि उम्मेदवारी दर्ताको कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
रास्वपाले स्थानीय तह निर्वाचनमा पहिलो पटक भाग लिन लागेको हो ।
स्मरणीय छ, २०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा स्थापना भएको थिएन ।
प्रकाशित मिति २०८१ कार्तिक २९, बिहीबार ०९:२२ गते