आयो स्थानीय तह उपनिर्वाचन : आज मनोनयनपत्र दर्ता

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर २ गते आईतबार ०७:१९

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुने भएको हो ।

मंसिर ५ गते दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

काठमाडौं– यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सरगर्मी बढेको छ । त्यसका लागि मनोनयन दर्ताको काम आज हुने भएको छ । निर्वाचन आयोगले आज मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ ।
उमेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भएको छ । उहाँका अनुसार उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।
आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ पदमा गरी कुल ४४ रिक्त पदमा निर्वाचन हुने भएको हो ।
मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
सो प्रयोजनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय कार्तिक ३० गते स्थापना भइसकेका छन् । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको जानकारी दिएको छ ।
आचारसंहिता लागु :
यसैबीच, उक्त उपनिर्वाचनका निम्ति आजैदेखि आचारसंहिता लागु भएको छ । उपचुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनु भएको छ । उहाँका अनुसार उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।
यसैगरी, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।
सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृसंगठन, उमेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उमेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लागु हुनेछ ।
पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्थालाई पनि निर्वाचन आचारसंहित लागु हुने प्रवक्ता अर्यालको भनाइ छ ।
उहाँका अनुसार आचारसंहिताविपरीतका कार्य भए/गरेको पाइएमा वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लंघन भएको पाइए कारबाही हुने छ ।

प्रकाशित मिति २०८१ मंसिर २, आईतवार ०७:१९ गते
हजुरको प्रतिक्रिया