काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २६ स्थानमा मात्र आफ्नो उम्मेदवार खडा गरेको छ । आन्दोलनसँगै उपनिर्वाचनमा जुटेको रास्वपाले काठमाडौं– १६ मा रोजिनालाई उठाएको छ भने काठमाडौंको कीर्तिपुर नगरपालिकामा मंसिर २ गते उम्मेदवारी दिएन ।
देशभरका विभिन्न २६ पदमा मात्र उम्मेदवारी दर्ता गराइएको रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितका संयोजक गणेश पराजुलीले बताउनु भयो । उहाँका अनुसार काठमाडौं– १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ । तर काठमाडौंको कीर्तिपुर नगरपालिकामा मंसिर २ गते उम्मेदवारी दिएको छैन । मोरङको ग्रामथान पालिका अध्यक्षमा नविनकुमार खवास घण्टी वाहक उम्मेदवार बन्नु भएको छ ।
उपनिर्वाचन केन्द्रीय संयोजन समितका संयोजक पराजुलीले भन्नुभयो, ‘पार्टीले ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरूमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी दर्ता गराएको छैन ।’ पार्टीले आधिकारीक उम्मेदवारी दर्ता नगरेको स्थानमा अन्य उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने पार्टीको नीति छ उहाँले भन्नुभयो ।
देशका विभिन्न ४४ वटा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको भएर रास्वपाले ४२ स्थानीय तहका निर्वाचन लड्ने भने पनि २६ वटा पदमा मात्र उम्मेदवारी दिएको छ ।
२०७९ को वैशाख ३० गते सम्पन्न भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका समन्वय प्रमुख, मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो ।
कीर्तिपुरमा किन लडेन रास्वपा ?
उपनिर्वाचन हुनेमध्ये बढी चर्चामा छ– काठमाडौंको कीर्तिपुर नगरपालिका । यहाँ स्वतन्त्रदेखि दलका उम्मेदवारहरू २० जनाले मनोनयन दर्ता गर्दा घण्टीको उम्मेदवारी भने परेन । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मनोनयन दर्ताको सूचीमा छैन । कीर्तिपुर नगर प्रमुख तथा वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदैछ । ती तीनवटै स्थानमा रास्वपा बाहिरिएको छ ।
उत्साहको कारण अर्को कारण २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा रास्वपाले राम्रो अंकमा मत ल्याएको हो । उसले त्यहाँ तेस्रो मत प्राप्त गरेको थियो । २०७९ को वैशाखमा चुनाव हुँदा रास्वपा गठन भएकै थिएन ।
काठमाडौंमा प्रतिनिधि सभाका १० मध्ये चार स्थान जितेको रास्वपाले काठमाडौं– १० मा ८ हजार ७३६ मत ल्याएको थियो । काठमाडौं– १० बाट उम्मेदवार बनेका प्रदीप विष्टले कीर्तिपुर नगरपालिकाबाटै राम्रो मत ल्याउनु भएको थियो ।
जित्ने ठाउँमा मात्र चुनाव लड्ने भएका बारा र इलाममा रास्वपा किन चुनाबमा उठेको त ? यो जटिल प्रश्न छ । नेता कार्यकर्ताको परीक्षण पनि हो निर्वाचन ।
यतिबेला कीर्तिपुरामा रास्वपा चुनावै नलड्ने निष्कर्षमा कसरी पुग्यो ? भन्ने प्रश्न गर्ने कीर्तिपुरबासी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले ठोस जबाफ पाउन सकेका छैनन् ।
काठमाडौं– ६ बाट निर्वाचित सांसदसमेत रहनु भएका केन्द्रीय सदस्य शिशिर खनाल बागमती प्रदेशको निर्वाचन परिचालन समितिका संयोजक समेत हुनुुहुन्छ । उहाँले पनि कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरिएको बताउनु भए पनि ठोस जवाफ भने उहाँसँग पनि भेटिदैन ।
नेतृत्वको खडेरी ?
संकटको बेलामा नेताको पहिचान हुने हो । पार्टीका सभापति प्रहरी कष्टडीमा रहेको बेलामा दोस्रो पुस्ताका नेताहरूले सुझबुझपूर्ण निर्णय गर्न सक्नु पर्थ्यो तर त्यसमा भने चुकेको देखिन्छ । यसले सभापति रवि पछिको नेतृत्वमा खडेरी पर्ने त हैन ? आशंका बढ्न गएको छ ।
निर्वाचन हुन लागेको एक मात्र नगरपालिकामै उम्मेदवारी दिन हिच्किचाएपछि रास्वपाकै नेता–कार्यकर्ता आश्चर्यमा परेका छन् ।
कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन, दिनेशकुमार अधिकारी, रामकृष्ण महर्जन, मीम महर्जन, प्रेमबहादुर महर्जन, नवरथ बानियाँ, नरेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
पहिलोपल्ट स्थानीय मत परीक्षणमा होमिन लागेको रास्वपाले सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुखसहित रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका तथा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षलगायत १२ वडाध्यक्षमा उम्मेदवारी नदिएको हो ।
रिक्त स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै रास्वपाले स्थानीय तहको निर्वाचनमा आफूलाई पहिलो पटक परीक्षण गर्न लागेको हो ।
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको बताउँदै निर्वाचन हुने स्थानीय तहमा पार्टीका गतिविधि तीव्र पार्ने निर्णय गरेको बताउनुभयो । बुर्लाकोटीले भन्नुभयो, ‘हामीले दल गठन गरेकै चुनावमा भाग लिनलाई हो, स्थानीय चुनाव भनेको नागरिकलाई अधिकार सम्पन्न गर्ने र स्थानीय तहमा सुशासन कायम गर्ने अभ्यास हो त्यसैले हामी अब हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिन्छौ ।’
स्थानीय तहमा रिक्त रहेका ४४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले १६ मंसिरमा उपनिर्वाचन गर्ने भएको छ ।
२०७२ को नयाँ संविधान जारी भएर सङ्घीयताको कार्यान्वयनसँगै २०७४ र २०७९ मा स्थानीय तह निर्वाचन भइसकेका छन् ।
सङ्घीय संसदमा रास्वपाका २१ सांसद रहेका छन् ।
प्रकाशित मिति २०८१ मंसिर ३, सोमबार १९:०२ गते