काठमाडौं– मुक्तककार मीना चौलागाईको ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रह सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यही मङ्सिर ८ गते शनिबारका दिन प्रज्ञा भवनमा विमोचनको तयारी गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात कक्षमा मुक्तक सङ्ग्रहको विमोचन कार्यक्रमको तयारी गरिएको जानकारीमा आएको छ । ‘मनोकाङ्क्षा’ मुक्तक सङ्ग्रह कीर्ति मुक्तककार चौलागाईको दोस्रो कीर्ति हो ।
मुक्तककार मीना चौलागाईको पहिलो कीर्ति मुक्तक मिनार २०७८ सालमा सार्वजनिक भैसकेको छ । साहित्यका विविध विधामा कलम चलाउने हुने चापागाईका विभिन्न सञ्चारमाध्यमका अनगिन्ति लेख रचनाहरू प्रकाशन हुने गरेका छन् । तर अन्य विधामा भन्दा मुक्तकमा उहाँको कलममा विशेष दम देखिन्छ । उहाँले दैनिक कम्तिमा एउटा मुक्तक रचना गर्नु हुन्छ । मुक्तक विधामा उहाँलाई आशुकवि भन्दा अतिशयोक्ति हुँदैन ।
संयोग के छ भने उहाँको पहिलो कीर्ति मुक्तक मिनार पनि मंसिरमा विमोचन (४ गते) भएको थियो भने दोस्रो कीर्ति पनि मंसिरमै पाठकका माझ बजारमा आउँदैछ । दुबै मुक्तक संग्रहमा समान पेज १२८ का छन् । मुक्तक मिनारमा ३०६ मुक्तक थिए भने मनोकाङ्क्षामा मुक्तक संख्या ३१२ समेटिएको छ ।
मीनाका सिर्जनाहरू पाठक वर्गले फरक स्वाद पाउने हुँदा अत्यन्त रुचि राखी पढ्ने गरेको पाइन्छ । मुक्तककार मीना चौलागाईका सिर्जनाहरूमा विभिन्न घटना, सामाजिक परिवेश, लैङ्गिक विभेद, धनी गरिब बिचको खाडलबाट सिर्जित पीडालगायत राज्यमा झ्यांगिएको राजनीतिक विकृति विसंगतिहरूलाई समेत व्यङ्ग्य गर्ने गरेको पाइन्छ ।
सामाजिक सञ्जाल फेसबुकमा छरप्रष्ट हुने उहाँले सिर्जिएका सुन्दर चोटिला मुक्तक हरफहरूप्रति उहाँलाई पाठक वर्गहरूको बधाई तथा शुभकामनाको ओइरो लाग्ने गर्दछ ।
विमोचनको तयारीमा रहेको मुक्तक संग्रह मनोकाङ्क्षामा वरिष्ठ मुक्तककार उषा शेरचन र प्रतीक ढकालको शुभकामना छ भने रुद्र ज्ञवालीको भूमिका लेखन रहेको छ । अर्को रोचक पक्ष के छ भने मुक्तक सङ्ग्रह ‘मनोकांक्षा’को कभर डिजाई मुक्तककार चौलागाईकी सुपुत्री आयुश्रीले गुर्न भएको छ ।
स्मरणीय छ, उहाँ पछिल्लो दुई वर्ष अघिदेखि लमजुङबाट प्रकाशित अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको मुक्तक स्तम्भकी नियमित स्रष्टा(स्तम्भकार) समेत हुनुहुन्छ ।
प्रकाशित मिति २०८१ मंसिर ३, सोमबार २०:५३ गते