नक्कली कार्यको पक्ष पोषण गर्दै सुन्दरबजार नगरपालिकाको शिक्षा शाखा

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर ३ गते सोमबार १२:१५

यस्तो अवस्थाको लमजुङको सुन्दबजार नगरपालिका र त्यसको शिक्षा शाखा कसरी र कहिले सुध्रने होला ? जानकारहरूले जिज्ञासा, गुनासो, प्रश्न र आक्रोश एकसाथ पोख्ने गरेका छन् । 

महेन्द्रमन्दिर माविको शिक्षक भर्ना बारेको कहानीले ...... गर्नेलाई भन्दा देख्नेलाई लाजको स्थिति उत्पन्न भएको छ । 

लमजुङ– लमजुङको ऐतिहासिक थलो दुराडाँडाको समेत विरासत बोकेको सुन्दरबजार नगरपालिका वर्तमानमा भने विक्रितिको उपमा बन्दै अग्रसर भइरहेको छ । यसअघि पनि सो नगरपलिकाले गर्ने गरेका विक्रितिलाई औंल्याउने काम भएकै हो । त्यो क्रम रोकिएता भन्ने हाम्रो अपेक्षामा भने तुषारापत भइरहेको छ ।
त्यसो त यस्ता गतिविधि बढ्नुमा सुन्दरबजार नगरपालिकामा रहेको नेतृत्वको साधुपनको उपज भएको धेरैको बुझाई छ । समाजमा सचेतनाको काम गर्ने भनेको शिक्षाले हो । त्यो क्षेत्रमै विकृतिपूर्ण काम हुन्छ र नगरपालिकाको नेतृत्व टुलुटुलु हेर्नुको विकल्प सोच्दैन र व्यवहारमा उत्रन्न भने त्यस्तो ठाउँ सायद विक्रिति बाहेक अर्को के मौलाउला र ?
प्रसङ्ग हो महेन्द्रमन्दिर माविको शिक्षक भर्ना बारेको कहानीले …… गर्नेलाई भन्दा देख्नेलाई लाजको स्थिति उत्पन्न भएको छ । सो माविमा रिक्त शिक्षक पद पूर्तिका लागि प्रतिस्पर्धी हुनुपर्ने अवस्थामा स्थायी शिक्षकलाई निवेदन दर्ता गर्न लगाएर गरिएको शिक्षक छनौट प्रक्रियालाई शिक्षा शाखाले स्वीकृत गरी परीक्षा समेत सम्पन्न गराएको दृष्टान्त फेला परेको छ ।
सुन्दरबजार नगरपालिका– २ स्थित महेन्द्रमन्दिर मावि परेवाडाँडामा माध्यमिक तह संघीय अनुदान अन्तर्गतको गणित बिषयमा शिक्षक पदपूर्ति गर्नको लागि गत कार्तिक २ गते पहिलो पटक सूचना प्रकाशित गरियो ।
सुन्दरबजार नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको च.नं. ७५२ मिति २०८१ असोज १६ को अनुमति पत्र र वि.व्य.स.को कार्तिक २ गतेको निर्णय अनुसार शिक्षक आवश्यकता सम्बन्धि सूचना प्रकाशित भएको सो सूचनामा उल्लेख थियो । विद्यमान शिक्षक छनोट कार्यविधि र शिक्षा ऐन अनुसार नै शिक्षक छनोट प्रक्रिया अघि बढाएको सुन्दरबजार नगरपालिकाको भनाइ छ ।
दरखास्तको अन्तिम दिनमा मात्र एक जनाको दरखास्त प¥यो । एक जनाको मात्र निवेदन परेपछि उनलाई शिक्षक छनोट गर्नको लागि जिल्लामै एक माध्यमिक विद्यालयमा प्राथमिक तह स्थायी रुपमा अध्यापन गराईरहेका एक शिक्षकको कागजपत्र झिकाई प्रतिस्पर्धीको रुपमा उभ्याउने काम गरिएछ । एक तहमा स्थायी भइसकेका शिक्षक अनुदानको शिक्षकको रुपमा काम गर्न आउँदैनन् । यो सबैले जानेकै विषय हो ।
