काठमाडौं– पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा मंसिर २ गते दिउँसो दुई बजे उहाँको निधन भएको उहाँका भान्जा सुरज भट्टराईले बताउनु भएको हो ।
उहाँलाई कलेजो सम्बन्धी समस्याको अस्पतालमा एकमहित अघिदेखि उपचार चलिरहेको थियो । ढुंगानाको केहीबेर अघि निधन भएको अस्पतालका चिकित्सक डा. योगेश न्यौपानेले बनाउनु भयो । उहाँका अनुसारअस्पताल स्रोतका अनुसार अपराह्न १ बजेर ४० मिनेट जाँदा ढुंगानालाई अस्पताल लगिएको थियो । त्यसबेला उहाँको निधन भइसकेको थियो ।
कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाले भारतमा पनि उपचार गराईएको थियो ।
वरिष्ठ अधिवक्तासमेत ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका खेल्नु भएको थियो ।
पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाउन सफल हुनुहुन्थ्यो । पत्रकारिता र शिक्षण पेशाका अनुभवी ढुंगाना ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बन्नुभएकोथियो ।
०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि ढुंगाना २०४८ असार ९ गते सभामुख बन्नु भएको हो । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लाग्नु भएको थियो । उहाँ सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता समेत हुनुहुन्थ्यो ।
ढुंगाना २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित हुनु भएको थियो ।
अन्त्येष्टि भोलि मात्र :
उहाँका वेलायतमा रहनु भएका छोरा डा. निमेष ढुंगाना फर्किन समय लाग्ने भएकाले भोलि दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाञ्जा सुुरज भट्टराईको भनाइ छ । उहाँका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्नु हुन्छ । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका नेपालमै छन् ।
उहाँको शव यतिबेला त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने भएको उहाँका भाञ्जा भट्टराईले जानकारी दिनुभएको छ ।
उहाँको भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरेका भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले सम्झिरहने :
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको खबरले आफूलाई मर्माहत बनाएको पनि बताउँदै ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई मुलुकले सधैं स्मरण गर्ने बताउनु भएको छ । राष्ट्रपति पौडेलले भन्नुभएको छ, ‘पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नु भएको उहाँले वरिष्ठ अधिवक्ता, मानव अधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई मुलुकले सधैं स्मरण गरिरहनेछ ।’
राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरण गर्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख ढुंगानाको निधनको खबरले आफूलाई दुखी बनाएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु, नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु ।’
यसैगरी, अन्य दलका नेताहरूले पनि ढुंगानालाई सम्झना परेका छन् ।
प्रकाशित मिति २०८१ मंसिर २, आईतवार १८:३२ गते