
सिसाघाट(तनहुँ)– यहाँ स्थित खेलमैदानमा सञ्चालन हुँदै आएको १७ औं जीतबहादुर दुरा र देशमान दुरा स्मृति कप खुला फुटबल प्रतियोगिताको पाचौं दिन आज दोस्रो चरणका चार खेल सम्पन्न भएका छन् । भोलि मंसिर २ गते दोस्रो चरणका खेल सक्ने योजनामा रहेको आयोजकले मंसिर १ गते जानकारी दिएका छन् ।
आज बिहान दोस्रो चरणको पहिलो खेल दुईपिप्ले बोटेटार र होराइजन सोतीपसल लमजुङका बीचमा भएको थियो । २– ० गोल अन्तरले दुईपिप्ले बोटेटार अघि बढेको छ । त्यस्तै, दोश्रो खेल तल्लोटार युवा क्लब र सुन्दरबजार युवा क्लब, लमजुङका बीचमा भएको थियो । सो प्रतिस्पर्धामा २– १ गोल अन्तरले तल्लोटार युवा क्लब विजयी भएको छ ।
यसैगरी, आजको तेस्रो खेल टिम गेणश फुटबल क्लब र बर्धन फाँट युवा क्लबका बीच भएको हो । यो खेलमा भने ५– ० गोलको फराकिलो अन्तरले टिम गेणश फुटबल क्लब विजयी भई अघि बढेको अयोजक क्लबका खेल संयोजक भीमसेन दुराले जानकारी दिनु भयो । उहाँका अनुसार आजको चौथो खेल समृद्धि युवा क्लब र टाइगर ल्याण्ड युवाक्लबका बीचमा भएको हो । सो खेलमा १– ० गोल अन्तरले समृद्धि युवा क्लबको आफ्नो यात्रा लाई अघि बढाउन सफल भएको छ भने टाइगर ल्याण्ड युवाक्लबको यात्रा टुंगिएको छ ।
भोलि चार खेलपछि दोस्रो चरणका खेल सकिने :
यसैगरी, भोलि मंसिर २ गते हुने खेलको तालिका पनि हामीलाई आयोजक क्लबका अध्यक्ष भानसुब्बा दुराले पठाउनु भएको छ । उहाँका अनुसार भोलि चार खेल हुनेछन् । भोलिको पहिलो खेल तल्लो टार युवा क्लब र दुईपिप्ले बोटेगाउँका बीचमा हुने भएको छ । यसैगरी, दोस्रो खेल टिम गणेश युवा क्लब र विवेकशील नागढुंगा पोखराका बीचमा हुने तय भएको छ । तेस्रो खेलमा सिसाघाट युवा क्लब ए र समृद्धि युवा क्लबका बीचमा हुनेछ भने चौथो खेल आयोजक वि टिम र शान्तिदीप युवा क्लबका बीचमा हुने अध्यक्ष दुराले जानकारी दिनुभएको छ ।
सो प्रतियोगितामा लमजुङ, तनहुँ र कास्कीका २८ टिमले भाग लिइरहेका छन् । प्रतियोगिता आयोजक क्लबको १८ औं स्थापना दिवस एवम् हरिबोधनी एकादशी मेलाको उपलक्ष्यमा सञ्चालन गरिएको हो ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई रनिङ कपका साथमा एक लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष भानसुब्बा दुराले बताउनु भएको छ । उहाँका अनुसार दोस्रो हुने टिमलाई नगद ५१ हजार १११ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कार छ । त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोल रक्षकलाई ३÷३ हजार रुपैयाँका दरले पुरस्कारको प्रवन्ध गरिएको अध्यक्ष दुराको भनाइ छ ।
यो प्रतियोगिता आफ्नो जीवनकालमा खेलाडीको रुपमा पहिचान बनाउन सफल स्व. जीतबहादुर दुरा र स्व. देशमान दुराको स्मृतिमा उनीहरूका परिवारको प्रायोजनमा सञ्चालन हुँदै आएको आयोजक क्लबका सचिव अनुराधा दुराले जानकारी दिनु भएको छ । उहाँका अनुसार सो प्रतियोगिता विगतको २६ वर्षदेखि सञ्चालन हुँदै आएको छ । उहाँले भन्नुभयो, ‘आयोजक क्लबको स्थापना हुनु पूर्व सो प्रतियोगिता दुरासेवा समाजको सिसाघाट इकाईले आठ वर्षसम्म सञ्चालन गरेको थियो ।’
आयोजक क्लबको १८ औं वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको सो प्रतियोगिता कोरोनाकालमा एक वर्ष सञ्चालन हुन नसकेको आयोजक क्लबका अध्यक्ष भानसुब्बा दुराले उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रतियोगिताको मंसिर ३ गते समापन गर्ने कार्यक्रम छ ।
व्यास नगरपालिका– ६ को सिसाघाट खेल मैदानमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको सोही नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले गत कार्तिक २७ गते हरिबोधी एकादशीका दिन उदघाटन गर्नु भएको हो ।
प्रकाशित मिति २०८१ मंसिर १, शनिबार १९:३७ गते