सामान्यतया यस अघि पहिलो पटक सूचना प्रकाशन गर्दा आवश्यक संख्यामा दरखास्त प्राप्त नभए पुनः अर्को पटक सूचना प्रकाशन गर्ने प्रचलन थियो । तर सो माविमा पहिलो पटकमा नै आवश्यक प्रतिस्पर्धी संख्या पुर्याउनेका नाउँमा स्थायी शिक्षकको कागजात झिकाई शिक्षक छनौट गर्नु नाम मात्रको छनौट प्रक्रिया गरिएको र त्यस्ता क्रियाकलापले शिक्षक भर्ना पद्दति नै बिग्रने जानकारहरूले बताएका छन् ।
यसै सन्दर्भमा माध्यमिक तहको शिक्षक लाईसेन्सको परीक्षाको नतिजा समेत नजिकै आईरहेको थियो । लाईसेन्सकै कारणले दरखास्त दिन नपाएकाहरू यसमा समावेश हुन चाहन्थे, लाईसेन्सको परीक्षा दिएकाहरू भन्छन्– पुनः सूचना प्रकाशन गरेको भए हामी पनि प्रतिस्पर्धामा सहभागी हुन पाउथ्यौं, अन्य संख्या पनि थपिन सक्थ्यो । शिक्षक छनौट प्रक्रियामा एक जनाले मात्र भाग लिएकोलाई छनौट प्रक्रिया मानिंदैन ।
यसबारेमा शिक्षा विकास तथा समन्वय इकाई वेसीशहरमा सम्पर्क गर्दा अहिलेसम्म गरेको अभ्यास अनुसार एक जना मात्र परीक्षामा सहभागी गराएर छनौट प्रक्रिया भन्न नमिल्ने शिक्षा इकाईका प्रमुख वीरबहादुर गुरुङले बताउनु भयो ।
तर विडम्बना !  के छ भने एक जनाको मात्र परीक्षा लिइयो अनि रिजल्ट गरियो । जाँच दिने एक जना मात्र थिए, उनै पास हुनु अस्वभाविक भएन ।
तर यो विषयमा सोही दिन प्रतिस्पर्धाको नाउँमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । सो उजुरी उपर छानविन गर्न त्यसै दिन आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनु भयो ।
सो पदपूर्तिका लागि आफ्ना कागजात उपलब्ध गराउने बुद्ध मिलन माविका स्थायी शिक्षक पदम पोख्रेलले आफूले साथीले मागेको कारण प्रधानाध्यापकलाई नै भेटेर उपलब्ध गराएको बताउनु हुन्छ । तर, सो विद्यालयका प्रधानाध्यापकले आफू तालिममा पोखरा भएका कारण अर्का शिक्षक मार्फत कागजात आएको हो भन्नुभयो । सो प्रतिस्पर्धामा सहभागी उषा सापकोटाले आफूले साथीको कागजपत्र ल्याईदिएको तर सम्पर्क नम्बर भने नभएको बताउनु हुन्छ । उहाँहरूका यी भनाइबाट प्रतिस्पर्धा कागजमा देखाउनकै लागि मात्र प्राथमिक तहमा स्थायी भएका शिक्षकको कागजपत्र विद्यालयले नै दर्ता गराएको हो भन्ने बुझ्न कठिन छैन ।
यसप्रकार अस्थायी वा करार शिक्षकको पदपूर्ति गर्नुपर्दा स्थानीयतहले कार्यविधि बनाएर त्यस्तो कार्य गर्नु पर्दछ । तर सुन्दरबजार नगरपालिकाको यस सम्बन्धी कार्यविधि आजका दिनसम्म बनाउने रुचि नै देखाएको छैन । शिक्षा शाखा प्रमुखको मुखादेशबाट कार्यविधि बन्ने र चल्ने गरिआएको छ । यसबाट पनि नगरापलिकाको नेतृत्वको लाचरितापन भन्दा पनि नेतृत्व सक्षमता देखिन्छ भन्दा उपयुक्त हुन्छ जस्तो लाग्छ ।
त्यसैले, शिक्षा शाखा प्रमुखको मुखादेशबाट जारी हुने कार्यविधि अनुसार काम हुने गरेको छ भन्छन्, नगरपालिका भित्रका अधिकांश प्रधानाध्यापकहरू ।
यसअघि यसप्रकार एकजनाको मात्र दरखास्त पर्दा आवश्यक संख्यामा दरखास्त नपरेको भन्दै पुनः विज्ञापन गर्न प्रचलन थियो, लगाइन्थ्यो र गरिन्थ्यो पनि त्यस्तै । केही विद्यालयलाई विभिन्न नाउँमा पटक पटक सूचना प्रकाशन गर्न समेत लगाइएको विगत साक्षी छ । तर महेन्द्रमन्दिर माविको यो शिक्षक छनौटका नाउँमा एक जना व्यक्ति र अर्को बनाइएको प्रतिस्पर्धी राख्ने चलन शिक्षा शाखाले नै शुरु ग¥यो । हामीले पनि सोही अनुसार शिक्षक राख्यौं, विद्यालयका व्यवस्थापन समितिका एक सदस्यले भने ।
विद्यालयले फर्जी नाम राखेर विद्यार्थी संख्या बढाएकोमा मौन स्विकृति :
यस प्रकार शिक्षक भर्नामा मात्र नक्कली काम गरेको नभई, विद्यालयले फर्जी नाम राखेर विद्यार्थी संख्या बढाउने गरेको बारम्बार गुनासो आइरहेको छ । तर त्यसको अनुगमन गर्ने शिक्षा शाखा आफैंले मौन सहमति जनाएर फर्जी काममा मलजल गरेको देखिएको छ । एक शिक्षक भन्छन्– ‘नगरपालिकाको शिक्षा शाखाले खासै काम गर्दैन, गरेका काम सबै विबादित बनिरहेका छन् ।’ कर्मचारीले हाजिर गरेपछि लतब पाक्ने भएपछि अन्य काम या प्रगतिसँग सरोकार हुने रहेनछ भुक्तभोगीहरू बताउँछन् ।
यस अघि शिक्षा दिवसको अवसरमा एसईई परीक्षामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गर्दा पालिकाले आफ्नो मापदण्ड समेत बनाएको थाहा पाइएन । आफ्नो मापदण्ड र कार्यविधि नभएको अवस्थामा प्रदेशको कार्यविधिलाई लत्याएर पुरस्कृत गरिएको कतिपयको गुनासो थियो । शिक्षकहरू भन्छन्, ‘कक्षा– ९ मा कम्तिमा ३० जना विद्यार्थीको रजिष्ट्रेशन गरेर परीक्षामा सहभागी सबै विद्यार्थीको जिपिएको आधारमा पुरस्कृत गर्नु पर्नेमा दुई विद्यालयलाई पुरस्कृत गरियो ।’ जसमा महेन्द्र मन्दिर माविलाई पहिलो भनियो भने विद्याज्योति माविलाई दोस्रो बनाइयो, त्यो नतिजा नियमका आधारमा गरिएको थिएन, प्रधानाध्यापकहरूको गुनासो छ । उनीहरूका अनुसार शिक्षा शाखाले नियम बनाएर सो अनुसार काम गर्नु पर्नेमा शाखा प्रमुखले आफ्नो मुखको भरमा काम गर्ने गरिआएका छन् जसका कारण पद्दति बस्नुको सट्टामा बजेखुचेको पद्दति समेत ध्वस्त हुन गएको छ ।
यस्तो अवस्थाको लमजुङको सुन्दबजार नगरपालिका र त्यसको शिक्षा शाखा कसरी र कहिले सुध्रने होला ? जानकारहरूले जिज्ञासा, गुनासो, प्रश्न र आक्रोश एकसाथ पोख्ने गरेका छन् ।
यसबारमो बुझ्नका लागि सुन्दबजार नगरपालिका सम्पर्क गर्दा शिक्षा शाखाका प्रमुख विदामा रहेको बताइयो भने जिम्मेवार व्यक्तिहरू फेला परेनन् ।
प्रकाशित मिति २०८१ मंसिर ३, सोमबार १२:१५ गते
हजुरको प्रतिक्रिया